गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । आज ०७७ सालको अन्तिम दिन । नेपाली क्यालेन्डर अर्थात विक्रम संवत् २०७७ मंगलबारदेखि बिदा हुँदैछ भने बुधबारदेखि ०७८ साल शुरु हुँदैछ ।
यो वर्ष नेपालमा विभिन्न घटना, दुर्घटना, अपराध, विकास तथा विस्तारका कामहरु भए । बिदा हुँदै गरेको वर्ष २०७७ मा देशमा केही बिर्सनलायक घटना भए । राजनीतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए । मुलुकको राजनीतिले यस वर्ष धेरै उतारचढावको सामना गर्नुपर्यो । प्रतिनिधिसभ र सत्तारुढ दल नेकपा विघटनका घटना यसै वर्ष भयो ।
प्रतिनिधिसभा विघटन
यो वर्ष मुलुकको राजनीतिमा सबैभन्दा ठूलो घटना प्रतिनिधिसभा विघटन, त्यसविरुद्ध प्रमुख प्रतिपक्ष दलद्वारा आन्दोलन र सर्वोच्च अदालतद्वारा पुनर्स्थापना हो । संसद विघटनले नेपालको राजनीतिमा धेरै उथलपुथल ल्यायो । विघटनको पक्ष र विपक्षमा विभिन्न राजनीतिक दलले सडकमा शक्ति प्रदर्शन समेत गरे । यो घटनाले नेपालको राजनीतिमा महत्वपूर्ण रहने छ ।
सत्तारुढ दल नेकपा विभाजन : नेकपा एमाले र माओवादी पुनर्स्थापना
२०७५ जेठ ३ मा दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २३ फागुन २०७७ मा पुनः दुई समूहमा विभाजन भयो । प्रधानमन्त्री एवं तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्नुभएपछि तत्कालीन नेकपा तीन ध्रुवीकरणमा देखियो । नेकपा ओली, दाहाल–नेपाल र वामदेव गौतम तीन समूहमा विभाजन हुन पुग्यो ।
सर्वोच्च अदालतले नेपाल कमयुनिष्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि ०७५ जेठमा पार्टी एकीकरण गरेको नेकपा एमाले र माओवादी केन्द्र विधिवत् रुपमा अलग्गिए । सर्वोच्चको फैसलापछि नेपालको राजनीतिक नयाँ मोडमा प्रवेश गरेको छ ।
अन्यौलमै बित्यो नेपाली काँग्रेस ०७७ साल
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको ०७७ साल अन्यौलमै बित्यो । काँग्रेसले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आफ्नो १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, तोकिएको समयमा महाधिवेशन गर्न सकेन ।
विषम परिस्थिति देखाउँदै काँग्रेसले ०७८ सालको भदौ ७ देखि १० गते १४ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ । कोरोना महामारी र पार्टीको आन्तरिक विवादका कारण काँग्रेसले भदौका लागि महाधिवेशन सारिएको छ । उक्त तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । यसका लागि काँग्रेसले तीव्र तयारी गरिरहेको छ ।
अर्को तर्फ पार्टीभित्रको चरम गुटबन्दी र संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको काँग्रेसले आफूलाई कमजोर प्रतिपक्षका रुपमा ०७७ सालमा उभ्यायो । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा होस् वा संसद विघटविरुद्धको आन्दोलनमा होस् काँग्रेसले प्रतिपक्षी भूमिका प्रभावकारी हुनसकेन ।
राजपा र समाजवादी पार्टीबीच एकता
२०७७ सालको प्रारम्भमा मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी आध्यादेश ल्याउनुभएपछि रातारात राजपा र समाजवादी पार्टीबीच एकता भयो । दुई दलबीच पार्टीको झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने निर्णयसँगै जनता समाजवादी पार्टी दलको उदय भयो भने जसपा चौथो शक्तिको रुपमा स्थापित हुन पुग्यो ।
अहिले जसपा केन्द्रदेखि प्रदेशमा निर्णायक शक्तिका रुपमा उभिएको छ भने प्रदेश २ मा जसपको सरकार रहेको छ । तर, ०७७ सालको अन्तसम्म आइपुग्दा जसपा दुई धारमा विभाजनको संघारमा देखिएको छ ।
शान्तिपूर्ण राजनीतिमा विप्लव
विध्वंस गतिविधिमा सक्रिय नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ ।
०७७ सालको अन्तिम अर्थात् २१ फागुनमा विप्लवले सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा पाइला टेके । सरकारले २८ फागुन ०७५ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएको दुई वर्षपछि सरकारले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भयो ।
राजावादीहरुको देशव्यापी प्रदर्शन
प्रमुख राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा राजावादीहरुले देशव्यापी प्रदर्शन सुरु गरे । वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रुपमा शृङ्खलाबद्ध प्रदर्शनमा उत्रिएका राजावादीहरुले राजतन्त्र पुनस्र्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउन भ्याए ।
राजतन्त्र अन्य भएको एक दशकपछि ०७७ सालमा उठेको ‘राजतन्त्र फर्काउने, हिन्दू राज्य कायम गर्ने र संघीयता खारेज गर्ने’ आवाजले गणतन्त्रवादीलाई केही मात्रमा भए पनि झस्काएको थियो । तर, ०७७ सालको अन्तमा आइपुग्दा राजावादीहरु सेलाएका छन् ।