सहदेव बस्नेत
जाजरकोट, चैत १३ गते । जाजरकोट प्रहरीले जिल्लाको नलगाड नगरपालिका – ६ गर्छिना गाउँमा लगाइएको अबैध लागु औषध अफिम खेतीको नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीबाट गएको प्रहरीले २० रोपनी पाखोबारीमा लगाएको अफिम खेतीको नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रमुख शरद पाण्डेले दुर्गम गाउँमा अफिम खेती गर्ने गरेको विशेष सुचनाका आधारमा प्रहरीले उक्त खेती नष्ट गरेको पाण्डेले बताउनु भयो । धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेको पाण्डेले बताउनु भयो ।
दुर्गम स्थानमा यसको अबैध खेती फष्टाएको प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताउनुभयो । थोरै लगानीमा धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेतीबाली लगाउन छाडेर यो खेती गर्ने गरेको पाइएको थापाको को भनाइ छ । लागु औषध कारोबारीले एक किलो अफिमको बारीमै ७० हजार मूल्य दिने गरेको प्रहरीले सूचना पाएको बताइएको छ
असोजमा यसको खेती हुने र बैशाख जेठमा निकाल्ने गरिएको छ । अफिमबाट सामान्य व्यक्तिले पनि एक लाखदेखि पाँच लाखसम्म आम्दानी हुने भएपछि खेती लगाउने बढेका हुन् । एक रोपनी पाखोमा लगाएको खेतीबाट एकदेखि दुई किलोसम्म अफिम उत्पादन हुने गरेको पाइएको छ।
नलगाड नगरपालिका २ को नहकुली लेक र द्धावारेको लेक तथा गाउँमा यसको खेती मौलाएको छ । त्यसैगरी १३ को सिउन, रुप, खाती गुर्ता, फुम्दा, १० रावत गाउँ, ध्यारगाउँ, ९ को बाँसकोट, ताँत्र, घरंगा, ८ को मुकसेरी लगाएतका क्षेत्रमा खेती व्यावसायिक खेती हुने गरेको प्रहरीले जनाएको छ ।
गतवर्ष प्रहरीले नलगाड नगरपालिकाको विभिन्न क्षेत्रमा लगाएको अफिम खेतीको नष्ट गरेको थियो । यो बर्ष पनि ती स्थानमा अफिम खेती गरीएको छ । विकट क्षेत्र भएकोले नियन्त्रण गर्न चुनौती रहेको प्रहरीले जनाएको छ ।
जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापा स्थानीय बासिन्दासँग लागुऔषध उत्पादन, विक्री वितरण, सेवनको असर र कानुनी ब्यवस्थासम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम सञ्चालन गर्न थालेको बताउनुहुन्छ ।