सरोज आचार्य
ललितपुर, माघ १३ गते । माघ महिनामा खाने गरिएको पाटने पालुङ्गोको साग लोप हुँदै छ । माघे सङ्क्रन्तिदेखि पाँच हप्तासम्म घर परिवारमा नियमित खाने गरिएको यो साग अचेल पाउनै छोडेको गुनासो छ ।
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्ममा सालिनदीमा हुने माधव नारायणका व्रतालुलाई यही पाटने पालुङ्गोको साग भोजन गराउन गुठी संस्थानले तीनलाख रुपियाँ निकासा गरेको छ तर व्रतको मिति आइपुग्दा पनि यो साग कहाँ कसरी पाउन सकिएला भन्नेमा गुठी संस्थान अलमलमा छ ।
ज्यापु समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार पाटनको च्यासलमा व्यञ्जनकार समुदायले मात्र यो साग यही कामका लागि रोप्ने प्रचलन थियो, अहिले क्रमिक रुपमा यसको खेती हराएको छ । पालुङ्गो रोपिने खेतवारीमा घर बने महर्जन भन्नुहुन्छ, उहाँका अनुसार वारीमा ड्याङ् बनाउने मल हाल्ने र स्याहार गर्ने तरिका नै निकै फरक र परम्परागत रहेको हुँदा यो साग उत्पादन हुन छोड्यो महर्जन भन्नुहुन्छ । यसो भए पनि थोरै खेती च्यासलमा छ, नीजि प्रयोगकालागि मात्र हो ।
वैद्यराज सुवर्ण वैद्यका अनुसार पाटने पालुङ्गोको सागले शरीरमा गर्मी बढाउने भएकोले यो याममा यो साग खानै पर्छ भन्ने मान्यता थियो, अहिले साग हराएर गयो । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख वाशुदेव काफ्लेले यो साग संरक्षित हुनुपर्छ भन्नुभयो ।
यो साग स्थानीय प्रजातिको हो, स्थानीय प्रजातिका यस्ता तरकारी बालीको संरक्षण हुन जरुरी रहेको बताउनुभयो । प्रमुख काफ्लेले आफ्नो कार्यालयबाट यस्को संरक्षण कार्यक्रम नभएकोपनि बताउनु भया, अहिले बजारमा पाइने पालुङ्गो विकासे रहेको केन्द्रले जनाएको छ ।
केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार सालिनदीमा स्वस्थानी व्रत तथा माधवनारायण मेलामा रहेका व्रतालुलाइ पाटने पालुङ्गोको साग र तस्मै(खीर) खान दिनुपर्ने अभिलेख कार्यालयमा छ, यसैकालागि ब्तमा रहनेलाई सालना संस्थानले रकम निकासा गर्छ । वागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्कीले यो साग थाइराइडका रोगीलाई रोग प्रतिरोधात्मक शक्ति वृद्धि बढाउन सहयोग गर्छ भन्नुभएको छ ।
डा. कार्कीका अनुसार फोलिकएसिड, फाइवर, आइरन, क्याल्सियम र भिटामिन सवै भिटामिन रहने भएकोले यो साग भोजन स्वास्थ्यकालागि निकै महत्वको छ । गुठी संस्थानले दुइलाख रुपियाँ रकम व्रतालुकालागि निकासा गरेको छ ।