गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १४ गते । टुँडिखेलको खुलामञ्चअगाडि हालै बनाइएका अस्थायी बसपार्कमा अपरान्ह मानिसहरूको ठूलै भीड लाग्छ । राजधानीका विभिन्न भागमा मजदुरी गरेर जीवन चलाएका असहाय र दीनदुःखीहरूका लागि त्यहाँ स्वयंसेवीले खानाको व्यवस्था गरेका छन् । हन्ड्रेड्स ग्रुपलगायतले नियमित रुपमा खाना खुवाउन थालेपछि सो स्थानमा अहिले दैनिक खाना खानेको भीड नै लाग्न थालेको छ ।
दैनिक खाने खुवाउने संस्थाका संस्थापक अंशु यादवले रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “विगतमा दुई/तीन सय आउँथे, अहिले बढेर छ/सात सय पुगेका छन्”, । “चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।” विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उहाँले बताउनुभयो ।
स्वयंसेवाको यो उदाहरणीय काम देख्दा लाग्छ, कुनै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाले यस्तै मानवीय काम देखेर कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविताको जन्म भएकाे हाेला ...
...फर्क फर्क हे जाऊ समाऊ, मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ ।
मानिसहरू भई ईश्वरको त्यो दिव्य मुहार हँसाऊ ।
कुन मन्दिरमा जान्छौ यात्री, कुल मन्दिरमा जाने हाे ?
तस्बिरः सुजन गुरूङ