गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
उहाँले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त जन–आन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालप्रति यस अवसरमा विज्ञप्तिमार्फत् श्रद्धाञ्जलि भन्नुभएको हो ।
पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुअगाडि पनि नेपालमा कम्युनिष्ट नेता र कार्यकर्ता थिए तर, कम्युनिष्ट आन्दोलनको व्यवस्थित राजनीतिक र साङ्गठनिक आकार थिएन । प्रधानमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र सङ्गठनको स्थापनामा भयो’ प्रधानमन्त्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नुपर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनुभएको साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनुभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ‘पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नुभएको’ भन्नुभएको छ ।
उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न सङ्गठन चाहिन्छ भनेर सङ्गठन निर्माण गरेको र वाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरूमध्ये अरु कसैको तुलना हुन नसक्ने बताउनुभएको छ ।
‘पुष्पलालको सपना साकार पार्ने बाटोमा विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको र पार्टीले करिब दुई तिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’, विज्ञप्तिमा उल्देख गर्दै प्रधानमन्त्री ओलीले पुष्पलालको जुन साङ्गठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेको उल्लेख गर्नुभएको छ ।
देशलाई समृद्ध बनाउने साधन पार्टी भएको र पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकोमा उहाँले जोड दिनुभएको छ ।
‘हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाक्षा अगाडि सारेका छौँ । हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरू गर्दैछौँ’ भन्दै प्रधानमन्त्री ओलीले पुष्पलालका नीतिहरू आजका सन्दर्भमा यीनै रहेको प्रस्ट पार्नुभएको छ ।
‘पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरूमा मिसाऔँ, उत्पादन बढाऔँ, निर्यात बढाऔँ, आयात घटाऔँ’ प्रधानमन्त्रीले भन्नुुभएको छ, ‘यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । र, आज हामी समृद्धिका लागि मेहनत गरिरहेका छौँ । अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको तथ्य स्पष्ट छ ।’
आजको पिँढीले आफ्नो जीवनमा समृद्धिसहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्नेछ । पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने सङ्कल्प गर्दै ४२ औंँ स्मृति दिवसमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु प्रधानमन्त्री ओलीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।