शान्ति लामा
काठमाडौँ, मङ्सिर २३ गते । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा जीवन सन्तुष्टिको दृष्टिकोणले पुरुष अगाडि रहेको देखाएको छ ।
तेस्रो नेपाल बहुसूचक सर्वेक्षण, २०७५÷७६ को तथ्यांकले यस्तो देखाएको हो ।
केन्द्रीय तथ्यांक विभागका लैंगिक तथा सामाजिक तथ्यांक शाखाका निर्देशक कृष्ण तुलाधर महिलाहरु पुरुषभन्दा कम खुशी र आशावादी हुनुमा सामाजिक संरचना र कुरीति मुख्य कारण रहेको बताउनुहुन्छ ।
यो सर्वेक्षणकै क्रममा सोधिएका विभिन्न प्रश्नावलीका उत्तरहरुले पनि यो पुष्टि गर्ने उहाँको भनाइ छ । महिलाहरु अझै लैंगिक विभेदका विभिन्न स्वरुपबाट प्रभावित रहेको उहाँको ठहर छ । ‘आत्मनिर्णयको अधिकार महिलाले पाएका छैनन्, पुरुषझैँ स्वतन्त्र रुपमा हिँडडुल गर्ने, शिक्षा तथा रोजगारी हासिल गर्ने अवस्था छैन ।’ निर्देशक तुलाधरले भन्नुभयो ।
सर्वेक्षणमा सामाजिक विभेद, घरेलु हिंसा, महिनावारी सरसफाइ तथा प्रतिबन्ध, प्रजनन स्वास्थ्य तथा अधिकार, परिवार नियोजनजस्ता महिलाको जीवनमा प्रभाव पार्ने विषयका प्रश्नहरु पनि सोधिएको थियो । जसलाई विश्लेषण गर्दा महिलाहरु अझै आफूले चाहेजसो स्वतन्त्रता उपभोग गर्न नपाएको निर्देशक तुलाधरले बताउनुभयो । स्वेच्छाले हिँड्डुल गर्ने, रोजगारी गर्ने, टाढा गएर शिक्षा लिने अवस्था नरहेको सर्वेक्षणले ठहर गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सम्पत्ति तथा स्वामित्वको अधिकार पनि महिलाले भन्दा पुरुषले उपभोग गर्दै आएका छन् । ‘पुरुषहरु घरबाहिर कमाउने, विदेशमा काम गर्न जाने, सम्पत्तिको हकदार पनि छन् । जसको हातमा सम्पत्ति हुन्छ, ऊ धेरै खुशी हुन्छ,’ निर्देशक तुलाधरले भन्नुभयो, ‘महिलाले गर्ने घरभित्रको कामको मूल्यांकन पनि भएको छैन । कूल गार्हस्थ उत्पादनमा उनीहरुको कामको कुनै योगदान पनि देखिँदैन । त्यसैले उनीहरु खुशी छैनन् ।’
सामाजिक विभेद र कुरीतिका कारण युवा पुस्ताका महिलासमेत पुरुषको तुलनामा कम खुशी र आशावादी रहेको उहाँको भनाइ छ । उहाँ प्रश्न गर्नुहुन्छ, ‘जसको हातमा न सम्पत्ति छ, न त निर्णय अधिकार छ । बरु सामाजिक विभेद र घरेलु हिंसा छ भने उनीहरु कसरी खुशी होउन् त ?’
नेपालमा महिला भन्दा पुरुष धेरै खुशी रहेको पाइएको छ । तेस्रो नेपाल बहुसूचक सर्वेक्षण, २०७५÷७६ को तथ्यांकले यस्तो देखाएको हो । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा जीवन सन्तुष्टिको दृष्टिकोणले पुरुष अगाडि रहेको देखाएको छ ।
प्रतिवेदन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिला ज्यादै खुशी वा केही हदसम्म खुशी रहेको पाइएको छ । सोही उमेरसमूहका ज्यादै खुशी वा केही हदसम्म खुशी पुरुष भने ६४.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, १५ देखि २४ वर्ष उमेरका युवा समूहमा गरिएको सोही सर्वेक्षणमा पनि खुशी रहेका युवतीभन्दा युवकको संख्या धेरै रहेको पाइएको छ । यो उमेरसमूहका ६८ प्रतिशत युवती ज्यादै खुशी वा केही हदसम्म खुसी रहेको पाइएकोमा ६९.६ प्रतिशत युवकहरुले ज्यादै वा केही हदसम्म खुशी रहेको पाइएको सर्वेक्षण प्रतिवेदनमा जनाइएको छ ।
केन्द्रीय तथ्यांक विभागको लैंगिक तथा सामाजिक तथ्यांक शाखा निर्देशक कृष्ण तुलाधरका अनुसार खुशी सूचकको तथ्यांक संकलन गर्दा उत्तरदातालाई खुशी, दुःखी जनाउने विभिन्न मुद्रामा रहेको मानिसको अनुहारका इमो कार्डहरु देखाइएका थिए । बहुवैकल्पिक इमोहरुको व्याख्या बुझेर उत्तरदाताले आफ्नो उत्तर छनाेट गरेका थिए ।
महिलाभन्दा पुरुष बढी आशावादी
बहुसूचक सर्वेक्षणको नतिजाअनुसार जीवनस्तर सुधार हुने आशा गर्नेमा पनि महिलाभन्दा पुरुष बढी छन् । जसअनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५२ं.५ प्रतिशत पुरुषले गतवर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेका छन् भने यस्तो धारणा राख्ने महिला जम्मा ४५.४ प्रतिशत मात्र छ ।
युवा समूहमा पनि जीवनस्तर सुधारको आशा व्यक्त गर्नेमा युवकहरुको नै संख्या धेरै रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । गत वर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गर्ने युवती ५०.१ प्रतिशत छ । यसमा युवकको संख्या भने ५६.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
बहुसूचक सर्वेक्षण महिला, बालबालिका तथा घरपरिवारसम्बन्धी तथ्यांक उपलब्ध गराउने एक बृहत् तथ्यांकीय स्रोत हो । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राराष्ट्रिय स्तरको घरपरिवार सर्वेक्षण विधिमार्फत यो सर्वेक्षण गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।