गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३० गते । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ । पार्टीभित्रको असहमति अन्त्य गर्ने प्रयास स्वरुप एक उद्योगीको निवासमा वार्ता शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
नेता नेपाल बालुवाटार आउन तयार नहुनुभएपछि उद्योगी रामेश्वर थापाको निवासमा गोप्य वार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार वार्ता गोप्य ढङ्गले भइरहेकाले केही सहमति हुने विश्वास गरिएको बताउनुभयो ।
भर्खर शुरु भएको वार्तामा अन्य सहयोगी नेताहरु सहभागी रहेको बारे केही जानकारी गराइएको छैन । नेता नेपाल पक्षका नेताहरुले आज साँझसम्म राजीनामा दिने चेतावनी दिइरहेका बेला अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक वार्ता शुरु भएको हो । यसअघि अध्यक्ष ओली र नेपालबीच टेलिफोन वार्ता पनि भएको थियो । सो वार्तामा नेता नेपालले २०७५ जेठ २ गतेको समयमा फर्किन तयार भए सहमति हुने सङ्केत गर्नुभएको उहाँ निकट नेताहरुले बताउनुभएको छ ।