logo
२०८१ माघ १९ शनिवार



आज साँझ ५ बजे संवैधानिक परिषद र ६ बजे मन्त्रिपरिषद् बैठक आव्हान

पढ्नै पर्ने |


आज साँझ ५ बजे संवैधानिक परिषद र ६ बजे मन्त्रिपरिषद् बैठक आव्हान
फाइल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । अपरान्ह बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको परिषदका सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

गत मंगलबार नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति बनेको बताइएको छ । परिषदका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुरुप बैठक बोलाउनुभएको बताइएको छ ।

यद्यपि बैठकबारे सभामुख अग्नीप्रसाद सापकोटालाई यो समाचार तयार पार्दासम्म औपचारिक जानकारी नआएको उहाँका प्रेस विज्ञ श्रीधर न्योपानेले बताउनुभयो । “बैठक बस्दैछ भन्ने मिडियाबाट जानकारी प्राप्त भयो, तर औपचारिक खवर आएको छैन” उहाँले भन्नुभयो ।

परिषद्रमा ६ सदस्य रहने व्यवस्था छ । जसमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार गणपूरक संख्या पुग्न पाँच जनाको अनिवार्य सहभागिता आवश्यक पर्छ ।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलबार जारी गर्नुभएको अध्यादेशमा साविक सदस्यको बहुमत भएमा गणपूरक संख्या मानिने गरी संशोधन गरिएको छ । अध्यादेश अनुसार प्रधानमन्त्रीसहित तीन जनाको उपस्थिति भएमा गणपूरक संख्या मानिने व्यवस्था छ ।
यसैगरी आज साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक आव्हान गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा साँझ ६ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?