बेलिना थापा
लमजुङ, साउन ७ गते । अविरल वर्षापछिको पहिरोले बुधबार मर्स्याङ्दी गाउँपालिका-३, पल्लोटारीका १४ घर पुरिएका छन् । आइतबार, सोमबार र मङ्गलबार रातभर परेको पानीका कारण गाउँमाथिबाट पहिरो खसेर घर पुरिएको स्थानीयले बताएका छन् । मङ्गलबार बिहान ८ बजेतिर पहिरो खस्दा चार घरमा पहिरो पसेकोमा बुधबार बिहान १० बजेतिर गाउँमाथिबाट ठूलो पहिरो खसेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार बिहानको समय भएकाले मानिस बाँच्न सफल भएका छन् ।
ठूलो आवाज निकाल्दै एक्कासि पहिरो खस्दा स्थानीय त्रसित भएका छन् । डरले भाग्ने क्रममा तीन जना घाइते भएका छन् । पहिरो आउँदा भाग्ने क्रममा सिर्जना गोतामे, देवबहादुर सार्की र सुजन अछामी घाइते भएको बस्नेतले बताउनुभयो । उनीहरूलाई स्वास्थ्य संस्थामा उपचार गराइँदैछ ।
मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ७४ घरधुरी रहेको गाउँका १८ घर पूरै पहिरोले पुरेको छ । बाँकी सबै घरमा आंशिक क्षति पुगेको गुरुङले बताउनुभयो । मङ्गलबार चार घरमा पहिरो पसेको र बुधबार थप १४ घरसहित १८ घर पुरेको उहाँले बताउनुभयो । पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेको र घाइतेको उद्धार गरी अस्पताल पठाएको उहाँले बताउनुभयो । पशुचौपायाको क्षति भने आउन बाँकी छ । उहाँले त्यस गाउँका रहेका अन्य नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताउनुभयो ।
लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार मङ्गलबार केही घरमा क्षति पुर्याएको भन्ने जानकारी आएकोमा बुधबार धेरै सङ्ख्यामा घर पुरिएको जानकारी आएको छ । ठूलो पहिरो आएको र गाउँका एक दर्जन बढी घर पहिरोमा परेर पुरिएको खबर आउनेबित्तिकै घटनास्थल पुगेको उहाँले बताउनुभयो । क्षतिको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
मङ्गलबार बिहान पहिरो खसेपछि पल्लोटारीका केही स्थानीय छिमेकी गाउँ, आफन्त, विद्यालय र सामुदायिक विद्यालयमा विस्थापित भएका थिए । पहिरोको उच्च जोखिममा रहेका २१ घरका स्थानीय मङ्गलबार नै विस्थापित भएका कारण उनीहरू बाँच्न सफल भएका छन् । पहिरोले गाउँ नै लैजाने खतरा बढेपछि सबै स्थानीय विस्थापित भएका छन् ।