रेखीराम राना
पाल्पा, फागुन ८ गते । जिल्लाको पूर्वखोला–४, देवीनगरमा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार बेलुकी चार बजेतिर देवीनगरस्थित बलीपोखरा खानीमा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक जना बालिकासहित दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पूर्वखोला–४, देवीनगरकी १३ वर्षिया पवित्रा सारु र ३६ वर्षिया मायादेवीसिं सारु रहनुभएको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि स्थानीय मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाको घर बनाउन सहयोगका लागि बालुवा खन्न गएका नौँ जनामध्ये पाँच जनालाई बालुवाको ढिस्कोले पुरेको थियो । बालुवाको ढिस्कोले पुएिका तीन जनाको खुट्टा मात्र पुरेकोले जीवितै उद्दार गरिएको र दुई जनालाई जीवित उद्दार गर्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । मृतक मायादेवी स्थानीय मातृभूमि मावि देविनगरको शिक्षक र पवित्रा सोही विद्यालयको कक्षा ८ मा अध्ययन्रत छात्रा हुन् ।