logo
२०८१ मंसिर १० सोमवार



जैविक विविधतायुक्त टरुवा ताल संरक्षण शुरु, सात करोड बजेट

पढ्नै पर्ने |
पर्यटन |


जैविक विविधतायुक्त टरुवा ताल संरक्षण शुरु, सात करोड बजेट


ज्ञानु पंगेनी
कावासोती, फागुन ६ गते । कावासोती नगरपालिकास्थित टरुवा ताल संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्यको थालनी गरिएको छ । नवलपरासी पूर्व (नवलपुर) कावासोती नगरपालिका वडा नम्बर ७ र ८ अन्तर्गत पर्ने टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटर पर्यटकीय विकास कार्यक्रम गरिने भएको हो । कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवातालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकासगर्न सात करोड रुपियाँको लागतमा कार्यक्रम गरिने भएको छ ।
पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत सात करोड रुपियाँ बराबरको काम गर्न लागिएको हो । नगरकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावना बोकेको टरुवा ताल आसपासका क्षेत्रको आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको थियो । तालको सरसफाईलगायतको काम  नहुँदा अहिले झारले ढाकेको छ ।
मन्त्रालय र नगरपालिका बीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाको रुपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको चार करोड ५५ लाख र कावासोती नगरपालिकाको दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताउनुभयो ।
बाह्रै महिना पानी नसुक्ने यस तालको आसपासमा पानीका मूल फुट्ने गर्दछ । स्थानीय भाषामा ( चुहाडी ) भनिन्छ । यहाँको पानी अझै पनि स्थानीय बासिन्दाले पिउँदै आएका छन् । कावासोतीमा खानेपानी योजना सुरु नहुँदा दुुई किलोमिटर सम्मका स्थानीयले यसै चुहाडीबाट पानी पिउने गरेको यहाँका पाका पुस्ता बताउँछन् । सिमसार क्षेत्रका रुपमा रहेको यस तालमा विभिन्न चराचुरुङ्गी देख्न सकिन्छ ।
टरुवा ताल र आसपासको क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगर प्रमुख पुनले बताउनुभयो । पर्यटकीय सम्भावना बोकेको कावासोती नगरपालिकाको धेरै यस्ता क्षेत्रहरु आझेलमा पर्दै आएकाले नगरपालिकाले अब यस्ता क्षेत्रको विकास गर्न लागि परेको उहाँले बताउनुभयो । टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि धेरै बजेट विनियोजन भएको यो पहिलो पटक रहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।
कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताउनुभयो ।
टरुवा ताल क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्ने नगरको पहिलेकै योजना रहेको र सोही अनुसार गुरुयोजना समेत तयार गरि सकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने पुरीले बताउनुभयो । पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाको रुपमा विकास हुने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?