logo
२०८१ मंसिर १४ शुक्रवार

 स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयनमा कडाई 



विराटनगर महानगरद्वारा अत्यावश्यकबाहेक सेवा रोक्ने निर्णय

पढ्नै पर्ने |


विराटनगर महानगरद्वारा अत्यावश्यकबाहेक सेवा रोक्ने निर्णय


नवराज कट्टेल

विराटनगर, साउन ११ गते । विराटनगर महानगरपालिका क्षेत्रभित्र स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाइ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण समुदायस्तरमा फैलन सक्ने सम्भावना देखिएको भन्दै महानगरले सामाजिक दूरी र स्वास्थ्य सुरक्षा सचेतनामा कडाइ गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना सङ्क्रमण समुदायस्तरको रोकथामका लागि अपनाउनुपर्ने सबै विधि कडाइपूर्वक कार्यान्वयनमा ल्याउने निर्णय गरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । बैठकले भिन्नै कार्यदलसमेत गठन गरी समुदायस्तरमा कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने विधिको अनुगमन गर्ने निर्णय गरेको हो ।

यसैगरी महानगरपालिका कार्यालयसहित वडा कार्यालयहरूमा हुने भीडलाई रोक्न अत्यावश्यकबाहेकका सबै सेवा प्रवाहका कामहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले घरनक्सा पास, सामाजिक सुरक्षा भक्ता वितरण तथा कार्ड नवीकरणजस्ता कामहरू तत्काललाई नगर्ने निर्णय गरेको हो ।

महानगर क्षेत्रभित्रका पसलका सञ्चालक तथा कामदारले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्णय गरिएको छ । महानगरले गठन गरेको कार्यदलले नियमित अनुगमन गर्दा पहिलो पटक मास्क नलगाएको अवस्थामा भेटिएका व्यवसायी तथा कामदारलाई १० रुपिँया लिएर मास्क उपलब्ध गराइने छ । यदि दोस्रो पटकसमेत मास्क नलगाएको र स्वास्थ्य सुरक्षा प्रोटोकल नपनाएको पाइएमा १५ दिनका लागि पसल बन्द गरिने निर्णय गरिएको छ ।

यसैगरी महानगर क्षेत्रमा परीक्षणको दायरा बढाउँदै समुदायस्तरको अवस्था यकिन गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । मेयर पराजुलीले भन्नुभयो, 'हाटबजारलगायत अनावश्यक भीडभाडमा कडाइ गरिने छ, अनावश्यक रुपमा घरबाहिर निस्कने कार्यलाई रोक्नका लागि आग्रह गर्दछु ।'

सङ्क्रमणको अवस्था हेरेर कुनैपनि बेला लकडाउनमा जान सकिने सम्भावना रहेको मेयर पराजुलीको भनाइ छ । उहाँले महानगरवासीलाई सचेत रहेर दैनिक कामहरू गर्नका लागि आग्रह गर्दै भन्नुभयो, 'प्रत्येक समय आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने र कोरोना सङ्क्रमणबाट जोगिने कुरालाई प्राथमिकतामा राख्न आग्रह गर्दछु ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?