गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २६ गते । मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । देल्ही क्यापिटल्समाथि पाँच विकेटको जित हात पार्दै मुम्बईले उपाधि रक्षा गर्न सफल भयो ।
इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा सफल टोलि रहेको मुम्बईले १५७ रनको लक्ष्य आठ बल बाँकी छँदै पुरा गर्यो । कप्तान रोहित शर्माले सर्वाधिक ६८ रनको योगदान दिनुभयो । ट्रेन्ट बौल्टले मात्र ३० रन खर्चेर मुम्बईका लागि महत्वपूर्ण तीन विकेट लिनुभयो । जसमा पारीको पहिलो बलमै मार्कस स्टोनिसको विकेट लिएर बौल्टले देल्ही क्यापिटल्सलाई प्रारम्भिक दबाब दिन सफल हुनुभयो ।
कप्तान श्रेयास ऐयरले ६५ रनमा अविजित रहनुअघि देल्हीले २२ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । उहाँले चौथो विकेटका लागि ऋषभ पन्तसँग ९६ रनको साझेदारी गर्दा देल्हीको पारी औसत योगफलसम्म पुगेको थियो ।
डिफेन्डिङ च्याम्पियन मुम्बईले रोहित शर्मा र क्विन्टल डे ककबीच ४५ रनको साझेदारी गर्दा उत्कृष्ट सुरुवात गर्यो । औसत लक्ष्य पछ्याउने क्रममा मुम्बईको पारी पूर्ण नियन्त्रणमा रहयो । २३ बलमा २० रन आवश्यक छँदा रोहित शर्मा पेभेलियन फर्किनुभयो । क्यारन पोलार्ड र हार्दिक पाण्ड्या छिट्टै पेभेलियन फर्किदा सामान्य दबाबमा आएपछि इशन किशनले मात्र १९ बलमा ३३ रनको पारी खेलेर मुम्बईलाई जितसम्म पुर्याउनुभयो ।
मुम्बईले यसअघि सन् २०१३ मा पहिलो पटक प्रिमियर लिगको उपाधि चुमेको थियो । त्यसपछि सन् २०१५, सन् २०१७ र सन् २०१९ मा गरेर उसले चार पटक उपाधि उचाल्न सफल भयो ।
कोरोना महामारीले गर्दा प्रिमियर लिगको १३ औं संस्करण ढिलाइ हुन पुग्दा दर्शकको अनुपस्थितिमै लिगको पुरा संस्करण यूएईमा खेलाइएको हो । इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चर प्रतियोगिताका सबैभन्दा मूल्यवान खेलाडी घोषित हुनुभयो । उहाँले २० विकेटसँगै ११३ रन जोड्नुभयो । राजस्थानको प्रतिनिधित्व गर्नुभएको उहाँले छ छक्का समेत लगाउनुभएको छ ।
न्युजिल्याण्डका ट्रेन्ट बौल्टले १६ खेलमा २५ विकेट लिनुभयो ।