गोरखापत्र अनलाइन
काठमाडौँ, असार ११ गते । कोभिड-१९ को समयमा आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर पूर्वाभ्यास गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर बुद्ध एयरले उडानको सम्पूर्ण प्रकृया पूरा गरी पूर्वाभ्यासको नमूना प्रर्दशनी गरेको हो ।
बिहीबार यसरी गरिएको पूर्वअभ्यास साँच्चिकै उडान भर्न लागेको जस्तो देखिन्थ्यो । पूर्वाभ्यास उडानमा बुद्ध एयरका कर्मचारी, यात्रु, चालक दलका सदस्य लगायतले आ–आफ्नो भूमिका कुशलतापूर्वक निभाएका थिए । यस क्रममा विमानस्थलको प्रवेशद्वारमा ज्वरो मापन, स्यानिटाइज गर्ने, विमानसम्म पुग्न प्रयोग हुने सवारी साधनमा सामाजिक दूरी कायम गर्ने प्रक्रियामा सबैलाई अनिवार्य गरिएको थियो । सबैलाई मास्कको प्रयोग र विमानस्थलमा शौचालय जान र पानी प्रयोग गर्न रोक लगाइएको थियो ।
यस प्रक्रियामा यात्रु, कर्मचारी, चालक दललगायतले कोरोनाको जोखिममा आन्तरिक उडान खुलाउँदा अपनाउनुपर्ने सुरक्षाका सावधानी सबै अपनाएको देखिन्थ्यो । सुरुमा टिकटिङदेखि नै कोभिडविरुद्ध अपनाउनुपर्ने सबै सावधानी बुद्ध एयरले अपनाएको देखिन्थ्यो । यो पूर्वाभ्यासले नेपालले आन्तरिक रुपमा उडान भर्नसक्ने सन्देश दिएको छ ।
तस्बिर: सुजन गुरूङ/ गोरखापत्र