प्रेम अधिकारी
पशुपतिनगर(इलाम) चैत्र १२ गते । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दिपक)ले आज नागरिकता पाउनुहुने भएको छ ।
४० वर्ष भारतको कोल्कोतामा जेल जीवन भोगेर हालै घर आइपुग्नुभएका दुर्गाप्रसाद तिम्सिना (दीपक)ले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिने हुनुभएको हो ।
२०१७ साल साउन २० गते जन्मनुभएका तिम्सिनाको जन्म दर्ता, नागरिकता अहिलेसम्म थिएन । तिम्सिनाको उपचारलगायत अन्य प्रक्रियाका लागि नागरिकता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाउन लागिएको हो ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो (बुधबार)नै दुर्गाप्रसादको नागरिकता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको छ ।
जन्मदर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा विवरण राखी तीन जनाको नाता प्रमाणित र नागरिकताका लागि सिफारिस पत्र तयार पारिएको दर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिनुभयो । भाइ प्रकाशचन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ । भारतमा जेल बस्दा दीपक जैसी नामले चिनिए पनि उहाँको नागरिकता दुर्गाप्रसाद तिम्सिनाकै नामबाट बनाउन लागिएको छ ।
प्रदेश १ सरकारले दुर्गाप्रसादको उपचारमा लाग्ने सबै खर्च ब्यर्होने भएपछि नागरिकतासमेत आवश्यक पर्ने भएकाले नेपाली नागरिकताको प्रमाण पत्र दिएर अन्य प्रक्रिया शुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘प्रदेश सरकारको निर्देशन अनुसार नागरिकता बनाएर उहाँहरुले इच्छाएको अस्पतालमा उपचारका लागि लाने तयारी छ ।’
प्रजिअ खडकाले मंगलबार नै तिम्सिनाको घरमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी गएर आवश्यक समन्वय भैसकेको जानकारी दिनुभएको छ ।
आज नागरिकता बनाएपछि तत्काल तिम्सिनालाई उपचारका लागि लगिने प्रजिअ खड्काले जानकारी दिनु भयो ।
भतिज गोपालले दुईवटा नाम भएका कारण केही समस्या हुन्छ कि भन्ने आशंका रहेको बताउनुभयो । भतिज गोपालका अनुसार बिहीबार नै दुर्गाप्रसादका नाममा बैङ खातासमेत खोलिनेछ । परिवारले दुर्गाप्रसादको जीविकोपार्जनका लागि केही सहयोग जुट्नेसमेत अपेक्षा रहेको जनाएको छ ।
के छ त दुर्गाप्रसादको अवस्था ?
केही दिन अघि जेलमुक्त भई घर आउनुभएका दुर्गाप्रसाद बिस्तारै घरपरिवार आफन्तसँग घुलमिल हुन थाल्नुभएको छ ।
घर आउँदा टोलाएर मात्र बस्ने तिम्सिना बिस्तारै बोल्ने, खुलेर आफना कुरा भन्ने जस्ता कार्य गर्न थाल्न भएको छ । भतिज गोपालका अनुसार उहाँको धेरै समय गीत गाएर बित्छ । गोपाल भन्नुहुन्छ ‘ठूलो बुवाले गीत गाएको सुन्दा मलाई नै रुन मन लाग्छ ।’ ‘बिरक्तिएका गीत मात्र गाउनुहुन्छ ’ गोपाले भन्नुभयो ।
दुर्गाप्रसादले आफूलाई पेट दुख्ने, टाउको दुख्ने,आँखा दुख्ने, ढाड दुख्ने र दिमागमा समेत समस्या रहेको बताउनुभएको भतिज गोपालले जानकारी दिनुभयो ।
सानै उमेरमा भारतको दार्जिलिङ गएपछि सन १९८१ मा हत्या अभियोगमा उहा दार्जिलिङ जेल पर्नुभएको थियो । त्यसपछि २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता जेल लगिएको थियो ।
दीपक जैसी नामले चिनिने तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० बर्ष बस्नुभएको थियो ।
इलामको एकतप्पाबाट २०३७ सालको अन्तिमतिर कामको खोजीमा दार्जिलिङ जानुभएको थियो । सामान्य लेखपढ भएका उहाँ घरायसी गर्जो टार्नका लागि कामको खोजीमा त्यहाँ पुग्नुभएको परिवारको दावी छ ।
सन १९८० मे ११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो । दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अरोपमा जाहेरी दिएपछि भारतीय प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ले पठाएको पत्र घरमा आएको थियो । उक्त चिठीको व्यहोराअनुसार खोजतलास प्रक्रिया शुरु भएको थियो ।