गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । कोरोना भाइरस महामारीको कारण नेपालमा ६१ प्रतिशतले आफ्नो आम्दानी र जिविकोपार्जनका उपायहरु गुमाएका छन् । गत् जुलाइ महिनामा नेपालमा गरिएको अध्ययनले महामारीका कारण आम्दानी र जिविकोपार्जन गुमाउनेको संख्या बढी भएको देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा सञ्चालन गरिएको अध्ययनको निस्कर्ष सुनाउँदै जिविकोपार्जनसँग सम्बन्धित उक्त आँकडा प्रस्तुत गरेको हो । अध्ययन अनुसार १३ प्रतिशत बालबालिका उपचार गर्न जाँदा समस्या परेको र दश प्रतिशतले आफ्नो बालबालिका रिसाउन, झर्को मान्ने र उदास हुने गरेको बताएका छन् । लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द हुन पुग्दा यस प्रकारको समस्या आउनुका साथै भविष्यबारेको पिरलो समेत देखिएको अध्ययनले देखाएको छ ।
अध्ययनले लामो समयसम्म विद्यालय बन्द रहँदा बालबालिकामा साथीभाईसँग भेटघाट गर्न नपाएर मानसिक पिडा रहेको देखाएको छ । मन्त्रालयले अभिभावकसँग प्रविधिको प्रयोग गरी सहपाठी सहकर्मीसँग भेटघाट कुराकानी छलफल गर्ने वातावारण बनाउन आग्रह गरेको छ ।
आत्महत्या सम्बन्धी विश्वब्यापी अध्ययनले नेपाल दक्षिण एशियामै दोस्रो सबैभन्दा धेरै आत्महत्या गर्ने देशमा पर्छ । तर कोरोनाभाइरस महामारीसँगै नेपालमा आत्महत्या गर्नेको २० देखि ३० प्रतिशतले बढेको छ । मन्त्रालयले आत्महत्या गर्ने ब्यक्तिले पहिले नै कुनै न कुनै प्रकारको संकेत गर्ने हुनाले त्यस्ता ब्यक्तिलाई समय उपलब्ध गराएर सकारात्मक र प्रेरणा दिने विचार आदान प्रदान गर्न आग्रह गरेको छ ।