logo
२०८१ माघ १७ बिहीवार



सामुदायिक वनमा पाटेबाघको ‘मुभमेन्ट’ बढेपछि सतर्कता बढाइयो

पढ्नै पर्ने |


सामुदायिक वनमा पाटेबाघको ‘मुभमेन्ट’ बढेपछि सतर्कता बढाइयो


अविनाश चौधरी
धनगढी, फागुन २ गते । कैलालीको सामुदायिक वनमा पाटेबाघको ‘मुभमेन्ट’ बढेपछि सुरक्षा सतर्कता बढाइएको छ । बाघले मान्छेमाथि आक्रमण गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको हो । शुक्रबारमात्रै पाटेबाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते हुनुभएको छ ।
यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एउटा बाछोलाई मारेर खाएको छ ।
बाघको ‘मुभमेन्ट’ बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताउनुभयो । सबै वनहरुमा मान्छेको प्रवेशमा रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो ।
‘विवाहको बेला भएकाले मान्छेहरु सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्’, उहाँले भन्नुभयो । ‘बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रुपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।’
बाघले मान्छे वा पशुमाथि आक्रमण गर्न सक्ने र तस्कर वा शिकारीले बाघलाई मार्न सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघलाई जोगाउनको लागि सामुदायिक वनका सदस्यहरुलाई परिचालन गरिएको छ । शनिबार क्यामेरा ट्रयापिङ गर्न गएको बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गर्नुभएको थियो ।
‘बाघ देखेपछि रुखमा पाँच/छ मिटरमाथि चढेँ’, उहाँले भन्नुभयो । ‘मलाई देखिसकेपछि बाघ म चढेकै रुखमा चढ्न खोजेको थियो । मेरै वरिपरि धेरै बेरसम्म घुम्यो र भुइँमा रहेको मेरो एउटा जुत्ता लिएर गयो ।’
बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दुधुवा नेशनल पार्क वा बर्दिया राष्ट्रिय निकुञ्ज कहाँबाट आएको हो, भन्ने पुष्टि भइसकेको छैन । तर, आफ्नो प्राकृतिक बासस्थानलाई छोडेर सो बाघ बसन्ता जैविकमार्ग अन्तर्गतका सामुदायिक वनहरुमा आएको हुन सक्ने संरक्षणकर्मीको बुझाइ छ ।
सामुदायिक वनमा आएको बाघलाई सामुदायिक वनमै रहन दिने वा के गर्ने भन्ने सवालमा कुनै टुङ्गो नलागे पनि बाघ देखिएको क्षेत्रमा निगरानी र सतर्कता बढाइएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । ‘हामीले हाम्रा मान्छे खटाएर सुरक्षा, निगरानी गरिरहेका छौं । त्यो बाहेक अहिले केही गर्नसक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । ‘बाघले आक्रमण गरेर घाइते बनाएको व्यक्तिलाई भने क्षतिपूर्ति उपलब्ध हुनेछ ।’
बाघ तीन/चार वटा कारणले आफ्नो प्राकृतिक बासस्थान छोडेर अन्यत्र घुमफिर गर्ने गरेको बताइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले प्राकृतिक रुपमा शिकार गर्न नसक्ने बुढो बाघ, घाइते वा अशक्त बाघ, आफ्नो क्षेत्रमा रहेका बाघसंग लडाई गर्न नसकेको बाघ र पोथीको खोजीमा निस्केको बाघ आफ्नो प्राकृतिक बासस्थान छोडेर अन्यत्र जाने गरेका छन् ।
कैलालीमा देखिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जकै पनि हुन सक्ने श्रेष्ठले बताउनुभयो । ‘हाम्रो निकुञ्जमा ८७ वटा बाघ छन् र सबैको फोटो हामीसंग छ’, उहाँले भन्नुभयो । ‘कैलालीमा देखिएको बाघको फोटो कैद गरेर हाम्रो हो वा होइन भनेर पहिचान गर्न सकिन्छ ।’
बाघ ‘टेरिटोरियल’ वन्यजन्तु हो । एउटा वयस्क बाघले आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने गर्दछ । आहाराको उपलब्धता र वयस्क बाघको सङ्ख्याको आधारमा भाले बाघले आफ्नो क्षेत्र निर्धारण गरेका हुन्छन् । नेपालमा सामान्यतयाः एउटा भाले बाघले २० वर्ग किलोमिटरसम्म आफ्नो क्षेत्र बनाउने गरेको बताइएको छ ।
कैलालीमा देखिएको बाघको बारेमा विस्तृत जानकारी हासिल गर्न आवश्यक रहेको जोड दिइएको छ । वन्यजन्तुबारे जानकार प्राध्यापक करनबहादुर शाहले सामुदायिक वनमा पुगेको बाघ बुढो, रोगी वा अशक्त पनि हुन सक्ने बताउनुभयो ।
‘त्यो बाघको बारेमा बुझ्दा त्यसका गतिविधि केही असामान्य छन्’, उहाँले भन्नुभयो । ‘बुढो वा रोगी, अशक्त भएका कारणले आफ्नो प्राकृतिक वासस्थानबाट अन्यत्र आएको हुनसक्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?