शेरबहादुर सार्की
बाजुरा चैत १२ गते ।
भोट्या बाइगो लुरीखाँद धजा लाइगो फिर्का ।
बीचमा भरदुनि बग्दो मै पानीकी तीर्खा ... ।
माथि उल्लेखित देउडा गीत बाजुराको पूर्वीउत्तरी क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदाय चिसो मौसममा औलतिर बसोबास गर्ने र वर्षामा लाग्ने बित्तिकै आफ्नै ठाउँमा फर्किने समयमा औल तिरका मानिसले उनीहरुको जीवन पद्धतिमा मेल खाने गरी गाइने गरेको देउडा गीत हो ।
जिल्लाको पूर्वि उत्तरी क्षेत्रमा बसोवास गर्र्दै आएका भोटे समुदायहरु चिसो भएसँगै भेडाबाख्राका सँगै बालबच्चा र भोटे कुकुरसमेत लिएर हिउँदे बसाँइका लागि औल तिर झर्ने र तातो भएसँगै आफ्नै गाउँतिर लाग्ने समयमा घरजाने साइत राम्रो होस भनेर आफ्नो देउतालाई रुखमा चढाएको धजा (एक किसिमको देउतालाई चढाउने सेतो कपडा) वा आलम रुखको टुप्पामा झुण्डाइएको अवस्थालाई समेटेर औलतिरका मानिसले यस्तो गीत गाउने गरेका हुन् ।
हिउँद लाग्ने बित्तिकै जिल्लाका पूर्वी उत्तरी क्षेत्र कोल्टी पाण्डुसैन बसोबास गर्दै आएका भोटे समुदाय जिविकोपार्जनका लागि भेडाबाख्रा लिएर औलतिर झरेको छ महिनापछि आफ्नै घर फर्किन थालेका छन् ।
औलतिर चिसोको समयमा भेडाबाख्रा,चौँरी, घोडालाई चरन टिपन तथा पालन पोषण गर्न सजिलो हुने भएपछि उनीहरु अछाम, बझाङ् डोटी लगायतका विभिन्न ठाउँमा हिउँदे बसाँइ गर्दछन् ।
कात्तिकदेखि औँलतिर झर्दै गरेका भोटे समुदायलाई यतिबेला चैतको पहिलो सातादेखि पुन लेकतिर फर्किन थालेका छन् ।
बारबीस, जयवाग्यश्वरी, काँडा,अछाम लगायतका ठाउँबाट चिसो छेल्दै अहिले भेडाबाख्रा, घोडा,चौँरीगाईका साथै बालबालिका लिएर पुन घरमा जाँदै गरेको भेडापालक तेज रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, हामी बस्दै आएको ठाउँमा हिउँदमा धेरै चिसो हुने भएकोले चिसो छल्न औल तिर झरेका हौ ,अहिले गर्मी सुरु हुन थालेपछि फेरी गाउँमै जान थालेको हो ।
कात्तिकदेखि फागुन महिनामा औलमा अलि तातो हुनेभएकोले भेडाबाख्रालाई चरन टिपन गर्न सहज हुने हुँदा भेडाबाख्राका साथ बालबालिका ल्याएर कात्तिक बेसी झर्ने र चैतमा पुनःआफ्नै ठाउँमा जाने गरेको बुढीनन्दा नगरपालिका ६ पाण्डुसैनका सोनाम गुरुङ्गले बताउनुभयो ।
उहाँले भन्नुभयो, पहिला भेडापाठाबाट चामल दैनिक उपभोग्यका सामान चामल,नुन् तेल गाँउ गाँउमा लिएर बिक्री वितरण गथ्र्यौ त्यसबाट कमाइ पनि राम्रो हुन्थ्यो, अहिले गाँउ,गाँउमा गाडी गुड्न थालेपछि व्यापार गर्न निकै समस्या भयो ।
क्याप्सन ः बूढीनन्दा नगरपालिका ६ का स्थानीय भेडापालक तेज रोकाया भेडार बालबच्चा सहित लिएर गाउँ फर्किदै ।