ध्रुवहरि अधिकारी
केही दिन मात्र अघिको कुरो हो, लेखक जयराज आचार्यको सौजन्यबाट प्रोफेसर यदुनाथ खनाल (विसं १९७०–२०६१) बारेको नयाँ पुस्तकको एउटा प्रति मेरो हातमा प¥यो । ‘यदुनाथ खनाल ः विद्वान् कूटनीतिज्ञ समालोचक’ भन्ने शीर्षक सार्थक लाग्यो किनभने यसले स्वर्गीय खनालको बहुमुखी प्रतिभा एवं योगदानलाई राम्रोसित समेट्दछ । खनालको तस्बिर रहेको हुलाक टिकट छापिएको हुनाले पुस्तकको मुखावरण आकर्षक हुन पुगेको छ । त्यस्तै, पछाडिको पातोमा परेको तस्बिरले विद्वान् खनाल र यस पुस्तकका लेखक आचार्यलाई एकै ठाउँमा राखेको छ ।
संयोग हो, २०६१ असोजमा एक दिन दिउँसो प्रोफेसर खनाललाई भेट्न म उहाँको निवास बानेश्वर पुगेको थिएँ । मूलढोकामा अचानक डा. जयराज आचार्यसँग भेट भयो, सँगसँगै भित्र पस्यौँ । भेटघाटका लागि आएको खबर पठायौँ, बोलाउनु भएको जानकारी पनि एकैछिनमा आयो । तर यसपल्टको भेट भूइँतल्लाको बैठक कोठामा होइन, एकतल्ला माथिको खनालको सुत्ने कोठामा । कमीजसुरुवालको पहिरनमा उहाँ खाटमा बसिरहनु भएको रहेछ । दाहिने हातमा खेल्ने तासका पत्ता थिए, शायद हामी पुग्नुअघि उहाँले पत्ता मिलाउने एकल खेलमा आफूलाई व्यस्त राख्नुभएको थियो । केही बिसञ्चो भएको हुनाले नै हामीलाई बैठकको साटो सुत्ने कोठामै डाक्नुभएको अनुमान त थियो तर कुराकानीको सिलसिला सामान्य रूपमै अघि बढेकोले हामीले असामान्य अड्कल गर्नुपरेको थिएन । मैले साथमा रहेको डिजिटल क्यामेरा खोलेर दुबै विद्वान्लाई एउटै फ्रेममा समेट्ने गरी फोटो खिचेँ, पेशेवर फोटोग्राफर नभएकोले कामचलाउसम्मको त आउला भन्ने आशाका साथ । सम्भवतः त्यो खनालको अन्तिम फोटो हुन पुग्यो किनभने चर्चित भेटघाटको पाँच दिनपछि उहाँको निधन भएको खबर सुन्नुप¥यो । असोज १६ गते उहाँ परलोक हुनुभयो । र, कान्तिपुरका सम्पादक नारायण वाग्लेको आग्रहमा मैले हतार–हतारमा तयार पारेको खनालबारेको मृत्युलेख (अबिट्युअरी) भोलिपल्टको अखबारमा निस्केको सम्झना हुन्छ ।
०००
गतिशील विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि एकनास रहन सक्दैनन् । देखेभोगेकै कुरो हो, सन् १९४५ मा दोस्रो विश्वयुद्धपश्चात् विश्व दुई प्रतिस्पर्धी शिविरमा बाँडियो– एउटाको नेतृत्व लोकतान्त्रिक परिपाटीको हिमायती शक्ति अमेरिकाले ग¥यो त अर्को अर्थात् समाजवादी शिविरलाई सोभियत सङ्घले आफ्नो अगुवाइ मातहत राख्न सफल भयो । अमेरिकी खेमालाई सुरक्षा दिन ‘नेटो’ सैनिक गठबन्धन बन्यो भने सोभियत सङ्घले यस्तै प्रयोजनका लागि ‘वार्सा’ गुटको निर्माण ग¥यो । जुन जुन मुलुक कुनै पनि गुटमा सामेल हुन चाहेनन् तिनले ‘असंलग्न’ समूहको सिर्जना गरे र तटस्थ भएर अन्तर्राष्ट्रिय चुनौतीहरूलाई गुणदोषको आधारमा नियाल्ने परम्परा बसाले । भारत, इण्डोनेसिया, इजिप्ट, युगोस्लाभिया र घानाका तत्कालीन नेताहरूको पहलमा सन् १९५५ मा बान्दुङ सम्मेलनबाट थालनी भएको त्यस अभियानले सन् १९६१ मा औपचारिक रूप लियो । राजा महेन्द्रको राज्यकालको आरम्भमै सम्पन्न भएको बान्दुङ सम्मेलनमा सम्मिलित नेपाली प्रतिनिधिमण्डलको एक सदस्य हुनुहुन्थ्यो प्रोफेसर खनाल । सन् १९५५ मै नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य भएर विश्वसमुदायमा परिचित भएको थियो जहाँ खनाल पहिले प्रधानमन्त्री वि.प्र. कोइराला र पछि राजा महेन्द्रका साथमा एक वरिष्ठ सहयोगीको रूपमा सामेल रहनु भयो । कालान्तरमा खनाल परराष्ट्र सचिव हुनुभयो, र एक कालखण्डमा उहाँले भारत, चीन र अमेरिका जस्ता नेपालका लागि सर्वाधिक महìव राख्ने देशहरूमा राजदूतको जिम्मेवारी सम्हालनु भयो । यसरी, मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्न आवश्यक पर्ने नीति निर्माण गर्ने र पछि राज्यसंयन्त्रलाई त्यसै (निर्धारित) दिशातर्फ डो¥याउने कार्यमा संलग्न एक प्रमुख व्यक्ति हुन पुग्नुभयो प्रोफेसर खनाल । तसर्थ उहाँको जीवनी र विचारसँग चिनारी गर्न हरेक चेतनशील नेपालीले इच्छा गर्नु स्वाभाविक हो ।
प्रोफेसर खनालबारे हाल प्रकाशित पुस्तक यथार्थमा वि.सं. २०५९ सालमा छापिएको ‘जीवनी र विचार’ को विस्तारित संस्करण हो । लेखक आचार्यले उसै बखतको भूमिकामा आउँदो संस्करण विस्तारित रूपको हुने सङ्केत गरेको देखिन्छ । पुस्तकको साझा प्रकाशन संस्करण प्रोफेसर खनालको जीवनकालमै निस्केको थियो । र, साझाको प्रकाशकीय मन्तव्यमा भनिएजस्तै मनीषी खनालको
‘बहुमुखी व्यक्तित्व’ थियो जसको विशिष्ट झलक त्यो ३३३ पृष्ठको पुस्तकमा उपलब्ध भएको थियो । प्रोफेसर खनालको शैक्षिकक्षेत्रको अनुभव, साहित्यको फाँटमा उहाँले गरेको योगदान र कूटनीतिक मोर्चामा उभिएर नेपालको राष्ट्रियहितका लागि उहाँबाट भएका सत्कार्यको आकलन त्यही प्रकाशनले गरेको थियो । अहिलेको संस्करण पनि उही आकारको कागजमा छापिएको छ र पृष्ठसंख्या छ ४०२ । बढेका पानाहरूमा थपिएका जानकारीले खनालको व्यक्तित्व उजिल्याउन सघाउ पु¥याएका छन् । विश्वेश्वरप्रसाद कोइराला एकैसाथ राजनीतिज्ञ र साहित्यकार हुन सकेजस्तै यदुनाथ खनालको परिचय पनि कूटनीतिज्ञ र साहित्यका स्रष्टाको रूपमा एकैप्रकारले भएको देखिन्छ । साहित्यमा, कोइराला कथाकार र खनाल चाहिँ समालोचक ।
०००
कूटनीतिज्ञ खनालले राजनीतिज्ञ कोइरालाको सम्बन्धमा गरेको मूल्याङ्कन आफैँमा एक गहन साहित्यिक कृति मानिन सक्दछ । किनभने नयाँ पुस्तकको परिशिष्ट खण्डमा भेटिने
‘विश्वेश्वरप्रसाद कोइराला ः एक सम–सान्दर्भिक चिन्तन’ शीर्षकको निबन्ध पढ्ने पाठकलाई यस्तै अनुभूति हुन्छ । ‘लक्ष्मी निबन्धसंग्रह’ मा लक्ष्मीप्रसाद देवकोटाले भानुभक्त र लेखनाथको बारेमा गरेको मूल्याङ्कनले पाठकमा देवकोटाप्रति नै सम्मान जगाएजस्तै । खनालको आलेखमा कोइरालालाई ‘युगपुरुष’ को उच्चस्थानमा राखिएको छ जुन चान्चुने कुरो होइन । पर्याप्त अध्ययन र अनुशीलनको आधारमा नै प्रोफेसर खनालमा यो अवधारणा बनेको हुनुपर्छ । यसै क्रममा, खनालले कोइरालाको निधन हुँदा भारतको ‘द स्टेट्स्म्यान’ अखबारको त्यस सम्पादकीय अग्रलेखलाई उद्धृत गर्नुभएको छ जसमा कोइरालालाई ‘भारतका प्रथम श्रेणीका नेताहरू सरहका’ भनेर लेखिएको थियो । ‘शायद बढी पनि थिए,’ खनाल थप्नुहुन्छ । ‘उनी एकैसाथ राजनीतिशास्त्री, राजनेता र नीतिद्रष्टा थिए...’।
खनालको यो मन्तव्य नेपालमा २०४७ सालमा नयाँ संविधान आएपछिको हो ।
कोइरालाबारेको खनालको यस चर्चित आलेखमा वि.सं. २०१६ सालतिर नेपालका प्रधानमन्त्री कोइरालाले तथा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले आ–आफ्ना देशका तर्फबाट जारी गरेको ‘वक्तव्य’ र ‘प्रतिवक्तव्य’ समावेश गरिएका छन् । आ–आफ्ना संसद्मा प्रस्तुत भएका ती दुवै वक्तव्यलाई खनालले ‘अर्थपूर्ण’ मानेर आफैंले गरेको अनुवाद प्रस्तुत गर्नुभएको छ । कुरो सन् १९६० को आरम्भमा भारत–चीन सम्बन्ध बिग्रेका बखत नेहरूले आफ्नो देशको सुरक्षाको परिप्रेक्ष्यमा नेपालको उल्लेख गरिदिएपछि परिस्थिति केही असहज हुन गएको थियो । नेपाल र भारत बीचको सम्बन्धको प्रकृति प्रष्ट्याउनु पर्ने स्थिति आइप¥यो । नेपालउपर कतैबाट आक्रमण भएमा भारतले त्यसको प्रतिकार गर्ने नेहरूको वक्तव्यको आशय आयो, अनि कोइरालाले प्रतिवक्तव्य दिँदै नेपालबाट त्यस्तो मद्दत मागियो भने दिने कुरा बेग्लै हो अन्यथा भारतले एकतर्फी कारबाही गर्ने प्रश्न नै उठ्दैन भनेर नेपालको स्थिति स्पष्ट गरिदिनुभयो । लगत्तै नेहरूको कथन आयो– हो, यसमा कोइरालाकै व्याख्या सही हो । सन् १९५० को शान्ति तथा मैत्रीसन्धिमा भएका प्रावधान कुनै सैनिक सन्धि बिलकुल होइन । हामीले देखेकै छौँ, सन् २०१७ यता भारत र चीन माझको सम्बन्ध एकपल्ट फेरि चिसो भएको छ । लद्दाख समेतका सीमाक्षेत्र अशान्त छन् । भारतीय प्रेसमा यसको चर्चा हुँदा बेलाबखत नेपाल तानिएर आएको देखिन्छ । चनाखोपन र सावधानीको खाँचो टड्कारो छ ।
लेखक आचार्यले पुस्तकको ताजा संस्करणमा थप गरेका समाग्रीमध्येको एक हो २०४५ साल वैशाखमा साप्ताहिक ‘नेपाली आवाज’ मा प्रकाशित खनालसँगको विस्तृत अन्तर्वार्ता । हरिहर विरहीका समसामयिक प्रश्नहरूको उत्तर दिने क्रममा खनालले मानिसलाई लाउने खाने चाँजो मिलेर मात्र पुग्दैन राजनीतिक स्वतन्त्रता पनि चाहिन्छ भनेर आधारभूत आवश्यकताको परिधि फराकिलो राख्नुपर्ने मान्यतालाई स्पष्ट रूपमा अघिसार्नु भयो । पञ्चायतको नियन्त्रणमुखी प्रवृत्तिबाट जनअसन्तुष्टि बढिरहेको बेलामा गहन बौद्धिक पृष्ठभूमिका खनालबाट ‘राजनीतिक स्वतन्त्रता पनि आधारभूत आवश्यकता हो’ भन्ने सशक्त विचार प्रवाह हुनु लर्तरो कुरो थिएन । त्यसैगरी, भारतसँगको झाँगिंदो असमझदारी सुल्झाउन नेपालका राजाले आफैँजस्तो अधिकारसम्पन्न राजनेता अर्थात् राजीव गान्धीसँग सोझो कुराकानी गर्नुपर्छ भनेर खनालले सुझाउनु भएको थियो । तर उस बखतका राजाका सल्लाहकारहरूले भारतका प्रधानमन्त्रीको मर्यादाक्रम नेपालका ‘श्री ५’ को स्तरमा आउँदैन भनेर ‘सोझो’ वार्तालाई निरुत्साहित गरेका थिए भन्ने बुझिन्थ्यो ।
आचार्यको नयाँ पुस्तकको अर्को आकर्षण हो पृष्ठ १०२ र १०३ को बीचमा समावेश गरिएको सीमाविद् बुद्धिनारायणको पुस्तकबाट लिइएको त्यो नक्सा जसमा साबिकमा भारतीय चेकपोष्ट रहेका १८ स्थानको नाम मुद्रित भएको छ । अभिलेखमा भएकै विषय हो, ती चेकपोष्टहरू राजा महेन्द्रको राज्यकालमा कीर्तिनिधि बिष्ट प्रधानमन्त्री भएका बखत परराष्ट्र सचिव यदुनाथ खनालको पहलमा सम्झौता–वार्ताको माध्यमबाट बन्द गराइएको थियो । अर्को शब्दमा, वार्ताद्वारा दिल्लीलाई त्यो काम गर्न राजी गराइएको थियो । एक स्वतन्त्र देशमा अर्को देशका सैनिक संयन्त्र र तिनका कर्मचारी रहनु स्वाभाविक हुँदैन भन्ने नेपालको अडानप्रति भारत सहमत भएको थियो । भारतको सुरक्षा चिन्तालाई नेपालले ध्यान दिने काठमाडौँको आश्वासनबाट दिल्ली आश्वस्त भएको थियो होला ।
०००
आचार्यको पहिलो पुस्तकको भूमिकामा प्रोफेसर खनालको ७५० पृष्ठको अंग्रेजी पुस्तकको उल्लेख भएको छ ः सन् २००० मा प्रकाशित ‘नेपाल्स् नन्–आइसोलेसनिष्ट फरेन पोलिसी’ (नेपालको अपृथक्तावादी परराष्ट्रनीति) । यस पुस्तकमा नेपालको परराष्ट्रनीति र त्यसलाई कुशलताका साथ सञ्चालन गर्न चाहिने कूटनीतिक सीपका लागि आवश्यक पर्ने सूचना र ज्ञानका दर्जनौँ स्रोतहरू छन् । भारत, अमेरिका र चीनमा राजदूत भएर काम गर्दाका उहाँका अनुभव समेटिएका छन् । प्राक्कथनमा खनालले नै लेख्नुभएको छ–‘परराष्ट्रमन्त्री संरचनाकार (आर्कीटेक्ट) हुन् भने स्थलगतरूपमा कार्यरत रहने राजदूत चाहिँ अभियन्ता (इञ्जिनियर)’ । खनाल पहिले राजा र मन्त्रीनिकट रहेर योजनाकार हुनुभयो, पछि महìवपूर्ण तीनवटा देशमा खटिएर इञ्जिनियरको जस्तो भूमिकामा पनि रहनु भयो । खनालका स्थलगत अनुभवहरू उहाँका संस्मरण र प्रतिवेदनहरूमा समावेश भएका छन् । तिनले समकालीन स्थितिलाई राम्रोसित प्रतिविम्बित र प्रतिध्वनित गर्दछन् ।
राजा महेन्द्रबाट २०१९ सालमा केकस्तो परिस्थितिमा आफूलाई भारतका लागि राजदूत नियुक्त गरियो र दिल्लीमा रहँदा २०१७ सालको शाही कदमको पृष्ठभूमिमा केकस्ता चुनौती बेहोर्नु प¥यो त्यसको चर्चा खनालले ‘म कसरी राजदूत भएँ’
(हाउ आई बिकेम् एम्ब्यास्डर) शीर्षकको संस्मरणमा गर्नुभएको छ । सन् १९६३ को १ जनवरीका दिन राष्ट्रपति एस्. राधाकृष्णन् समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दा उहाँले २० वर्ष पहिले कलकत्तामा विद्यार्थी छँदाको एक प्रसङ्ग सुनाउनु भयो । प्रोफेसर राधाकृष्णन्को आकर्षक प्रवचनकला सुन्ने लोभले खनाल यदाकदा उहाँको कक्षामा छिर्ने गर्नुहुँदो रहेछ ! अमेरिकाको अनुभव पनि रोचक हुन पुगेछ । सन् १९७३ को ३० अप्रिलका दिन राष्ट्रपति रिचर्ड निक्सन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने तय भएकोमा एक्कासि निक्सनले वाटरगेट काण्डबारे बोल्नुपर्ने भएकोले कूटनीतिक समारोहको मिति पछि सरेछ । भन्नुहुन्छः म पनि वाटरगेट काण्डबाट बेग्लै ढङ्गले पीडित हुन पुगेँ ! तर त्यसको क्षतिपूर्ति पछि समारोह भएका दिन राष्ट्रपति निक्सनबाटै भयो । न्याना र सद्भावयुक्त शब्दहरूले खनाल आह्लादित हुनुभयो । पछि, कार्यकाल सकेर नेपाल फर्किने बेलामा परराष्ट्रमन्त्री हेनरी किसिञ्जरबाट पाएको चिठ्ठीमा खनालले उत्तिकै न्यानो अभिव्यक्ति पाउनु भयो । निचोडको वाक्य रहेछः ‘अमेरिका नेपालको राजनीतिक स्वतन्त्रता र आर्थिक विकासमा अभिरुचि राख्दछ’ । यो र यस्तै बुँदाहरूलाई ध्यानमा राखेरै होला, लेखकले भूमिकामा यदुनाथ खनाललाई ‘कूटनीतिमा कौटिल्य र किसिञ्जर दुवै बुझ्ने’ व्यक्तित्वको रूपमा चिनाएको पाइन्छ ।
यदुनाथ खनाल सन् १९७८ को अप्रिलमा राजदूत भएर चीनको राजधानी बेइजिङ पुग्दा चीनको साम्यवादी नेतृत्व माओ, चू तेह, चाउ एन–लाइ जस्ता क्रान्तिकारीहरूको देहावसान सँगसँगै अर्को पुस्तामा सर्दै थियो । देङ सियओ–पिङ चीनलाई राजनीतिक स्थायित्वको पृष्ठभूमिमा आर्थिक समुन्नतिको बाटोमा लैजाने तर्खरमा थिए । संयोग, खनाल चीनतर्फ प्रस्थान गर्नु केही दिनअघि मात्र उप–प्रधानमन्त्रीको हैसियतमा देङ नेपाल–भ्रमणमा आएका थिए । अर्को शब्दमा, खनाल त्यस्तो कालखण्डमा चीनमा नेपालका राजदूत हुनुभयो जुन बेला आजको उदीयमान चीनको निर्माणकार्यको आरम्भ गरिँदै थियो । चारवर्षको कार्यकाल सकेर मे १९८२ मा स्वदेश आउँदा खनाल नेपाल–चीन सम्बन्धले लय समातेको देखेर ‘पूर्ण सन्तुष्ट’ हुनुभएको थियो । सम्बन्धहरू घनीभूत हुने बाटोमा थिए ।
०००
प्रोफेसर खनाल सरकारी सेवामा छँदा उहाँको निकटता पाउने र निर्देशनमा रहेर काम गर्ने मानिस सयकडौंको संख्यामा भए हुनन् । परराष्ट्र मन्त्रालय र विदेशस्थित् नियोगमा कार्यरत कूटनीतिक कर्मचारी नै पनि दशौं दर्जन भए होलान् जो उहाँका सद्गुणबाट लाभान्वित भए होलान् । खनालको विद्वत्ता र परिपक्व विचारबाट प्रभावित हुनेमा विदेशी कूटनीतिज्ञहरू पनि भएकोमा सन्देह छैन । खनालसँगको सम्पर्कको क्रममा ज्ञानगुनका कुरा सिक्ने अवसर पाउनेमा पत्रकारहरू पनि थिए । यस हरफको लेखक त्यसमध्येको एक हो । २०४६ र ४७ को राजनीतिक परिवर्तनपछि प्रोफेसर खनाल सरकारको परराष्ट्र सल्लाहकार हुनुभयो । त्यस बखत उहाँमाथि कामको चाप धेरै थिएन । मैले उहाँको बाक्लो सामीप्य पाएको त्यसै बेलादेखि हो । उहाँले सरकारी कामबाट पूर्ण अवकाश लिएपछि सामीप्यको साथसाथै स्नेह पनि पाएँ, विश्वास पनि आर्जन गर्दै गएँ । नयाँ–पुराना सन्दर्भ र प्रसङ्गहरू सुन्ने, टिप्ने अवसर पाएँ । कुराकानी थालेपछि एक–दुई घण्टा बितेको हेक्कै हुँदैनथ्यो । भेट पनि हप्तामा कम्तीमा एकपल्ट त हुन्थ्यो–हुन्थ्यो । टिपोट गरेका कतिपय बुँदाहरू अनुकूल परेका बखत सविस्तार लेखौंला भन्ने छ । यतिखेर भने दुई–तीन विषयमा मात्र चञ्चु–प्रवेश गर्न उपयुक्त लागेको ठानेको छु ः
सोभियत सङ्घ अमेरिकाको एकमात्र प्रतिस्पर्धी विश्वशक्ति रहेका बखत काठमाडौँमा कार्यरत सोभियत राजदूतले एकदिन परराष्ट्र सचिव खनाललाई संयुक्त राष्ट्रसङ्घको महासचिव पदमा उम्मेदवार हुन प्रस्ताव गरे । राष्ट्रसङ्घ पश्चिमा प्रभावमा पर्दै गएको छ भन्ने लागेर त्यसको महासचिवमा गैर–युरोपेली कूटनीतिज्ञलाई राख्न सोभियत सरकार प्रयासरत रहँदै आएको थियो । (‘ट्रोइका’ को कुरा त निकिता ख्रुश्चेभले कोइरालालाई न्यूयोर्कमा भेट्दा नै गरेका थिए जसको उल्लेख ‘आत्मवृत्तान्त’मा पाइन्छ ।) जे होस्, सोभियत राजदूत सोच–विचारपछि जवाफ पाइने आशा लिएर दूतावास फर्के । यसबीच अमेरिकी राजदूत क्यारोल सी. लेस र खनालबीच भेट भयो । प्रसङ्ग चल्यो, लेसले खनालको विद्वत्ता र परिपक्वताको उच्च मूल्याङ्कन त गरिन् तर साथसाथै महासचिवको पद शक्तिराष्ट्र बीच शक्ति–सन्तुलनको मामिला समेत हुन जाने कुरातर्फ ध्यानाकृष्ट गर्न पनि चुकिनन् । सङ्ेकत सकारात्मक थिएन । तदनन्तर सोभियत राजदूतले सूचना पाए, खनालले पनि त्यस प्रस्तावबारे राजा महेन्द्रमा जाहेर गर्न आवश्यक ठान्नु भएन । जे भए तापनि, ‘विद्वान् सर्वत्र पूज्यते’ चाहिँ चरितार्थ भएछ ।
चीनमा आवासीय नेपाली राजदूतले गैर–आवासीयको हैसियतमा अन्य केही देशमा पनि नेपालको प्रतिनिधित्व गर्नुपथ्र्यो । उत्तर कोरिया त्यसमध्येको एक थियो जहाँ लामो समय किम ईल सुङको साम्यवादी शासन–व्यवस्था चल्यो । खनाल राजदूत छँदा नेपालका अधिराजकुमारद्वय ज्ञानेन्द्र र धीरेन्द्र उत्तर कोरिया जाने कार्यक्रम बनेछ । यात्राको थालनी बेइजिङबाट भयो र राजदूत खनाल सवारीसाथ रहनुभयो । १० दिनसम्म सँगसँगै रहे तापनि राजकुमारहरूको सहयात्रामा खास स्मरणीय कुरा केही सङ्कलन गर्न सकिएन । बरू त्यही कारण त्यो भ्रमण सम्झिनलायक हुन पुग्यो भन्ने महामहिम खनालको कथन थियो ।
सन् १९५३ मा त्रि–चन्द्र कलेजका प्रोफेसर यदुनाथ खनाल ‘बेलाइती शैक्षिक चिन्तन र व्यवहार’ विषयमा स्नातकोत्तर डिप्लोमाको पढाइको सिलसिलामा लण्डनमा हुनुहुन्थ्यो । जून महिनाको २ तारिखका दिन लण्डनको भीडमा मिसिएर महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक हेर्ने मौका पाएको सम्झना उहाँलाई पछिसम्म थियो । तर सगरमाथाको पहिलो आरोहणको समाचार केही ढिलाएर मात्र लण्डनमा प्रसार गरिनुको कारण भने खनाललाई निकै पछि मात्र थाहा भएछ । मे महिनाको २९ तारिखमै लर्ड हण्ट नेतृत्वको ब्रिटिश पर्वतारोहण टोलीका सदस्य एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पा सगरमाथाका प्रथम आरोही भएका थिए, तर त्यस बखतको सूचना प्रविधि अनुसार लण्डनमा जानकारी पुग्न केही समय लाग्यो । अनि लण्डन पुगिसकेको सूचना पनि तत्काल सार्वजनिक नगरीकन राज्याभिषेकको समय मिलाएर मात्र खुसीको खबर रूपमा जनताबीच प्रवाहित गरिएको थियो ।
वाशिङ्टनमा राजदूत भएर जानुभन्दा पहिले नै खनालले अमेरिकाको भ्रमण दुईचोटि गर्नुभएको थियो । पहिलो भ्रमण सन् १९५६ मा भयो– विश्वविद्यालय प्रशासन अध्ययन गर्ने टोलीमा सामेल भएर । जगतबहादुर बुढाथोकी र अमृतप्रसाद प्रधान टोलीका अन्य सदस्य थिए । त्यसबेला अमेरिकामा अश्वेत (काला जाति) प्रतिको भेदभाव हटिसकेको थिएन । रेलमा यात्रा गर्दा र अन्य कतिपय ठाउँमा अश्वेतहरूप्रतिको भेदभाव देख्दा हामी विस्मयमा परेका थियौं भन्ने खनालको भनाइ थियो । पछि, सन् १९७०–७१ मा हार्वर्ड विश्वविद्यालयको फेलो हुँदाको एकवर्ष भने परराष्ट्र मामिला विषयमा शोधपत्र लेख्दैमा बित्यो । त्यसताका पूर्वी पाकिस्तानमा चर्केको आन्दोलन भारतको सहयोगबाट सफल भएर बङ्गलादेश बनेरै छोड्ने उहाँको विश्लेषण थियो । त्यो सत्य साबित भएको देखेपछि कतिपय अमेरिकी विद्वान् उहाँको क्षमताबाट प्रभावित भएका थिए । र, न्यूयोर्क टाइम्समा स्तम्भ–लेखक हुने प्रस्ताव पनि आएको थियो । तर खनाल त्यसतर्फ लहसिनु भएन ।