शान्ति लामा
काठमाडौँ, असार २ गते । कोरोना महामारी र बन्दाबन्दीका कारण दिनचर्यामा आएको अभूतपूर्व परिवर्तनका कारण मानिसले धेरै चीज गुमाइरहेका छन् । रोजगारी तथा व्यवसाय बन्द हुँदा धेरैको आर्थिक स्रोत गुमेको छ ।
अर्काेतिर लकडाउनमा एक्लै बस्नुपर्दाको एक्लोपन तथा परिवार सँगै बस्दाको द्वन्द्वले मानिसहरू मानसिक स्वास्थ्य समस्याको दलदलमा फसिरहेका छन् । चिकित्सा मनोविद् (क्लिनिकल साइकोलोजिस्ट) डा. पशुपति महतका अनुसार मानिसहरूमा मानसिक रोग र मानसिक अस्थिरताका लक्षणहरू पहिलेभन्दा बढिरहेका छन् ।
उहाँले भन्नुभयो, ‘डर लाग्ने, छटपटि हुने, बेचैन हुने, एक्लै बस्न मन लाग्ने तर एक्लै बस्न पनि नसकिने, चिन्ता लागिरहने जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू देखिएका छन् । स्ट्रेसका विभिन्न लक्षणहरू पहिलेभन्दा धेरै देखिएका छन् ।’
उहाँका अनुसार कतिलाई जिउ भारी हुने, शरीरमा अप्ठ्यारो भएजस्तो हुने, टाउको दुख्नेजस्ता समस्यासमेत देखिएका छन् । खान मन नलाग्ने, निद्रा नलाग्ने समस्या पनि बढेको छ ।
बढ्दो मानसिक स्वास्थ्य समस्या विश्वकै चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारमध्ये एक व्यक्तिले जीवनको कुनै न कुनै कालमा मानसिक स्वास्थ्य समस्याको सामना गर्छन् । अचानक आएको महामारी र त्यसका अन्य पक्षहरूले झन् मानिसको मन मस्तिष्कमा पर्ने असरहरू मानसिक रोगका रुपमा देखिन सक्छन् । यी समस्या बढ्नुमा महामारीको सन्त्रास र बन्दाबन्दीमा एकान्तबासको असर ठूलो कारण रहेको विज्ञ बताउँछन् ।
चिकित्सा मनोविद डा. पशुपति महतका अनुसार क्षणिक तनावबाहेक डिप्रेसनजस्ता गम्भीर खालका मानसिक स्वास्थ्य समस्या पनि लकडाउनको अवधिमा बढेको देखिन्छ । ‘कति बढ्यो भन्ने आधिकारिक तथ्याङ्क नभएपनि लकडाउनको समयमा भएका आत्महत्याका घटनाहरूले यो पुष्टि गर्छ’ उहाँले भन्नुभयो, ‘लकडाउनका समयमा विशेष गरी किशोर वर्गमा आत्महत्याको प्रवृत्ति बढेको देखिन्छ, त्यसकारण किशोरकिशोरी तथा बालबालिका मानसिक स्वास्थ्य समस्याको जोखिममा छन् भन्न सकिन्छ ।’ नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेका छन् । यसमा पनि किशोर वर्गको संख्या बढी रहेको प्रहरी तथ्यांकले बताउँछ । कोरोना महामारी र लकडाउनको समयमा पनि यसमा कमी आएको छैन ।
तनाव सहन सक्ने आन्तरिक संयन्त्र कमजोर भएकाहरू मनसिक रोगको सिकार हुन्छन् । लकडाउनमा पहिले नै डिप्रेसन, साइकोसिसजस्ता मानसिक समस्याको उपचार गराई निको भएकाहरूमा रोग फेरि बल्झिएको डा. महतको भनाइ छ । ‘कतिपयलाई हामीले टेलिफोनबाटै औषधि सिफारिससमेत गरेका छौँ । कतिलाई टेलिफोनबाट मनोपरामर्श दिएका छौँ ।’ उहाँले भन्नुभयो ।
डा. महतका अनुसार मानसिक स्वास्थ्य समस्याका असर दीर्घरोगीहरूमा देखिने गरेको छ । उहाँले भन्नुभयो ‘तनाव बढेपछि उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोगहरूले दुःख दिन्छन् ।’
कोभिडको महामारी भाइरसको महामारी मात्र होइन, यसले धेरै आर्थिक सामाजिक समस्या सँगै ल्याएर आएको छ । महामारी रोक्न सामाजिक दूरी कायम गर्नुपरेका कारण धेरै मानिस एकान्तबासमा बन्द छन् । गरिरहेको काम बन्द भएको छ । रोजगारी खोसिएको छ । व्यापार व्यवसाय ठप्प भएका छन् । जसका कारण मानिस आर्थिक संकटमा फस्दै गएको छ । आर्थिक स्रोत बन्द भएपछि मानिसमा तनाव भएको छ । मनमा नकारात्मक भावना आइरहने र नराम्रा कुरा मात्र खेलिरहने हुन्छ ।
यस्तो अवस्थामा कतिपय मानिस भोलिका दिनमा कसरी जिन्दगी चलाउने ? बालबच्चालाई कसरी हुर्काउने ? पढाउने ? भन्नेसम्मका चिन्ता गर्न थालेको डा. महत बताउनुहुन्छ । यसले गर्दा निद्रा नलाग्ने, भोक नलाग्ने, रिस उठ्ने, कुरा गर्न मन नलाग्ने जस्ता अवस्थामा पुगिरहेका छन् । ‘आर्थिक समस्या बढ्दै जाँदा परिवारमा झैझगडा, कलह हुन्छ । यसले मानसिक स्वास्थ्य समस्याको भुमरी निर्माण गरिरहेको हुन्छ ।’ उहाँले भन्नुभयो ।
नेपालमा पनि कोरोना सङ्क्रमितको संख्या बढ्दैजाँदा मानिसमा डर उत्पन्न भएको छ । जसले गर्दा तनाव, निराशा, उदासीजस्ता समस्या देखिने गरेको डा. महतले बताउनुभयो ।
चिन्ताबाट बच्न मद्यपान
डा. महतका अनुसार लकडाउनमा व्यवसाय र रोजगारी बन्द भएर तनाव भएपछि पुरुषहरू मद्यपान र धूमपान धेरै गर्न थालेका छन् । उहाँका अनुसार तनाव भुलाउन भनी मद्यपान, धूमपान तथा लागुऔषध सेवनको बाटो रोज्नु पनि मानसिक स्वास्थ्य समस्या नै हो । ‘मद्यपान सेवनबाट घरमा कलह झगडा हुनाले महिला र बालबालिका हिंसा बढ्ने सम्भावना रहन्छ । हिंसा र झैझगडाका कारण फेरि महिला तथा बालबालिका मानसिक स्वास्थ्य समस्या उत्पन्न हुन्छ । त्यसैकारण पछिल्ला दिनमा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या वृद्धि भई आत्महत्या समेत बढेको हो ।’ उहाँले भन्नुभयो ।
क्षणिक तनाव कि मानसिक समस्या ?
कहिलेकाहीँ क्षणिक तनाव वा चिन्ता हुनु अस्वाभाविक होइन । तर त्यसले मानिसको दिनचर्या नै प्रभावित पार्न थाल्यो भने त्यसलाई गम्भीर रुपमा लिनुपर्ने मनोविद्हरू सुझाउँछन् । मनोविद् डा. महत भन्नुहुन्छ, ‘जतिबेला पनि बेचैनी हुने, दिक्क लागिरहने, जिउ भारी भइरहने, सुत्न गाह्रो हुने, झोक््रयाएर बसिरहने जस्ता लक्षणहरू दुई हप्ताभन्दा बढी भएमा मानसिक रोगको अवस्थामा पुगेको मानिन्छ ।’ यस्तो अवस्थामा चिकित्सकीय सेवा तथा मनोसामाजिक परामर्शको उपाय रोज्नुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।
मानसिक स्वास्थ्य समस्याबाट बच्न के गर्ने ?
मानसिक स्वास्थ्य समस्याबाट बच्न सबैभन्दा ठूलो भूमिका व्यक्ति स्वयम्को हुने मनोविद् डा. महत बताउनुहुन्छ । कोरोना सङ्कट र बन्दाबन्दीको अवस्थामा हामी मात्र छैनौँ, संसारभर नै मानिसहरू यही झेलिरहेका छन् भन्ने कुरा सम्झनुपर्ने उहाँ बताउनुहुन्छ । समस्यालाई आफ्नै मनले सामान्यीकरण गरी सङ्क्रमणबाट बच्न साबुन पानीले हात धुने, मास्क लगाउने र एकअर्कासँग कम्तीमा दुई मिटरको दूरी कायम गरी सङ्क्रमणको त्रासबाट बच्न सकिने उहाँको सुझाव छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि मानसिक स्वास्थ्य समस्याबाट बच्नका लागि महामारीको क्षतिको सही सूचनामा मात्र भर पर्नुपर्ने बताएको छ । त्यस्तै भौतिक दूरी र लकडाउनकै समयमा पनि आफन्त तथा परिवारसँग सम्पर्कमा रहनुपर्ने सुझाव दिइएको छ । बालबालिकालाई उदासीबाट बचाउन उनीहरूका भावना अभिव्यक्त गर्ने विभिन्न सिर्जनात्म माध्यम प्रोत्साहित गर्नुपर्ने डब्ल्यूएचओको सुझाव छ । सबैभन्दा मुख्य कुरा सङ्क्रमणबाट बच्न सावधानी अपनाई ढुक्क बसेमा त्रास, चिन्ताबाट बच्न सकिने सुझाव दिइएको छ ।
कसैलाई मनोसामाजिक समस्या भएमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको पैसा नलाग्ने टेलिफोन नंं. १६६००१८५०८० मा वा राष्ट्रिय महिला आयोगको निशुल्क हटलाइन नं. ११४५ मा फोन गरी परामर्श सेवा लिन सकिन्छ ।