logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश अस्पताल सुर्खेतका पाँच स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

पढ्नै पर्ने |


प्रदेश अस्पताल सुर्खेतका पाँच स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण


ललित बसेल

सुर्खेत, असार ८ गते । बिरामीको उपचार गर्ने क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा प्रदेश अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालमा कार्यरत पाँच जनालाई कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमित पाँच जना स्वास्थ्यकर्मीहरू प्राविधिकतर्फका रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये एक जना भिडियो एक्सरेमा कार्यरत र अन्य चारजना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीहरू हुन् ।

गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सरेको मन्त्रालयले जनाएको छ । जेठ ३१ र ३२ गते दैलेखका दुई जना र सुर्खेतका एक जना बिरामी प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन आएका बिरामीमा बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । असार ३ गते बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोरोना देखिएको थियो ।

आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीमा कोरोना देखिएपछि अस्पतालले सङ्क्रमितको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीहरूलाई आइसोलेसनमा राखेको थियो । कार्यालय सहयोगीसहित ४२ जनाको पीसीआर परीक्षण गर्दा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएका पाँच जनालाई आइसोलेसनमा राखिएको छ भने नेगेटिभ आएकालाई पुनः काममा लगाइएको प्रदेश अस्पतालका डा. नवराज केसीले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरूलाई पनि कोरोना सङ्क्रमण देखिएपछि कोरोना समुदायमा फैलिएको अनुमान गर्न सकिन्छ । डा. केसीका अनुसार आकस्मिक कक्षमा उपचार गराउन आएकाहरूलाई कोरोना पुष्टि भएपछि कोरोना समुदायमा फैलिएको छ । स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित हुन थालेपछि अवस्था जटिल आउन थालेको भन्दै डा. केसीले कोरोना उपचारको लागि र अन्य रोग उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता देखिएको बताउनुभयो । परीक्षण गर्ने हो भने समुदायमा अझै सङ्क्रमित देखिन सक्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?