लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, वैशाख २० गते । चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको नारायणीकलीले सोमवार बिहान भाले छावा जन्माएको छ ।
सुत्केरी नारायणीकली र छावाको स्वास्थ्य अवस्था राम्रो छ । हात्ती र छावाको स्याहारसुसारका लागि तीन जना कर्मचारी खटिएका छन् । छावाको तौल निकै राम्रो भएको र उचाए एक मिटर पाँच इन्च छ ।
भाले छावा जन्मेसँगै हात्तीसारमा निकै खुसीयाली छाएको छ । सोमवार नै आमा र बच्चाको स्वास्थ्यमा केही असर नपरोस् भनेर बिक्रम बाबाको पूजाआजा गरिने भएको छ । बिक्रम बाबाको मन्दिर कसरामा भए पनि उहाँकै नाउमा खोरसोरमा कालो बोका दिएर पूजाआजा गरिने जानकारी केन्द्रका दरौका राजेन्द्र पनुहारले दिनुभयो ।
नारायणीकलीको यो तेस्रो सन्तान हो । यसका अघिल्लो सन्तानमा माडी गज र लक्की गज हुन् । नारायणीकलीका तीन वटै सन्तान भाले छन् ।
अघिल्लो बच्चाहरु रोनाल्डो र ध्रुबे हात्तीका भए पनि यो बच्चा भने नयाँ जंगली हात्तीको भएको केन्द्रले जनाएको छ । माडी बबईमा गत असार महिनामा नयाँ जंगली हात्तीको गर्भ रहेको नारायणीकलीले २२ महिनामा बच्चा जन्माएको छ । नयाँ भाले हात्तीको सन्तान भएकाले यो छावाको बाबु को हो भन्न नसकिने केन्द्रका माउते कृष्ण दुनुवारले बताउनुभयो ।
माडी क्षेत्रमा रहेका बेला नारायणीकलीले बच्चा जन्माएको हुँदा अघिल्लो बच्चाको नाउँ माडी गज राखिएको र अर्काे बच्चा सानै छँदा रोग लागेर मर्र्नै लाग्दा पनि बाँचेको हुँदा यसलाई भाग्यमानी (लक्की) भएको भन्दै लक्की गज राखिएको हो । हाल केन्द्रमा योसहित १० वटा बच्चा रहेको निकुञ्जले जनाएको छ ।
पौष्टिक आहार र न्वारान
सोमवार बच्चा जन्मेकोले केन्द्रभित्रै रहेर बिक्रम बाबाको पूजाआजा गरी बच्चा र आमाको स्वास्थ्य लाभको कामना गरिन्छ भने एक हप्तापछि यसको नामकरण गर्ने गरिन्छ । कोरोनाकाल तथा कफ्र्यको समयमा बच्चा जन्मेकोले यसको नाउँ त्यही मिल्दोजुल्दो राख्न सकिने निकुञ्ज कार्यालयले जनाएको छ । हात्तीको छावाको नाउँ राख्दा उसलाई चिन्न सहज हुने घटना, स्थानसँग मिल्दोजुल्दो गरेर राख्ने प्रचलन छ ।
बच्चा कम्तीमा १३ दिनसम्म आमाको दूधको भरमा बाँच्ने भएकाले आमालाई खीर, उखु लगायतका पौष्टिक आहार दिइने भएको छ । आमालाई खीरमा ज्वानु, मेथी, कालो तिल, दाल राखेर खुवाइन्छ । यो क्रम कम्तीमा दुई हप्तासम्म चल्ने गर्छ ।
छावालाई १२ दिनसम्म आमासँगै सानो डोरीले बाँधेर राखिन्छ । जब छावा अलि हिँडडुल तथा खेल्न सक्ने भएपछि डोरी खोलेर छाडिने गरेको दरौका पनुहारले बताउनुभयो ।
उहाँका अनुसार त्यसपछि बिस्तारै छावालाई खाने, हिँड्ने, खेल्ने लगायतका कुराको तालिम दिइने गरिन्छ ।