logo
२०८१ मंसिर १३ बिहीवार



हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीमा कोरोना सङ्क्रमण, अस्पताल बन्द

पढ्नै पर्ने |


हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीमा कोरोना सङ्क्रमण, अस्पताल बन्द
फाइल तस्विर


शिवराज ढुङ्गाना
अछाम, जेठ २७ गते ।  पेट सुन्निएपछि सोमबार हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज पुर्याइएकी आठ महिनाको गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षणमा चौरपाटी गाउँपालिका–५ निवासी २५ वर्षकी महिलालाई कोरोना सङ्क्रमण भएको खबर पाएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

महिलासँगै रहेका उनका पति र दुई वर्षीया छोरीलाई अलग्गै राखिएको छ । विशेष सावधानी अपनाएर निर्मलाको थुनिएको आन्द्राको मङ्गलबार नै कोहलपुर मेडिकल कलेजमा शल्यक्रियाको तयारी भइरहेको बताइएको छ । “आजै शल्यक्रिया हुन्छ भनेका छन् डाक्टर सापले ।” अस्पतालमै रहेका महिलाका पतिले भन्नुभयाे ।

आन्द्रा थुनिएकोले शल्यक्रिया गर्नुपर्ने भएकोले बयलपाटा अस्पतालका चिकित्सकले आइतबार नै रिफर गरेका थिए । भारतबाट आएर आफ्नै वडाको दयापिपलतोला माविको क्वारेन्टाइनमा पति र छोरीसहित रहेकी ती महिला शनिबार बयलपाटा अस्पतालमा उपचारका लागि आउनुभएको थियाे । जेठ १५ गतेबाट उहाँकाे परिवार क्वारेन्टाइमा बसिरहेको थियो ।

राससका अनुसार बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती महिलामा आन्द्रामा समस्या भएपछि कोहलपुर सिफारिस गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?