अमृतप्रसाद पौडेल
बेनी, चैत १३ गते । कहीँ कतै हिमाली ट्रक त कतै कच्चीको ट्याक्टर भनेर चिनिने खच्चडहरु यातायातको साधन र सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । सडक सञ्जाल नहुँदा साँघुरो सडकमा दुइतिर ठुलाठुला बोरा बोकेर घण्टी बजाउँदै गाउँ घरसम्म पुग्ने खच्चड अहिले देखिनै मुश्किल छ । हिमाली जिल्ला म्याग्दी भौगोलिक हिसाबले पनि दुर्गम नै छ । पछिल्लो समय सडक सञ्जालले म्याग्दीमा गाउँगाउँ उपस्थिति जनाउँदै गर्दा खच्चड भने हराउँदै गएका छन् ।
बि.सं. २०५० को दशकमा म्याग्दी सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरबाङ बजारबाट गाउँगाउँका सामान ढुवानी गर्ने खच्चर व्यवसायी यायातायातको साधन गाउँगाउँमा पुगेपछि विस्थापित प्रायः भएका छन् । त्यसबेला ढुवानीका लागि उत्कृष्ट अनि भरपर्दो माध्यम भए पनि सवारी साधनहरुको प्रयोग र गाडी गुड्ने सडक बने पछि खच्चडमा ढुवानी गर्दा महँगो पर्दा खच्चड विस्थापित हुन थालेका हुन् ।
मंगला गाउँपालिका–१ पूर्णगाउँका सूर्य तिवारीले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवासय गर्नु भयो तर पछि सडक सञ्जाल विस्तार सँगै ढुवानीका लागि माग कम हुँन थालेपछि त्यो क्षेत्र छाडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘अहिले पनि जब खच्चड देख्छु आफ्नो बिगत याद आउँछ, किनकि मलाइ व्यवसायमा लाग्ने र व्यावसायिक बनाउनका लागि खच्चडले नै पहिला भूमिका खेलेको थियो ।’ हाल आएर कुखुरापालन व्यवसायमा सक्रिय तिवारी म्याग्दी सदरमुकाम बेनी नजिकै लामाखेतमा मासु पसलका साथै दाना चल्ला लगायतका पोल्ट्रीजन्य बस्तुको कारोवारमा हुनुहुन्छ ।
“पहिला पहिला बेनी, दरबाङबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो आइसके पछि ढुवानीसमेत पाँउदैन, सबै ट्क्याक्टर, जीपले नै घरघरमा सामान पु¥याउँछ । यसले गर्दा खच्चड पाल्न समेत धौ धौ भएको छ”, धौवलागिरी गाउँपालिका–२ लुलाङका खच्चड व्यवसायी लोकेश श्रीपालीले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘अहिले गाउँमा नै घाँस दाउरा काट्ने त्यही खच्चडलाइ बोकाउने, मोटर बाटो नपुगेको ठाउँमा घर बनाउन लागेको छ भने ढुङ्गा बोकाउने काम गरिरहेको छु ।’
सस्तो र छिटो हुने भए पछि गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेपछि खच्चड विस्थापन बाहेक अरु बिकल्प देखिएको छैन । खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन, कहाँ जाने के गर्ने यतिन्जेल पालेको खच्चडको माया लाग्छ, गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं अर्का खच्चर व्यवसायी अमृत श्रीपालीले बताउनुभयो ।
मुलुकम संघीय व्यवस्था लागू भएसँगै अस्तित्वमा आएका स्थानीय सरकारहरुको प्रमुख उद्देश्य नै अहिले गाउँ गाउँमा सडक सञ्जाल पु¥याउनु हो । म्याग्दी जिल्लाको विकट क्षेत्र मानिने धवलागिरी गाउँपालिका–१ गुर्जा बाहेक अन्य सबै वडाहरुमा सडक सञ्जालले कहीँ कतै छोएको छ । सडक सञ्जालको पँहुच पुगेका क्षेत्रमा खच्चडको प्रयोग नहुने हुँदा खच्चड व्यवसायबाट जीविकोपार्जन गर्नेहरु नै अहिले विस्थापित भएका छन् ।
पश्चिम म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीका वीरेन्द्रमान शाक्य पनि पहिला खच्चडमै ढुवानी गरेर व्यवसाय सञ्चालन गर्ने गरेको भए पनि अहिले आएर गाडीमै ढुवानी गर्ने गर्नुहुन्छ । सदरमुकाम बेनी बाट १३ किलोमिटरको दूरीमा रहेको तातोपानीका प्रतिष्ठित ब्यापारी शाक्य भन्नुहुन्छ सामान बोकेर हिडेको खच्चड नदेखेको पनि धेरै भयो । पुरानो समयको निकै महत्वपूर्ण ढुवानीको साधन खच्चड अहिले आएर एकादेशको कथा जस्तै बनेको शाक्यको कथन छ । शाक्यले आफ्नो ब्यापार ब्यवासय सञ्चालन गर्नका लागि २४ वटा खच्चड पाल्नुभएको थियो । सडक सञ्जाल विस्तार हुँदै गएपछि खच्चडको ब्यवसाय खुम्चिदै गएपछि २०७० मा शाक्यले आफ्ना २४ वटै खच्चड बिक्री गरेको सुनाउनुभयो ।
पश्चिम म्याग्दीको धारपानीको धनबहादुर थापा, बाबियाचौरका विनोद भट्टचन, कुहुँका भीमधिधि तिवारीका खच्चडले म्याग्दीको पश्चिम भेकमा ढुवानीको काम बढी गर्ने गर्थे । उत्तरी भेकमा भने म्याग्दीसँगै मुस्ताङका व्यवसायीको खच्चडले सामान ढुवानीको काम गर्दथे ।