logo
२०८१ माघ १९ शनिवार



अझै छोरामुखी छ समाज, रोकिएन लिङ्ग पहिचानपछि गरिने गर्भपतन

पढ्नै पर्ने |


अझै छोरामुखी छ समाज, रोकिएन लिङ्ग पहिचानपछि गरिने गर्भपतन


बिदुर आचार्य
चौतारा, पुस ६ गते । सिन्धुपाल्चोकका एक दम्पतीले पहिलो सन्तान छोरी भएपछि दुईपटक लिङ्ग पहिचानपश्चात् गर्भपतन गराए । छोराको पर्खाइमा १६ वर्षको जन्मान्तरमा दोस्रो सन्तान पनि छोरी भयो । डाक्टरले गर्भ परीक्षणमा छोरा रहेको बताएपछि दोस्रो सन्तान जन्माएको ती दम्पतीले बताए ।
 चौतारा साँगाचोकगढी नगरपालिकाकी एक महिलालाई दोस्रो सन्तान छोरी हुँदा परिवारले मानसिक हिंसा सुरू गरेपछि सम्बन्धमा दरार सिर्जना भई घटना अदालतसम्म पुगेको छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन छ ।
बलेफी गाउँपालिकाका एक पुरुषले पहिलो र दोस्रो श्रीमतीबाट आठ छोरी भएपछि छोरा जन्मने आशमा तेस्रो विवाह गरे । उनको दसौँ सन्तानको रूपमा छोराको जन्म भएको बताएका छन् ।
यी घटनाले समाजमा महिला र पुरुष बीचमा जन्मदेखि नै भेदभाव रहेको प्रस्ट देखाउँछ । लैङ्गिक असमानता अन्त्यको अनेकन प्रयत्न हुँदै गर्दा छोरीको जन्मदरमा नै कमी हुनुले लिङ्ग अनुपातमा ठूलो खाडल सिर्जित भएको तथ्याङ्कले पुष्टि गरेको छ ।
गर्भजाँच र जन्मदरको अवस्था हेर्दा राजधानी र सहरी क्षेत्रसँगको सहज पहुँचले विभेदपूर्ण गर्भपतन हुने गरेको सहज आँकलन गर्न सकिने अधिकारकर्मी तथा समाज कल्याण परिषद्की सदस्य नानीमाया थापा बताउनुहुन्छ ।
थापा भन्नुहुन्छ, ‘असुरक्षित गर्भपतनको समस्या जहाँको त्यहीँ छ । छोराको चाहनामा धेरै छोरीहरूको हत्या गरिएको अनेकन उदाहरण त छन् नै ।’

तथ्याङ्कले देखाउँछ खाडल
राष्ट्रिय जनगणना २०६८ मा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । तर सोही जनगणनामा १४ वर्षमुनिका बालबालिकाको लिंग अनुपात विश्लेषण गर्दा बालिकाभन्दा बालकको सङ्ख्या बढी छ ।
सिन्धुपाल्चोक जिल्लामा पछिल्लो तीन वर्ष यता जन्मिएका छोरीको तुलनामा छोराको सङ्ख्या बढी देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ८३५ छोरी जन्मिए भने ८४६ छोरा जन्मिए । त्यस्तै आ.व.०७६÷०७७ मा ८६६ छोरी र ९२१ छोरा जन्मिए भने चालु आव ०७७÷०७८ को चार महिनामा ३२९ छोरी र ३८२ छोरा जन्मिएका छन् ।
जिल्लाको सबैभन्दा विकट मानिने जुगल गाउँपालिकामा यो वर्षको चार महिनामा २१ जना छोरी जन्मिँदा ३१ जना छोरा जन्मिएका छन् । त्यस्तै शहरी क्षेत्रको रूपमा मानिने मेलम्ची नगरपालिकामा ५३ छोरी जन्मँदा ८४ छोरा जन्मिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल चौतारामा गत आव ०७६÷०७७ मा जन्मिएका २०८ शिशुमध्ये ११२ छोरा रहेको अस्पतालले जनाएको छ । ‘पछिल्ला वर्षमा छोरी जन्माउनेभन्दा छोरा जन्माउनेको सङ्ख्या बढी देखिन्छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारी भन्नुहुन्छ, ‘पाँच हजार गर्भवतीले गर्भ जाँच गराए पनि सुत्केरी हुन पचास प्रतिशत मात्र आएका छन् ।’
तिवारीका अनुसार मातृ तथा बाल मृत्युदर न्यून हुँदा पनि गर्भ जाँच गराएकामध्ये आधा मात्र सुत्केरी हुन आउनु र छोराको सङ्ख्या बढी हुँदा जन्मदरको समस्या चित्रित गरेको छ ।

गर्भपतनमा वृद्धि
गर्भपतन प्रजनन् अधिकारको विषय हो । हाडनाता करणी, आमा र शिशुको स्वास्थ्य अवस्था असामान्य रहेकोबाहेक अनिच्छित गर्भ १२ हप्तासम्मको पतन गर्न सकिने कानुनी व्यवस्था छ ।
तर भ्रुणको लिंग पहिचान गर्न खोज्ने दम्पती निकै रहेको जिल्ला अस्पतालका डाक्टर अमित प्रजापति बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘छोराकै पर्खाइमा आठौँ पटक गर्भवती भई जाँच गराउन आएकादेखि पहिलोपटक गर्भजाँचमा आएकासम्मले पनि लिङ्ग पहिचानबारे जानकारी खोज्छन् ।’
जिल्ला अस्पतालमा गत वर्ष ५६ र यो वर्षको पहिलो दुई महिनामा १२ जनाले गर्भपतन गराएको तथ्याङ्क छ । त्योभन्दा डरलाग्दो तथ्य त गर्भपतनपछि त्यसबाट सिर्जित समस्या लिएर आउने महिला गतवर्ष २६ र यो वर्षको पहिलो चार महिनामा छ जना छन् । अस्पतालका अनुसार सुरक्षित र असुरक्षित दुवै खाले गर्भपतनपछि भएका समस्या भोगेका बिरामी आउँछन् । विभिन्न समयमा गराइएका गर्भपतनपछिका समस्याको उपचार गराइरहेका बिरामी अझै पनि रहेका र कतिपयले सत्य जानकारी नगराएको पाइएको अस्पतालले जनाएको छ ।

सामाजिक विचलन आउँछ–मनोविद्
धर्मको प्रभावले पनि समाज छोरामुखी हुँदैआएको मनोविद्हरूको भनाइ छ । बौद्धिक र सम्पन्न वर्गले पनि छोरीभन्दा छोराकै आशा बढी गर्ने आम चलन जीवित नै छ । उत्तराधिकारीको रूपमा छोरा नै रोज्ने सामाजिक मान्यतामा सुधार हुन राज्यका कतिपय व्यवस्थामा नै परिवर्तन आउनुपर्ने मनोविद् तथा चौतारा बहुमुखी क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल बताउनुहुन्छ ।
‘राज्यले शिक्षा, स्वास्थ्य तथा बुढेसकालको जीवनको सुनिश्चितता गर्ने नीति बनाउँदा मात्र पनि नागरिकले आफ्नो उत्तराधिकारी छोरा नै होस् भन्ने मानसिकतामा कमी हुन्छ ।’ दंगाल भन्नुहुन्छ, ‘नागरिकमा छोराले जीवनको उत्तरार्धमा हेरचाह गर्छ भन्ने मनोविज्ञानलाई परिवर्तन गरी राज्यले सुरक्षा दिन्छ भन्ने आश्वस्त पारे असमान जन्मदरको समस्या निवारण हुन्छ ।’
मनोविद दंगालका अनुसार अनुवांशिक रूपमा प्रति सय छोरामा १०५ छोरी जन्मन्छन् तर चिकित्सकीय प्रविधि (गर्भपतन) ले नै छोरीको तुलनामा छोरा बढी भएको सहज आँकलन गर्न सकिन्छ ।
बुढेसकालको सहारा मात्र नभई दागबत्ती दिनेदेखि विश्वका कतिपय चामत्कारिक काममा छोरीहरूले अतुलनीय क्षमता प्रस्तुत गरिसक्दा पनि जन्मअघि नै छोरीमाथि विभेद हुनु समाज विकासका लागि अवरोध रहेको सामाजिक शिक्षक सीताराम पराजुली बताउनुहुन्छ ।

दुई सन्तान नै व्यावहारिक
जनसाङ्ख्यिक सन्तुलन कायम गर्न र सुदृढ समाज निर्माणमा नेपाल सरकारले दुई सन्तान अवधारणा अघि सारेको धेरै भइसक्यो । ‘दुई सन्तान ईश्वरका वरदान’ नारा नै कायम ग¥यो, जो सर्वव्यापी पनि छ ।
दुई सन्तान प्राकृतिक, व्यावहारिक र स्वास्थ्य सबै हिसाबले उपयुक्त रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘छोरा वा छोरी जन्मनु प्राकृतिक विषय हो’, विशेषज्ञ डाक्टर रईसा श्रेष्ठ भन्नुहुन्छ, ‘अनेकन प्रभावले छोरा नै जन्मियोस् भन्ने आशा राखेर स्वास्थ्य जाँचमा नआउने भने होइनन्, कुनै पनि व्यक्ति वा पुस्तामा छोरा मात्र वा छोरी मात्र हुन्छ भन्ने होइन । प्राकृतिक जन्मदर कायम गर्न प्रेरित गर्नुपर्छ ।’

अधिकारकर्मी नै विभेदमा
बेचिएर फर्किएका र हिंसामा परी पुनस्र्थापना भएका महिलाहरू समेत महिला भएकै कारण आफू हिंसामा परेको महसुस गर्दै आफ्नो सन्तान छोरा होस् भन्ने चाहन्छन् ।
‘पुनस्र्थापना भएका पीडित महिलाहरू पनि सामाजिक संरचनाकै कारण सशक्त रूपमा परिवर्तनको आवाज बोल्न सक्दैनन्, बरु समाजले जस्तो चाहन्छ त्यस्तै जीवनमा रम्न सिक्छन्’ बेचबिखनमा परेका महिलाहरूको हकहितमा काम गर्दैआएको संस्था शक्ति समूहकी परामर्शदाता हरिकला भट्ट भन्नुहुन्छ ।
सामाजिक संरचनामा आफूलाई अब्बल देखाउन जसरी पनि छोरा जन्माउने प्रयत्नमा लाग्ने र पहिलो सन्तान छोरा जन्मिएपछि दोस्रो सन्तानको चाहना नराख्दा जन्मदरमा कमी देखिए पनि लिङ्ग पहिचानपछि गरिने विभेदपूर्ण गर्भपतन निकै व्याप्त  देखिएको छ ।
पहिलो सन्तान छोरी जन्मिएपछि अधिकांश गर्भवतीले दोस्रो गर्भको लिङ्ग पहिचानमा चाहना राख्ने गरेको जिल्ला अस्पताल चौताराका डाक्टर अमित प्रजापती बताउनुहुन्छ ।
‘गर्भ जाँच गर्न आउनेको तुलनामा प्रसूति गराउन आउनेको सङ्ख्या असाध्यै कमी छ’, प्रजापतीले भन्नुभयो, ‘गर्भपतनको दर बढेको छ तर लिङ्ग पहिचान भए नभएको जानकारी हामीलाई दिँदैनन् ।’
सरकारले महिलाको समान सहभागिता, अवसरको नीति बनाए पनि सुरक्षा र नीति कार्यान्वयनको पाटोमा अझै ध्यान जान सकेको छैन । लिंग पहिचान गरी गरिने गर्भपतन यस्तै अवस्थामा रहे अबको २० वर्षमा छोरा र छोरीको असमान जनसाङ्ख्यिक अवस्थाले सामाजिक असमानतापछि उत्पन्न हुने अनेकन समस्या बढ्ने निश्चित रहेको विश्लेषकहरु बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?