logo
२०८१ फाल्गुन २७ मंगलवार



‘नेकपा संकटमा पर्नु भनेको गणतन्त्र संकटमा पर्नु हो’

पढ्नै पर्ने |


‘नेकपा संकटमा पर्नु भनेको गणतन्त्र संकटमा पर्नु हो’


लक्की चौधरी
काठमाडौं, मंसिर ८ गते । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संकटमा पर्नु भनेको संस्थागत भइरहेको नेपालको गणतन्त्र संकटमा पर्नु हो भन्नुभएको छ । गोरखापत्र अनलाइनसँगको संक्षिप्त कुराकानीमा महामन्त्री सिंहले सो कुरा बताउनुभएकाे हाे ।

नेपालको राजनीतिक इतिहासमा पहिलो पटक कम्युनिष्टले ल्याएको प्रचुर बहुमतको अहिले सदुपयोग गर्न नसके फेरि कम्युनिष्टले यत्तिको बहुमत ल्याउन अर्को शताब्दीसम्म कुर्नुपर्ने अवस्था आउनसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । “यो पार्टी मूलतः कम्युनिष्ट पार्टी त होइन, तर मुलुकको गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियताको पक्षमा यसले लिएको नीति ठीक छ, यसको हामीले समर्थन गरेका छौं” महामन्त्री सिंहले भन्नुभयो ।

“कम्युनिष्टमा बहुमत, सिद्धान्त र विधि सँगसँगै अघि बढ्ने विषय हुन्, कुनै एकलाई गुमाउँदा त्यो कम्युनिष्ट रहँदैन” महामन्त्री सिंहले भन्नुभयो, “अहिलेको कम्युनिष्ट नेताहरु त्यसको ठीक उल्टो अभ्यासमा छन्, यिनीहरुको कार्यशैली पद र ओहाेदामा केन्द्रित छ, त्यसैले यो पार्टी सच्चा कम्युनिष्ट भइसकेको छैन ।”

“नेकपामा अहिले देखिएको मुख्य विवादको जड पद, ओहाेदा र व्यक्तिगत प्रतिष्ठाकै वरिपरि घुमिरहेको छ, कम्युनिष्टका लागि पटक्कै सुहाउने विषय होइन” महामन्त्री सिंहले भन्नुभयो, “विधि, पद्धति र बहुमतलाई स्वीकार्न नसक्ने नेता आफूलाई कम्युनिष्ट भन्नु नै बेकार हो ।” पार्टी सञ्चालन गर्ने विधि प्रक्रिया र विधान हुने भन्दै उहाँले त्यसको स्वीकारले नै समस्या समाधान हुने बताउनुभयो ।

नेकपाभित्रको विवाद देखेर आफूलाई समेत चिन्ता लागेको बताउनुहुँदै महामन्त्री सिंहले भन्नुभयो, “नेकपा जति कमजोर हुन्छ, त्यति नै प्रतिक्रियावादी शक्ति सक्रिय हुन्छन्, प्रतिक्रियावादीहरु सक्रिय भए भने गणतन्त्र र राष्ट्रियता कमजोर हुन्छ ।” नेकपाभित्रको विवादले अवसरवादी शक्तिहरु अहिले बाहिर खुशीले भोज गरिरहेको उहाँले दावी गर्नुभयो । “यहाँ नेकपा फुट्नु र जुट्नुमा मेरो पीडा होइन, पीडा देश र राष्ट्रियता जोगाउनुको हो” उहाँले भन्नुभयो ।

नेकपाभित्र विवाद आउनुमा नेकपा भित्रको आफ्नै कारण मात्र नभएको, त्यसमा देशी विदेशी प्रतिक्रियावादी शक्तिको जोडबल रहेको दावी गर्नुहुँदै महामन्त्री सिंहले भन्नुभयो, “यो अवस्थामा नेकपा कुनै हालतमा फुट्नु हुँदैन, नेकपा फुट्यो भने देश फुट्छ, राष्ट्रियता र नेपालीको अस्तित्व फुट्छ ।” पद र प्रतिष्ठाको क्षणिक लाभका लागि नेताहरु फुटे भने देश र जनताले माफी नदिने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिगामीलाई आउन नदिउँ
नेकपाको घरझगडा र फुट देखेर प्रतिगामी शक्तिहरु तमासा हेरिरहेको र ‘झर्ला र खाउँला’ भनी मूख मिठ्याएर पर्खीबसेको दावी गर्नुहुँदै महामन्त्री सिंहले भन्नुभयो, “नेताहरुबीच सघन संवाद र छलफल गरौं, सहमति भएन भने सचिवालय बैठकमा निकास खोजौं, सचिवालयमा भएन भने स्थायी कमिटीबाट खोजौं, त्यहाँ पनि भएन भने केन्द्रीय कमिटीमा विषय लैजाउँ तर विवाद सल्टाउँ, यसको विकल्प नेकपासँग अहिले छैन ।”

प्रतिगामी शक्तिले अवसर पाएमा पुनः देश अराजकतामा जाने र लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियताको विषय खतरामा पर्ने उहाँले दावी गर्नुभयो । यस्तो गल्ती नेकपाका नेताहरुले गरे भने यो उनीहरुको ‘ऐतिहासिक भूल’ हुने उहाँले सचेत गराउनुभयो । नेकपा कमजोर भए मुलुकमा पुनः अधिनायकवाद आउने उहाँले चिन्ता व्यक्त गर्नुभयो । पार्टीलाई विधि, पद्धति र विधानअनुसार चलाएमा कुनै समस्या नआउने भन्दै उहाँले त्यही उपायबाट नै नेकपाको समस्या समाधान हुने सुझाव दिनुभयो ।

वर्तमान सरकारले लिएको राष्ट्रियताको पक्षधर आफू पनि भएको बताउनुहुँदै महामन्त्री सिंहले भन्नुभयो, “लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभागको संरक्षण गर्ने सरकारले लिएको नीति उत्तम छ, कार्यान्वयन नहुँदै नेकपा संकटमा प¥यो भने फेरि यो मुद्दा कसैले उठाउँदैन ।” पार्टीभित्र विवाद आउनु सामान्य भएपनि त्यसलाई फुटको स्तरमा जान दिन नहुने उहाँले बताउनुभयो । अहिले मिडियामा आएको समाचार हेर्दा पार्टी गम्भीर संकटमै पुगेको महसुस आफूलाई पनि भएको महामन्त्री सिंहले भन्नुभयो ।

नेकपाभित्र उपयुक्त प्रणालीको विकास भइनसकेको बताउँदै उहाँले पार्टी एकता प्रक्रिया नटुङ्गिदै प्रतिगामी शक्तिहरुको चलखेलले नेकपा संकटमा परेको दावी गर्नुभयो । देश र जनताको हितलाई ध्यान दिएर व्यक्तिगत स्वार्थ नेताहरुले त्याग्न सके कुनै शक्तिले केही बिगार्न नसक्ने उहाँले सुझाउनुभयो । “बहुमत प्राप्त पार्टीका नेताहरु देश र जनताप्रति कति इमानदार र बफादार छन् भन्ने उनीहरुको परीक्षाको घडी हो” उहाँले भन्नुभयो ।

“करिब दुईतिहाई नजिकको कम्युनिष्ट सरकारले यो कार्यकालमा राम्रो काम गरेर जनताको मन जित्न सके पुनः कम्युनिष्टहरुले लामो समय देशको बागडोर आफ्नो मुठ्ठीमा पार्ने कुरा प्रतिगामी शक्तिले राम्रोसँग बुझेका छन्, त्यही हुन नदिन पार्टीका नेताहरुमा भाँडभैलो गराइरहेका छन्” महामन्त्री सिंहले त्यसमा नेकपाका नेताहरु स्वयम् सचेत हुनुपर्ने सुभाव दिनुभयो । नेताहरुको व्यक्तिगत स्वार्थले देशको स्वार्थलाई नाघ्दा समस्या आएको उहाँको बुझाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?