दीपक ज्ञवाली
बुटवल, असार ४ गते । कोरोनालाई जितेर घर फर्किनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । पछिल्लो पटक बिहीबार रुपन्देहीको सैनामैना नगरपालिकाको आइसाेलेसनमा रहेका १७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् ।
नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार पछिल्लो परीक्षण नेगेटिभ नतिजा आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । सैनामैनाले आइसाेलेसनमा १७ दिन बसालेर अबको एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने शर्तमा उनीहरूलाई डिस्चार्ज गरेको हो ।
उनीहरू सबै भारतको दिल्ली मुम्बइलगायत शहरबाट आएका हुन् । डिस्चार्ज हुनेहरू १८ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । उनीहरू यसअघि सातदेखि १५ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । सङ्क्रमण पुष्टि भएपछि वनकट्टामा रहेको चक्रपाणी योग तथा प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो । आइसाेलेसनमा सात जना सङ्क्रमित छन् । सैनामैनामा अहिलेसम्म ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यसअघि बुधबार बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसाेलेसनमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका थिए । बुटवल उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहले थप एक हप्ता घरमा सामाजिक दुूरीसहित बस्ने शर्तमा उनीहरूलाई पठाइएको बताउनुभयो । डिस्चार्ज हुनेमध्ये पाँच जनाको आइसाेलेसनमा राखिएपछि दुई पटक गरिएको स्वाब परीक्षणकाे नतिजा नेगेटिभ आएको थियो । छ जनाको भने दोस्रो रिपोर्ट आउन बाँकी छ ।