गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ८ गते । सत्तारुढ दल नेकपा ९एमाले० को स्थायी कमिटी बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरुभएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
बैठक साँझ ४ बजेकालागि बोलाइएको थियो । प्रधानमन्त्री ओली अर्को कार्यक्रममा ब्यस्त हुनु भएपछि बैठक डेढ घण्टा ढिलोगरी शुरुभएको हो ।
पार्टीभित्र देखिएको पछिल्लो समस्या र समाधानका बारेमा बैठकमा छलफल हुने बताइएको छ । नेता माधवकुमार नेपाल पक्षका नेताहरुले विपक्षी गठबन्धनमा लागेर पार्टी विरुद्ध गतिविधि गरिरहनुभएको, पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषयबारे बैठकमा छलफल हुने एमाले स्रोतले बताएको छ ।
आजको बैठकमा नेता नेपाल पक्षका गतिविधिबारे छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय हुनसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यसको अतिरिक्त आगामी निर्वाचनका लागि पार्टीले गर्नुपर्ने तयारीका बारेमा समेत छलफल हुनसक्ने उहाँले बताउनुभयो ।