केशवराज पौडेल
काठमाडौं, कात्तिक १४ गते । फूलपातीदेखि एकादशीसम्मको पाँच दिनको सयममा नेपालभरमा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार यो समयमा ३३४ वटा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका हुन् भने ५२९ जना घाइते भएका छन् ।
दशैको पाँच दिनमा जबरजस्ती करणीका चार ओटा घटना, कर्तव्य ज्यान ११ वटा र चोरीका घटना १६ वटा भएका छन् । प्रवक्ता कठायतका अनुसार विगतका वर्षमा प्रहरीले घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिनलाई आधार मानेर विश्लेषण गर्ने गरेकोमा यो वर्ष फूलपातिदेखि एकादशीसम्मको सार्वजनिक बिदाको दिनमा भएका घटना तथा अपराधहरुको विश्लेषण गरिरहेको र केही दिनमै विगतका वर्षको तुलनामा यो वर्षको घटनाहरुको बारेमा सार्वजनिक गर्ने बताउनुभयो ।
दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको थियो । दशैँको बेला देशभरि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । विगतमा जस्तो सवारीको चाप यो दशैमा नभए पनि दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् ।
दशैँ–तिहार सहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै नेपाल प्रहरीले देशैभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालन गरेको थियो ।
काठमाडौ उपत्यकामा मात्रै सात हजार ५७९ प्रहरी परिचालन भएका थिए । काठमाडौमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको थियो । काठमाडौंमा चोरी, लुटपाट र होहल्ला नियन्त्रण गर्ने विशेष योजना लागु गरेको थियो । त्यो योजना अहिले पनि निरन्तर रुपमा भैरहेको छ ।
यो वर्षको दशैमा काठमाडौ उपत्यकामा जघन्य प्रकृतिका अपराधका घटनाहरु नभएको र फाटफुट चोरी तथा लागुऔषध सहित केहीलाई भने प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
‘यो बर्षको दशैमा जघन्य प्रकृतिका अपराध भएका छैनन्, बिहानको समयमा घर तथा कोठामा हुने चोरीका फाटफुट घटना भने भएका छन्’ एसएसपी यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
काठमाडौंमा मात्रै सात हजार ५७९ प्रहरी परिचालन भएका थिए । चार्ड पर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार भन्दा बढी बर्दी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो । सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरेको छ ।
यो बर्ष कोरोनाको कारणले समेत धेरै मानिसहरु घरभित्रै बसेर पर्व मनाउनु भएकाले त्यस्तो समस्या देखिएन उहाँले भन्नुभयो । झैझगडा गर्ने, चोरीका घटनाहरु नगन्य रुपमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
विगतका वर्षहरुमा २० देखि ३० लाखसम्म मानिस काठमाडौबाट गृहजिल्ला जाने गरेकोमा यो वर्ष त्यो संख्या १० लाखको हाराहारीमा मात्रै देखिएकाले पनि धेरै मानिसहरु घरमै रहेकाले चोरीका घटना निक्कै कम भएको पाइएको उहाँले स्पष्ट पार्नुभयो ।
पटका बरामद
चन्द्रागिरि नगरपालिका–२ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपियाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुरको भीमदत्त नगरपालिका–४ घर भएका ३० वर्षीय नवीन जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरको टोलीले जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।
नागढुङगाबाटै प्रहरीले ८ हजार ४ सय थान खुर्सानी पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका–६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत विस्फाेटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।