logo
२०८१ मंसिर ९ आईतवार



टी ट्वान्टीमा एक हजार छक्का प्रहार गर्ने पहिलो र एकल ब्याट्सम्यान : क्रिस गेल

पढ्नै पर्ने |
खेलकुद |


टी ट्वान्टीमा एक हजार छक्का प्रहार गर्ने पहिलो र एकल ब्याट्सम्यान : क्रिस गेल
तस्विर-द् क्विन्ट


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १५ गते । वेष्टइन्डिजका अलराउण्डर क्रिस गेल टी ट्वान्टी क्रिकेटमा एक हजार छक्का लगाउने पहिलो ब्याट्सम्यानको कीर्तिमान बनाउनुभएको छ। राजस्थान रोयल विरुद्धको खेलमा कात्र्तिक त्यागिको बलमा छक्का प्रहार गर्दै उहाँले उक्त उपलब्धीको उचाईमा पुग्नुभयो । टी ट्वान्टी क्रिकेटमा एक हजार छक्का प्रहार गर्ने उहाँ एकल ब्याट्सम्यान हुनुभएको छ ।
टी ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत उहाँ अग्रिम स्थानमा हुनुहुन्छ । दोस्रो सर्वाधिक रन बनाउने वेष्टइन्डिजकै अलराउण्डर क्यारन पोलार्डभन्दा उहाँ तीन हजार बढी रन जोड्नुभएको छ । क्यारन पोलार्डले हालसम्म ६९० छक्का प्रहार गर्नुभएको छ । क्रिकेटको टी ट्वान्टी स्वरुपमा तेस्रो सर्वाधिक छक्का प्रहार गर्नुहुने खेलाडी न्युजिल्याण्डका विकेटकीपर ब्याट्सम्यान ब्राण्डन म्याक्कलम हुनुहुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसक्नुभएका उहाँले हालसम्म ४८५ छक्का लगाउनुभएको छ ।
टी ट्वान्टीमा उहाँले पहिलो पटक जमैकाका लागि खेल्दै स्टान्फोर्ड विरुद्ध सन् २००६ मा छक्का प्रहार गर्नुभएको थियो । टी ट्वान्टी स्वरुपमै उहाँले एक हजार ४१ चौका समेत लगाउनुभएको छ ।
क्रिस गेलले इन्डियन प्रिमियर लिगमा मात्रै ३४९ छक्का लगाउनुभएको छ । टी ट्वान्टी लिगमा कुनै एक ब्याट्सम्यानले प्रहार गरेको यो सर्वाधिक छक्का हो । क्यारेबियन प्रिमियर लिगमा उहाँले १३२ र टी ट्वान्टी विश्वकपमा ६० छक्का लगाउनुभएको छ । जुन कुनै पनि ब्याट्सम्यानभन्दा बढी हो ।
रोयल च्यालेन्जर्स बैंग्लौरमा आबद्ध रहँदासम्म उहाँले २६३ छक्का लगाउनुभएको छ । कुनै एक टिममा आबद्ध भई लगाइएको यो सर्वाधिक छक्का हो ।
सन् २०१५ मा उहाँले आफ्नो क्रिकेट जिवनकै सबैभन्दा बढी छक्का प्रहार गर्नुभयो । उक्त खेल सत्रमा उहाँले १३५ छक्का लगाउनुभएको छ । त्यसअघि सन् २०१२ मा उहाँले १२१ छक्का लगाउनुभएको थियो । सन् २०१४ लाई हटाउँदा उहाँले सन् २०११ देखि २०१७ सम्म प्रत्येक वर्ष एक सयभन्दा बढी पटक छक्का लगाउनुभएको छ ।
बङ्गलादेश प्रिमियर लिगमा उहाँले एकै खेलमा १८ छक्का लगाएर अर्को कीर्तिमान बनाउनुभएको छ । लिगको फाइनलमा ढाका डाइनामाइट्सको प्रतिनिधित्व गरी उक्त कीर्तिमान बनाउनुभएको हो ।
क्रिस गेलले १८ पटक टी ट्वान्टीको प्रत्येक खेलमा दशभन्दा बढी छक्का लगाउनुभएको छ । जुन कीर्तिमान मात्र उहाँको नाममा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?