लक्की चाैधरी
काठमाडौं, माघ २१ गते । जनता समाजवादी पार्टीको राजनीतिक समितिका सदस्य तथा पूर्व संविधानसभाका सदस्य शिवजी यादवले देश र जनताको पक्षमा काम गर्न आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पक्षमा आएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टी र सरकार देशको निकासका लागि जनतामाझ जाने निर्णय उचित लागेर आफू दलमा प्रवेश गरेको उहाँले प्रष्ट पार्नुभयो ।
नेता यादवलाई मंगलबार राति ९ बजे प्रधानमन्त्री ओलीले बालुवाटारमा एक समारोहबीच पार्टी प्रवेश गराउनुभएको हो । नेता यादवले गोरखापत्र अनलाइनसँग बुधबार संक्षिप्त कुरा गर्नुहुँदै भन्नुभयो, “मधेसवादी दलका नेताहरु व्यक्तिगत स्वार्थको राजनीतिमा लागे, देश र जनताको भावनामाथि खेलवाड मात्र गरे, देश र जनताको पक्षमा काम गर्न ओली नेतृत्वकै पार्टी ठीक लागेर म पार्टी प्रवेश गरें ।” देशको निकासका लागि निर्वाचनमा जानु सर्वोत्कृष्ट लोकतान्त्रिक पद्धति भएको उहाँले बताउनुभयो ।
निर्वाचनमा जानु भनेको प्रगतिमन होइन प्रष्ट पार्नुहुँदै नेता यादवले भन्नुभयो, “मधेसवादी दलको नीति र एजेण्डा एकातिर भयो, व्यवहार र कार्यशैली अर्कोतिर, यस हिसावले जनताको काम गर्न सकिँदैन, त्यसैले पार्टी छाडेर आएँ ।” सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने मिति सार्वजनिक गर्नु स्वागतयोग्य कुरा भएको उहाँले बताउनुभयो । तथापि मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन भए पनि अदालतको फैसला सबैका लागि मान्य हुने उहाँले बताउनुभयो । अदालतले जे निर्णय गर्छ त्यसलाई मानेर जानुको विकल्प छैन उहाँले भन्नुभयो, “अदालतभन्दा माथि कोही छैन, जे फैसला गर्छ मान्नुपर्छ ।”
जसपामा रहेर देश र जनताको पक्षमा केही योगदान दिन नसक्ने अवस्था देखें, म देश र जनताका लागि केही काम गर्न सकुँ भन्ने चाहन्छु उहाँले थप्नुभयो, “अहिलेको निकास नै निर्वाचनमा जानु हो, जनताले जे निर्णय गर्छन् सही गर्छन्, त्यहीअनुसार देश अगाडि बढ्छ ।”
पार्टी प्रवेशको अवसरमा प्रधानमन्त्री ओलीले समयअनुसार पार्टीको उचित जिम्मेवारी दिने प्रतिबद्धता गर्नुभएको नेता यादवले बताउनुभयो । “मैले यो वा त्यो पद मागेको छैन, यो पार्टीमा रहेर देश र जनताको सेवा गर्न सकुँ भन्ने मेरो प्रमुख चाहना हो” उहाँले भन्नुभयो ।