तारा चापागाई दुवे
पोखरा, साउन २ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा पहिरो जाँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा घरको एक कोठा पहिरोले च्यापेको कास्की प्रहरीले जनाएको छ ।
सुतिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो । सुतिरहेका छ जनामध्ये बाँकी तीन जना सकुशल रहेको प्रवक्ता हमालले बताउनुभयो । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकालिसकेको छ ।