चाँदनी हमाल
जूनकीरीहरू रातमा रमाउँछन् । त्यसैले रात उनीहरूका लागि अलौकिक स्वर्ग जस्तै हो । घामकीरीहरु घाम उदाउनासाथ घामसँगै लुटुपुटु गर्छन् । त्यही घामको किरणलाई उनीहरू जीवनको मीत ठान्छन् । तर वनकीरीहरू रातमा पनि जागा बसेर रम्छन् । दिनको घाममा पनि उत्तिकै जीवन्त बन्छन् ।
माथिका दुबैथरी कीरीहरू प्राकृतिक रूपमै जीव प्रजातिका हुन् । तर वनकीरीहरू कुनै रात वा दिनमा मात्र रमाउने कीरा होइनन् । मानव प्रजातिभित्र पर्ने महिला वर्गका एक समूह हुन् । एक यस्तो वर्ग आफू, आफ्ना समुदाय, देश र विश्वकै फोक्सोमा प्राण भर्छन् । आकाश माथि रहेको प्वाल परेको ओजोनलाई सिलाउन वनकीरीहरूले अनेक मेहनत गरिरहेका हुन्छन् । विश्वकै जलवायु र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न नेपालको वनमार्फत् कार्वनको जोहो गर्छन् । धनाढ्य देशले फ्याँकेका कार्बनलाई बोटविरुवामा समाहित गरेर प्राणवायु अक्सिजनको अविरल प्रवाह गर्न सघाउँछन् ।
वनकीरीहरू मानवलाई मानव हुनुको अस्तित्व दिलाउने प्राणवायु प्रदान गर्ने हरिया रूखविरुवालाई आफ्नै सन्तान झैँ माया गर्छन् । तिनलाई एक पातेबाट हराभरा, भरिला अनि सग्लो बनाउन उनीहरू दिनरात नभनी सुरक्षा दिन्छन् । पातको पनि माया गर्छन् । डाँठको. पनि माया गर्छन् । जरालाई मुसारी मुसारी जीवन दिन्छन् । चोरी शिकारीबाट जोगाउन आफ्नो ज्यानको बाजी थापेर लड्छन् । सामुदायिक वनको संरक्षणमा जुटेका वनकीरीहरूको यो लडाइँको चर्चा नेपालमा मात्र होइन, विश्वमानचित्रमै अचेल चलिरहेको छ । उनीहरुको निजी जीवन पीडाविहीन छैन् । हण्डर ठक्करको कुनै लेखाजोखा पनि छैन् । तर संघर्षको एक पर्यायका रूपमा मानव हुनुको अर्थ सार्थक पार्न घरपरिवार, समाज र वन सबैतिरको गहु्रँगो जिम्मेवारी काँधमा लिएका छन् ।
सुदूरकी अग्नि नियन्त्रक पद्मा सुनार
दुई वर्षको दुधे उमेरमा कुनै छोरीमान्छेको विवाह हुन्छ भनेर अहिलेको समयमा पत्याउन सकिन्न । तर सुदूरपश्चिमकी पद्मा सुनारको दुई वर्षमै बिहे भयो । नौ वर्षको उमेरमा लोग्नेको घरखान पुग्नुभयो । एघार वर्षको उमेरमा उहाँको छोरा जन्म्यो । स्कुल जाने लोग्नेलाई स्कुलकै अर्की केटी खुब मन पर्याे । त्यसपछि उहाँ हेलामा पर्नुभयो । लोग्नेले स्कुलकी केटी बिहे गर्न नपाएकै कारण मानसिक सन्तुलन गुमाए । अलक्षिनी भनेर सासुले उहाँलाई घरबाट निकालिदिए । छोरा खोसे ।
आत्महत्या गर्न वनतिर गएका बेला वनमा तस्करले रूख काटिरहेको देख्नुभयो । आफ्नो जीवन त त्यस्तै भयो । यी रूखकै जीवन जोगाउन सकिन्छ कि भनेर उहाँ वडा अध्यक्षलाई भन्न पुग्नुभयो । तस्करहरु समातिए । त्यसपछि सुरुभयो उहाँको अर्को सङ्घर्ष । वन संरक्षणमै केही गर्नुपर्छ भनेर उहाँ स्वयंसेवक बन्नुभयो । कलकलाउँदो उमेरकी उहाँलाई पुरुषहरूबाट बच्न निकै गाह्रो भयो । तैपनि उहाँले सामुदायिक वन हेरालुका रूपमा काम सुरु गर्नुभयो । पछि अग्नि नियन्त्रक बनेपछि २०७५ सालमा वैतडा सामुदायिक वनमा लागेको आगो निभाउन उहाँले ज्यानकै बाजी लाउनुभयो ।
हेरालुु हुँदा तस्करसँग भिड्दा डर, धाक, धम्की र बलात्कारको पीडासम्म उहाँले भोग्नुभयो । उहाँले भन्नुभयो, “घर परिवार र सहाराबिहिन हुँदा बलात्कारमा पनि परेँ, प्रहरीले पनि त्यो बेला न्याय दिएन, फेरि आत्महत्या गर्न खोज्दा वनकै कर्मचारीले न्याय दिलाउने भनेर सघाए ।” अनुभवको पेटारो राजधानीमा उहाँले बिसाउँदै गर्दा सुन्नेहरू निःशब्द बने । हरेकका आँखा आँशुले भरिए । प्रमाण नहुँदा पीडक अझै खुला समाजमै छन् । तर वनको रखवारी गर्ने उहाँको यात्रा रोकिएको छैन् । ३५ वर्षे उमेरमा यतिबेला उहाँ प्राणवायु र हरियाली जोगाउँदै समाजमा हुने महिला हिंसा र विभेदविरुद्ध नाटक प्रदर्शन तथा सशक्तीकरण फैलाउने काममा सक्रिय हुनुहुन्छ ।
कर्णालीकी वन हेरालु खगिसरा खड्का
वन महिलाले काम गर्ने क्षेत्र होइन । यो उक्ति समाजमा कायम छ । तर सुर्खेत भेरीगङ्गाकी २८ वर्षीय खगिसरा खड्का यो पुरुष सोच विपरीत वन हेरालुको भूमिकामा प्रवेश गर्नुभयो । काम गर्नु त्यति सजिलो रहेन । उहाँ सुनाउहुन्छ, “पुरुषले काम गर्दा कहिल्यै बिलभर्पाई मागेनन् । मैले काम सुरु गरेपछि बिल भर्पाई माग्न थालेँ ।” इमानदारी महिलाको गहना हो । यसैबाट उहाँले त्यो कठिनाइ पनि पार गर्नुभयो । तीनहजार रुपियाँ तलबमा पनि उहाँले सामुदायिक वनको हेरालुसँगै श्रीकृष्ण सामुदायिक वनको सचिवको जिम्मेवारी निर्वाह गर्नुहुन्छ ।
वनजङ्गल, वन्यजन्तु, चराचुरुङ्गीको संरक्षण र प्रबद्र्धन, आगलागी नियन्त्रण, वृक्षरोपण, तस्कर पक्राउ जस्ता चुनौतीपूर्ण काम उहाँलाई सहज लाग्न थालेको छ । पहिले घरबाट बाहिर ननिस्कने उहाँ वन संरक्षणमा लागेपछि भने बाहिरको संसारको कुरा बुझ्न थालेको महसुस गर्नुहुन्छ । उहाँमा नेतृत्व क्षमताको विकास हुँदा गाउँका महिलाले पनि आय आर्जनमा अनेकन सुविधा पाएका छन् ।
लुम्बिनीकी नेचर गाइड मञ्जु महतारा
मञ्जु महताराको पहिचान बर्दियाकी हात्ती माहुतेकी छोरीमा सिमित थियो । २५ वर्षकी हुँदा उहाँले त्यो पहिचान बदलेर आफ्नो स्वयंको छुट्टै पहिचान बनाउनुभयो । उहाँ स्मरण गर्नुहुन्छ, “गाउँमा पर्यटक आउँदा र ठूला क्यामरा देख्दा लाजले घरभित्र लुक्थेँ, इको क्लबमा जोडिएपछि किशोर वयको त्यो लाज आफँै हरायो ।”
वन र वन्यजन्तुसँग सानैदेखि नजिक रहेर हुर्कनुभएकी महतारालाई तिनका आवाज गीत सङ्गीतभन्दा प्रिय लाग्छन् । त्यसैले तिनकै अवलोकन र खोजीमा हिँड्नुभयो । त्यही रहरले उहाँलाई नेचर गाइड बनायो । अँग्रेजी र अन्य भाषा नजान्दा पर्यटक सामु व्याख्या गर्न कठिनाइ भएका अनेकन क्षणलाई सिकाइमा परिणत गर्नुभयो । गाउँको साधारण स्कुलकी छात्रा भएपनि बचेको समयमा घर र क्लबमै बसेर भाषा सिक्नुभयो ।
पुरुष पर्यटक बोकेर जङ्गल जाँदा असुरक्षित हुन्छ भन्ने विवादले उहाँको काममा केही समय भाँजो हाल्यो । तर शारीरिक परिश्रमले बनेको गठिलोे शरीर र आत्मिक बलसँगै बुद्धिमत्तापूर्ण सुझबुझले साथ दियो । पर्यटकसँग रम्दै नयाँ नयाँ जीव र पशुपक्षी देखाउन सक्रिय रहनुभयो । जङ्गलसँग नजिक रहेकाले त्यहाँ हुने चोरीशिकारी र तस्करको गतिविधिबारे निकुञ्ज र सुरक्षाकर्मीलाई खबर गरेर संरक्षणमा टेवा दिनुभएको छ । नेचर गाइडकै अनुभवनले धेरै विदेशी डकुमेन्ट्रीमा काम गर्ने अवसर पनि पाउनु भएको छ ।
गण्डकी प्रदेशकी फरेस्टर लक्ष्मी बानियाँ
फरेस्टरको काम पुरुषकै लागि पनि चुनौतीपूर्ण छ । महिलाका लागि नहुने कुरै भएन । तर फरेस्टरमा नाम निकालेर वन र प्राकृतिक स्रोत संरक्षणमा लाग्ने लक्ष्मी बानियाँको सङ्घर्ष निकै घत लाग्दो छ । कम पढेलेखेको भएपनि वन संरक्षण र सामुदायिक क्रियाकलापबाट अघि बढ्नुभयो । तालिमको अनुभवको आधारमै उहाँले फरेस्टर पदमा लोकसेवाको परीक्षा पास गर्नुभयो । अनि बन्नुभयो गाउँकी फरेस्टर । पहिले गाउँमा प्रौढ शिक्षा पढाउने, किशोरी शिक्षा बढाउने गरेको अनुभवले पनि उहाँलाई सघायो । डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत उहाँ संरक्षण, प्राकृतिक स्रोतको समान वितरण तथा वन ऐन नियमावली अनुसार सबैलाई काम गराउनसक्ने क्षमता राख्नुहुन्छ । वनको सेरोफेरोमा रहेर लक्षित वर्ग महिला, विपन्न, दलित र परम्परागत पेशामा रहेकाको पहिचान र आयआर्जन वृद्धिमा सामुदायिक वनलाई प्राथमिकता दिएर काम गरिरहनु भएको छ ।
वाग्मती प्रदेशकी वन हेरालु जमुना पौडेल
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको वनदेवी सामुदायिक वनको रेखदेख गर्नु जमुना पौडेललाई आफ्नै सन्तानको रेखदेख गर्नु झैँ लाग्छ । २०६५ सालदेखि वन र वन्यजन्तु संरक्षणमा लाग्नु भएकी पौडेललाई एक्लै वनगस्ती गर्न निकै मनपर्छ । वनगस्ती गर्दा चोरी, तस्करी, एकसिंगे गैँडा, बँदेलजस्ता हिंस्रक वन्यजन्तुसँग जम्काभेट हुँदा तिनलाई हानि नपु¥याई जोगिने कला सिक्नु भएको छ । उहाँ सम्झनुहुन्छ, “उतिबेला चोरीशिकारी धेरै हुन्थ्यो, ज्यान जोगाउनै गाह्रो, अवैध माछा मार्ने, दाउरा काट्ने र शिकार गर्नेलाई समाउन हम्मे हम्मे पथ्र्यो ।” त्यो बेलाको तुलनामा अहिले चोरीशिकार कम हुन्छ ।
उहाँ जस्तै वन संरक्षणकर्मीका कारण समुदायले पनि वन संरक्षण भन्ने बुझ्न थालेको छ । वनको दिगो उपयोग गरेर पुस्तौँपुस्तासम्म पु¥याउनुपर्छ भन्ने चेत पलाउँदै गएको छ । नत्र पहिले महिला भएर केको वनको गस्ती गर्ने भनेर समाजकै मानिसले उल्याउँथे । बाहिर निस्केर समुदायको काम गर्दा मानिस र समाज बुझ्ने अवसरले जीवनका कठिनाइ समाधान गर्ने मेसो पनि उहाँलाई मिलेको छ ।
प्रदेश २ की चोरी शिकार नियन्त्रक सपिका मगर
नेपाल–भारत सीमावर्ती जिल्ला पर्साको निर्मलठोरी मध्यवर्ती सामुदायिक वनको चोरी शिकार नियन्त्रण इकाइ संयोजक हुनुहुन्छ ३१ वार्षिया सपिका मगर । सशस्त्र द्वन्द्वको समयमा मध्यवर्ती क्षेत्रको जङ्गल निकै विनास भयो । त्यही भएर शान्ति संरक्षण अभियान गाउँमा सुरु भएको थियो । भर्खरका पढेलेखेका युवा संरक्षणमा लागेको देख्दा उहाँमा पनि रहर पलायो । तर दुई जनाको अघि खुलेर बोल्न नसक्ने आफूले केही गरिहालुँला भन्ने उहाँलाई लागेन । हरियो वन कार्यक्रमले गाउँमा सिकाइ कार्यक्रम ल्याएपछि उहाँलाई खुल्न सघायो । सामुदायिक वनमा हुने चोरीशिकार विरुद्ध युवा जागरण अभियान गठन गरेर संरक्षणमा पाइला चाल्नुभयो । सीमाक्षेत्रको वन जोगाउन अन्यत्रको जस्तो एकतर्फी सुरक्षाले पुग्दैन । नेपाल र भारत दुबैतिरबाट कतिखेर तस्करको समूह पस्छ पत्तै हुन्न । दिनरात नभनी गस्तीगरिरहेका बेला जम्काभेट भएको तस्कर समूहले मार्ने धम्की दियो । उहाँले त्यो दिन स्मरण गर्नुभयो, “मलाई मार्छौ भने मार तर रूख, दाउरा केही काट्न दिन्न, वन्यजन्तु मार्न पनि दिन्न, मारेपछि मेरो लास नेपाल नपठाउनु जहाँ मार्छौ त्यहीँ गाड्नु, भनेँ ।”
सीमा क्षेत्रका बासिन्दा भारतीय बजारमा खाद्यान्न, नुन तरकारीमा निर्भर रहनुपर्छ । त्यसैले वन क्षेत्रमा विवाद जन्मेको खण्डमा नेपालबाट भारत जान कठिन हुन्छ । तथापि आफ्नो गाँसको चिन्ता नगरी उहाँकै नेतृत्वमा वन जोगाउनेहरू सक्रिय रहेर काम गर्छन् । अहिले मासिएको वनका पोथ्रा हुर्केर त्यहाँ बँदेल, चित्तल, मयुरजस्ता वन्यजन्तु र पक्षी देखिन थालेका छन् । उजाड हुँदै गएको वनको रौनक फर्किएको छ । मध्यवर्तीमा झाँगिदै गएको हरियालीले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जका दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ लगायतका वन्यजन्तुको सुरक्षामा टेवा पुगेको छ ।
प्रदेश १ की जानुका भुजेल
उमेरले जानुका भुजेल ६२ वर्ष पुग्नुभयो । उमेरको यो सिँढी आराम गर्ने, मिठोमसिनो खाने अनि नातिनातिना खेलाउने हो भनिन्छ । तर जानुका भुजेल यो उमेरमा पनि हरियो पहिरनमा वेतका लौरा बोकेर वन तस्कर समाउन जङ्गल पस्नुहुन्छ । उहाँ मोरङस्थित जनसेवा सामुदायिक वनमा २०६५ सालदेखि नै वन हेरालु हुनुहुन्छ । वनमा चोरी शिकार र रूख कटानमा आउने समूहमा महिला पनि भेटिन्छन् । महिलालाई कारबाही गर्नुपर्दा महिलाको आवश्यकता खट्किएकाले उहाँजस्ता महिलालाई वनहेरालु बनाइएको थियो । तर धेरै पुरुष समुहसँग उहाँले पौँठेजोरी खेल्नुभएको छ । कोभिडको समयमा समेत आराम नगरी वनको रक्षार्थ खटिएको स्मरण उहाँ गर्नुहुन्छ । सातै प्रदेशका सात वनकीरी महिलाले आगामी दिनमा अझ सक्रिय हुँदै नेपालको वनक्षेत्रमा नमुना काम गर्ने उद्घोष गर्नुभयो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतका सङ्घसंस्थाले उहाँहरुको कामलाई पहिचान दिँदै संयुक्त रूपमा सम्मानित गर्याे । यसरी देशकै राजधानीमा सम्मानित हुन पाउँदा सबैले गर्विलो अनुभूति पनि सँगाले । ■