ज्ञानु पंगेनी
कावासोती, माघ १९ गते । गिद्ध संरक्षणमा जुट्दै आएको कावासोतीको पिठौली स्थित जटायु रेष्टुरेष्टमा (रिलिज एभिएरीमा ) रहेका गिद्धलाई प्राकृतिक बासस्थानमा छाड्ने ( रिलिज गर्ने ) काम पछि धकेलिएको छ । कोभिड – १९ का कारण गिद्धलाई प्राकृतिक बासस्थानमा छाड्ने काम समयभित्र हुन नसकेको हो । यहाँ अहिले विश्वकै दुर्लभ डंगर प्रजातीका सात वटा गिद्ध जालीले बेरेर(रिलीज एभिएरीमा) राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा कोरलीएका र त्यहाँ हुर्काईएका डंगर गिद्धलाई पिठौलीमा (रिलीज एभिएरीमा) जंगली गिद्ध संगै घुलमिल गराइ राखिन्छ ।
उनीहरुको अवस्था, कृयाकलाप आदी हेरेर ६ देखि ९ महिनाभित्र प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । तर , यस वर्ष करीब एक वर्ष भइसक्दा पनि गिद्धलाई प्राकृतिक बासस्थानमा छाड्न नसकिएको जटायू रेष्टूरेण्ट व्यवस्थापन समितिका संयोजक डी.बी चौधरीले जानकारी दिनुभयो । गत वर्ष रिलिज गरिएका गिद्ध चितवन , दाङ ,गोरखा , कास्कि , लगायतका ठाउँहरुमा पुगेका थिए । कोभिड – १९ को महामारीले लकडाउन भएका वेला गिद्धको रेस्क्यु गर्न निकै समस्या भएको चौधरीले बताउनुयो । ‘यहाँबाट रिलिज गरिएका कतिपय गिद्धमा स्वास्थ्य समस्या आयो । संरक्षणकर्मीले हामिलाई खबर गर्नुभयो । त्यसका लागि प्राविधिक सहितको टिम भएर गाडिमै जानुपर्ने , लकडाउनका वेला परमिट पाउन गाह्रो भयो । ’कोभिड – १९ का कारण सबै क्षेत्रमा प्रभाव पर्दा संरक्षणमा पनि प्रभाव परेको चौधरी बताउनुहुन्छ । गिद्ध रिलिज गर्ने समय नाघिसकेको भए पनि कहिले गर्ने भन्ने बारेमा अझै निश्चित हुन नसकको चौधरीको भनाई छ ।
गिद्धलाई लोप हुनबाट बचाउने उद्देश्यले २०७४ सालदेखि पिठौली स्थित जटायु रेष्टुरेष्टमा (रिलीज एभिएरीमा ) गिद्ध राख्ने र रिलिज गर्ने कार्यक्रम सुरु गरिएको थियो । अहिलेसम्म ३१ वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । जटायु रेष्टुरेष्ट , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , चितवन राष्ट्रिय निकुञ्ज , वन मन्त्रालय , नेपाल पंक्षी संरक्षण संघ लगायतको सहकार्यमा यो कार्यक्रम संचालन हुँदै आएको छ । पहिलो पटक वि.सं. २०७४ को मंसीरमा ६ वटा गिद्ध र दोस्रो पटक २०७५ को असोजमा १२ वटा र तेस्रो पटक २०७६ को कात्तिकमा १३ वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको गिद्ध पुनस्र्थापना कार्ययोजना २०१६–२०१९ अनुसार चितवनको गिद्ध प्रजनन केन्द्रमा जन्माईएको र हुर्काईएको लोपउन्मुख डंगर प्रजातीका गिद्ध पिठौलीको जटायु रेष्टुरेष्टमा विगतका वर्षहरुदेखि नै छाडिने गरिएको हो । यस अघि छाडिएका गिद्धहरु समेत प्रकृतिसंग राम्रोसंग घुलमिल भएको चौधरीको भनाई छ ।
प्राकृितक बासस्थानमा छाडिएको गिद्धको अवस्थाको बारेमा बुझ्न उनीहरुको शरीरमा ट्याग, जिपिएस ट्रयाकर जडान गरिने गरिन्छ । यहाँबाट छाडिएका गिद्ध छिमेकी मुलक भारतका विभिन्न ठाउँसम्म पुग्ने गरेको चौधरीले जानकारी दिनुभयो । अहिले (रिलीज एभिएरीमा ) रहेका गिद्धहरुको स्वास्थ्य अवस्था राम्रो रहेको र एउटा गिद्धले बच्चा समेत कोरल्न थालेको जानकारी दिनुभयो ।
विश्वमा पाइने २३ प्रजातिका गिद्ध मध्ये ९ प्रजाति दक्षिण एसियामा पाइने र ती मध्ये ८ प्रजातिका गिद्ध पिठौलीमा पाइने चौधरी बताउनुहुन्छ । उहाँले पिठौलीमा पाइने ८ प्रजातिका गिद्धहरु मध्ये ४ प्रजातिका गिद्ध रैथाने प्रजाती ( डंगर , सानो खैह्रे ,सेतो र सुनगिद्ध ) र बाहिर बाट आउनेमा ( हिमाली गिद्ध , खैरो गिद्ध , लामो ठुडे , राज गिद्ध ) रहेको जानकारी दिनुभयो । जाडो समयमा यहाँ हिमाली भेग र बाह्य देशबाट समेत गिद्ध आउने गर्दछन । नोभेम्बरमा आउने र मार्चमा फर्कने गर्दछन् ।