लक्ष्मीप्रसाद उपाध्याय
खोरसोर (सौराहा), चैत १४ गते । हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाका मत्ता ध्रुबे हात्ती बिरामी परेपछि पोथी ( ढोई) हात्ती रमाउन छाडेका छन् ।
विगत डेढ महिनादेखि मत्ता ध्रुबे हात्तीसँग रमाइरहेका यहाँका ढोईहरु ध्रुबे बिरामी परेर हात्तीसार आउन छाडेपछि रमाउन छाडेका हुन् । हात्तीका माउते कृष्ण दुनुवारका अनुसार ध्रुबे बिरामी परेर खोरसोरस्थितको हात्तीसार छेउछाउ आउन छाडेपछि ढोईहरु बेसरी कराउने गरेका छन् । कराएर ध्रुबेलाई बोलाउँछन्, सुँडले माटो कोपार्छन् । तर पनि मत्ता हात्ती ध्रुबे धेरै दिन भयो हात्तीसारको छेउछाउ आउन सकेको छैन ।
हाल नेपालमा एकसिँगे गैँडाको राष्ट्रिय गणना भइरहेको छ । हात्तीको प्रयोग गरेर सो गणना गरिदैछ । चितवनमा रहेका ३५ वटा हात्तीले गणनाको काममा नपुग्ने भएपछि छिमेकी पर्सा राष्ट्रिय निकुञ्जबाट पाँच वटा हात्ती काजमा झिकाइएको छ । तर चितवनकै खोरसोरमा १० वटा ढोई हात्ती हुँदा हुँदै पनि अर्काे निकुञ्जबाट हात्ती काजमा झिकाइएको हो । यो केन्द्रमा रहेका केही हात्ती गर्भिणी छन् भने केही हात्तीले बच्चा पाएका छन् । बच्चाको स्याहारमा जुटेका ढोई पनि मात्तेको ध्रुबे हात्तीसँग रमाउन नपाएर एक्लो अनुभव गरिरहेका माउते दुनुवारले बताउनुभयो ।
हाल खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा दुई वटा बुढी ढोई, तीन वटा गर्भवती र छ वटा हात्ती बच्चा स्याहारेर बसेका छन् । बच्चा जन्माएर बुढो भइसकेका हात्तीले जंगलमा दिनभरी हिड्न नसक्ने भएकाले बुढो ढोइलाई गैँडा गणनामा प्रयोग नगरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणराज बरालले जानकारी दिनुभयो ।
त्यसैगरी तीन वटा गर्भवती ढोई पनि लामो समय हिड्डुल गर्न नसक्ने अवस्थामा छन् । केन्द्रमा रहेका नारायणी कली २१ महिना पूरा भएर २२ औँ महिनामा लागेकी छिन् । हात्तीले २२ देखि २४ महिनामा बच्चा जन्माउँछन् ।
केन्द्रका दरौका राजेन्द्र पनोहारका अनुसार गर्भधारण गरेको २० महिनापछि ढोइले जंगल घुम्न सक्दैन र आफ्नो लागि घाँस पनि ल्याउन सक्दैन । त्यसैले त्यस्तो बेला हात्तीसार नजिकै छेउछाउमा घुमाउने, डुलाउने मात्र गरिन्छ ।
हात्तीका विषयमा विद्याबारिधि गरिरहनुभएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोककुमार रामका अनुसार गर्भधारण गरेको हात्तीलाई भारी बोकाउने र लामो समयसम्म हिडाउने गर्दा गर्भ तुहिन सक्ने डर हुने भएकाले यस्तो संम्वेदनशीलतालाई हेर्नुपर्ने बताउनुहुन्छ ।
बच्चा हुर्कारहेको ढोईलाई पनि जंगलमा लामो समयसम्म हिडाउँदा बच्चालाई चुनौती थपिने भएकाले हात्तीसारमा नै राख्नुपर्ने उहाँको धारणा छ । हात्तीसारमा रहेका कर्नालीकलीसँग मनप्रसाद नाम गरेको दुई वर्षको बच्चा, कोशीकलीसँग डेढ वर्षको बच्चा, तमोरकली र हिमालीकलीसँग एक÷एक वर्षको बच्चा छ । तमोरकली र हिमालीकलीको यी पहिलो बच्चा हुन् ।
बच्चा हुर्काइ रहेका बेला भए पनि भाले हात्तीसँग भने ढोई रमाउने गर्छन् । जंगलमा घुम्न पनि नपाइने र हात्तीसारमा कुञ्जिनु पर्ने बेला मत्ता हात्तीसँगको नजिकपनले हात्तीले अनौठो व्यवहार देखाउने गरेको माउते दुनुवारले बताउनुभयो ।
खास गरेर हात्ती प्रजनन केन्द्र वरिपरि बस्ने रोनाल्डो र ध्रुबे हात्ती यो पटक आउन सकेका छैनन् । रोनाल्डो घाइते भएको छ भने ध्रुबे बिरामीले थला परेको छ । यस पटक ध्रुबे हात्तीले हात्तीसार रुग्न थालेपछि रोनाल्डो टाढा टाढा भाग्दै हिडेको छ । ढोई हात्तीसँग रमाउन हात्तीसार नजिकै आउँदा रोनाल्डो र ध्रुबेका बीच झकडा हुने गरेको छ । यस पटक भने रोनाल्डो कमजोर भएर ध्रुबेसँग लड्न नआएको कुरा माउते दुनुवारले बताउनुभयो ।