logo
२०८१ माघ १८ शुक्रवार

  चुरेका नगरबासीको हविगत  



बाटोको नाममा बगर, बिरामी पर्दा डोको, उज्यालो चाहिए टुकी

पढ्नै पर्ने |
प्रदेश |


बाटोको नाममा बगर, बिरामी पर्दा डोको, उज्यालो चाहिए टुकी


मनोज तिमलसिना
रौतहट,माघ २५ गते । रौतहटको चुरे क्षेत्रका सबै बस्ती नगरपालिकामा पर्छन् तर, यहाँका स्थानीयले नगरको सुविधा भने पाउन सकेका छैनन् । वर्षाेंदेखि आधारभूत आवश्यकताका सुविधा पाउन नसकेका चुरे क्षत्रेका बासिन्दाले सास्ती र कष्ट भोग्दै आउनुपरेको छ । नगरपालिका घोषित भए पनि विकास निर्माणमा पछाडि परेका छन,चुरेका बस्ती ।
बारा,मकवानपुर,सर्लाही सीमामा रहेका महादेव डाँडा,चिसापानी, अरुणबस्ती, ईपिलघारी, हिलेखोला,जरुवा डाङडुँगेलगायत दर्जनौं चुरे बस्तीका हजारौं घर परिवार अभाव र कष्टपूर्ण जीवन बिताउँदै आएका छन् । यस क्षेत्रमा अधिकांश तामाङ समुदायको बाहुल्य छ ।
वर्षौंदेखि विकास निर्माणमा पछाडि परेका चुरेका यी बस्ती विकासका लागि नगरपालिकाको प्राथमिकतामा परेको छैन । यस क्षेत्रका स्थानीयले बाटोको नाममा खोलाको बगर, बिरामी पर्दा अस्पताल लैजान डोकोको सहारा लिनुपर्छ । खोलाको दूषित पानी खानुपर्ने लगायतका अभाव र कष्टपूर्ण जीवन जिउन बाध्य छन् । चन्द्रपुर र गुजरा नगरपालिका पर्ने चुरेका दर्जनौं बस्तीका स्थानीय यस्ता समस्या खेप्दै आइरहेका छन् ।
दशकौंदेखि कष्टकर जीवन बिताउँदै आएका यहाँका स्थानीय उज्यालोका लागि टुकी र सोलारमा भर पर्छन् । यी बस्तीमा पुग्न खोला र जंगल छिचोलेर चुरे पहाडको उकालो ओरालोमा कष्टपूर्ण यात्रा गर्नुपर्छ । सडक संजाल नभएकाले खोला र जंगल भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, यहाँका बासिन्दा । यी बस्तीमा शिक्षा, स्वास्थ्य ,विद्युतलगायतका सुविधा छैनन् । गाँसबास र लत्ताकपडाको जोहो गर्नसमेत मुस्किल छ ।
हिउँदका बेला दैनिक जीवन बिताउन अलि सजिलो भए पनि वर्षाका बेला भने समस्या हुने गरेको चन्द्रपुर नगरपालिका वडा नम्वर तीन भोलनटारका स्थानीय वीरबहादुर स्याङतान बताउनुहुन्छ । उहाँका अनुसार,वर्षाका बेला बिरामीलाई अस्पताल पु¥याउनै मुस्किल पर्ने भएकाले यहाँका स्थानीय बिरामी निको पार्न धामी झाँक्रीमा जाने गर्छन् । वर्षादमा खोलामा बाढी आउँदा स्थानीय छिमेकी गाउँ र बजारसम्म समेत आउजाउ गर्न मुस्किल हुने गरेको छ । वर्षा लागेपछि बजार आउन जान निकै गाह्रो हुने र बिरामी वा गर्भवती महिलालाई सुत्केरी व्यथा लाग्दा सकस हुने गर्छ । स्वास्थ्य संस्था नभएकाले सिटामोल किन्नुपर्दा समेत यहाँका बासिन्दा कोसौं बाटो हिँडेर गैंडाटार,चन्द्रनिगाहपुर र बाराको निजगढ जानुपर्ने बाध्यता छ ।

चुरेका यी बस्तीहरु जिल्लाको गुजरा र चन्द्रपुर नगरपालिका हुँदै गएको पूर्व–पश्चिम राजमार्गबाट करिब सात देखि १० किमि दूरीमा पर्छन् । अधिकांश भूमिहीन रहेका यी क्षेत्रका बासिन्दालाई गर्जाे टार्न धौधौ पर्छ । बालबालिकाले विद्यालयको मुख देखेका छैनन् । हुर्केका सन्तानहरु रोजगारीका लागि विदेश या त राजधानीमा गलैंचा बुन्ने पेशा गर्छन ।
जिल्लाका दक्षिणका अन्य स्थानीय तहभन्दा विकासले गति लिएको उत्तरी क्षेत्रका नगरपालिकाका यी बस्तीका स्थानीयले भने दुःख र कष्ट सधैं भोग्दै आएकाले नगरवासी भएको समेत महशुस गर्न पाएका छैनन् । महादेवडाँडाका अर्का स्थानीय प्रेम जिम्बाले नगरको चुनावमा मत माग्न आउने तर जितेर गएपछि जनप्रतिनिधिहरु फर्केर नआउने गरेको गुनासो गर्नुहुन्छ । चन्द्रपुर नगरपालिका वडानम्वर तीनका वडाध्यक्ष रवि देवकोटाले वडा र नगरपालिकाको बजेटबाट मात्रै यस क्षेत्रमा सडक पु¥याउन सक्ने अवस्था नरहेको जनाउनुभयो । बन क्षेत्र भएकाले पुर्वाधार विकास गर्न अफ्टेरो परेको उहाँको भनाइ छ ।
खोलाको पानीमा निर्भर छन्,यहाँका बासिन्दा । यी बस्तीका स्थानीयका लागि शुद्ध पिउने पानीको व्यवस्था होस् भन्दै यसअघि पाइप भने सहयोग गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?