केदार तिमल्सिना
बनेपा, पुस ४ गते । कुनै समय पैदल यात्रा गर्ने यात्रुहरुको लागि विश्राम तथा बास बस्ने प्रयोजनार्थ बाटोमा निर्माण गरिएका पाटी, पौवा तथा धर्मशालाहरु बढ्दो शहरीकरण र सडकको विकाससँगै लोप भएका छन् । लिच्छवि तथा मल्लकालीन समयमा पाटी, पौवा, धर्मशाला बनाएर कीर्ति राख्ने प्रचलन रहेको बुढापाकाहरु बताउँछन् । काभ्रेका विभिन्न स्थानमा तत्कालीन समयका राजा, सरकारी सेवाामा कार्यरत कर्मचारी तथा समाजका उच्चपदका व्यक्तिहरुले पाटी, पौवा तथा धर्मशाला निर्माण गरेको पाइन्छ ।
विशेष गरी काभ्रेको सांस्कृतिक तथा धार्मिक नगर बनेपा, पनौती, नाला, धुलिखेल, दाप्चा, पाँचखाल, साँगालगायतका जिल्लाका विभिन्न स्थानमा पाटी, पौवा निर्माण गरी आफ्नै नामबाट पाटीको नामकरण समेत गरेको पाइन्छ । काभ्रेको कानपुरमा रहेको खर्दार पाटी, सुब्बागाउँमा रहेको विचारी पाटी, नमोबुद्धमा रहेको श्यामपाटी आफ्नो नामबाट नामकरण गरिएका प्रतिनिधिमूलक पाटी हुन् । जिल्लाका विभिन्न स्थानमा धार्मिक प्रयोजन, बाटोमा हिँड्डुल गर्ने बटुवाहरुले थकाइ मार्ने, रातको समयमा बास बस्ने, भोज गर्ने, भजनकीर्तन गर्ने उद्देश्यले स्थापना गरिएका अधिकांश पाटी, पौवाहरु लोप भएका छन् भने कतिपय अझै पनि प्रयोगमा आएको पाइन्छ । सुरुमा बाटो नहुँदाको समयमा बनाइएका कतिपय पाटी, पौवा तथा धर्मशालाहरु पछिल्लो समय सडक निर्माणको क्रममा सडकमा परेपछि भत्काइएका छन् ।
जिल्लाको कानपुरमा रहेको खर्दार पाटी, बनेपा–पनौती सडकको सुब्बागाउँ बाँसघारी नजिकै रहेका पाटी, विचारी पाटी, बनेपा पुलबजारमा रहेको सेतो पाटीलगायतका जिल्लाका विभिन्न स्थानमा रहेका पाटीहरु जीर्ण बनेर भत्किएका छन् । सडक तथा यातायात सञ्चालन नहुँदाको समयमा एक स्थानबाट अर्को स्थान तथा जिल्लामा विभिन्न प्रयोजनका लागि हिड्ने बटुवाहरुले थकाइ, मार्ने, बास बस्ने, कतिपय स्थानमा जात्राको समयमा आउने भक्तजन बस्ने, भजनकीर्तन गर्ने प्रयोजनका लागि तत्कालीन समयमा पाटी, पौवा तथा धर्मशाला निर्माण गरिएको पनौतीका साहित्यकार तुयुकाजी ताम्राकारले जानकारी दिनुभयो । उहाँले पनौतीमा चारखुट्टे, आठखुट्टे, सोह्रखुट्टेलगायतका पाटी तथा धर्मशाला निर्माण भएको बताउनुभयो ।
ताम्राकारले पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने मकर मेला, विभिन्न जात्रा हेर्न आउने भक्तजनहरु बस्न, वर्षायाममा खेतमा काम गर्दा खाजा खाने, पानी पर्दा ओत लाग्ने र भजनकिर्तन गर्नको लागि पनौतीमा पाटी तथा धर्मशाला निर्माण भएको इतिहास रहेको बताउनुभयो । उहाँले पनौतीमा हिमाली क्षेत्रबाट जिम्बु बेच्नका लागि पनौती आउने लामाहरुले पनौतीमा रहेको पाटीहरुमा बास बस्ने गरेको बताउनुभयो । उहाँले पनौतीमा अहिले पनि दुई दर्जनको हाराहारीमा पाटी, पौवा तथा धर्मशाला रहेको बताउनुभयो ।
संस्कृतिविद् ज्ञानकाजी मानन्धरले कलिगत वर्ष १४९७ मा राजा आनन्ददेवले वरिपरि छरिएर रहेका गाउँहरुको एकीकरण गरी बनेपा शहर बनाएको र उक्त समयमा आठ प्रवेशद्धार, आठ पोखरी, आठ गणेशमन्दिर र आठ पाटी निर्माण गरेको बताउनुभयो । उहाँले बनेपा शहरका साथै अन्य स्थानमा पनि पाटीहरु निर्माण गरिएको बताउनुभयो । अहिलेको जस्तो सडक तथा यातायातको सुविधा नभएकोले पैदल यात्रु बसेर खाना खाने, रात बिताउने र थकाइ मार्ने स्थानको रुपमा पाटीहरु प्रयोग भएको बताउनुभयो । उहाँले बढ्दो शहरीकरण, यातायात र सडक विस्तारले गर्दा पुराना पाटी, पौवा र धर्मशाला लोप भएको बताउनुभयो ।
काभ्रेको उग्रचण्डी नाला भगवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले हालको नालाको पुरानो नाम नागिरिपुर रहेको र उक्त समयमा दीर्घरथ राजाले राज्य गर्दा आफ्नो राज्यमा प्रवेश गर्न सात वटा ढोका, सात वटा ढोकासँगै एक/एक वटा पाटी र एक/एक वटा धारा तथा पोखरी निर्माण गरेको इतिहास रहेको बताउनुभयो । उहाँका अनुसार तत्कालीन नागिरिपुरका जनता बिहान उठेर धारा/पोखरीमा गई मुख धोएर सँगै रहेको पाटीमा हुने नेवारी भजनकीर्तनमा सहभागी हुने गर्दथे । कर्माचार्यले अहिले पनि नाला क्षेत्रमा करिब दशवटा पाटी रहेको बताउनुभयो । उहाँले कतिपय पाटीमा अहिले पनि भजन कीर्तन हुने र कतिपय प्रयोगविहिन बनेको बताउनुभयो ।