सरकारले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्र ठप्प प्रायः छन् । यसबाट देशको अर्थतन्त्रका साथै शिक्षाक्षेत्र पनि नराम्रोसँग प्रभावित हुन पुगेको छ । कतिपय शहरका विद्यालयले अनलाइन प्रविधिको प्रयोग गरेर अध्यापन गरको भए पनि ग्रामीण भेगका विद्यार्थि भने यसको पहुँचभन्दा बाहिर नै छन् । अहिलेको अवस्थामा सबै भेगका विद्यार्थिलाई समेट्ने कस्तो शैक्षिक पद्धति अपनाउनु अपरीहार्य हुन्छ ? यसै विषयमा केन्द्रित रहेर शिक्षाविद् प्रा.डा. बिनयकुमार कुसियैतसँग गोरखापत्र अनलाइनका लागि बिष्णु पाण्डेयले गर्नुभएको कुराकानी:
निषेधाज्ञा जारी भएको पनि एक महिना पुगिसकेको छ बिद्यालयहरु ढप्प छन् । यो अबस्थामा शिक्षालाई कसरी अगाडि बढाउन सकिन्छ ?
अहिलेको अवस्था, कोभिडको जुन दोस्रो लहर आयो यो अवस्थामा सबै बालबालिका तथा शिक्षकको पहिलो प्राथमिकता भनेको नै कोभिडबाट बच्नु हो । अहिले अरुभन्दा पनि सरकारले बालबालिका र शिक्षकलाई खोप लगाउने वातावरण सिर्जना गर्ने हो । उनिहरुको स्वास्थ्यमा ख्याल नगर्दा थप माहामारी आउन सक्छ । सरकारले शिक्षाको छुट्टै खाका बनाउनुपर्दछ किनभने दास्रो लहरले पनि चार महिना जति शिक्षालाई असर पार्ने देखियो ।
यसमा कस्तो खालको विधि अपनाउने , कस्तो प्रविधि प्रयोगमा ल्याउने भन्ने योजनाका साथ सरकारले बजेट छ्ट्याउनु जरुरी छ । अनलाइनबाट जाने हो भने अनलाइनको पहुँच सबै ठाउँका पुर्याउनुपर्यो । खासगरी सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पनि यसमा समेट्न सक्ने संरचनाहरु निर्माण गर्नुपर्दछ ।जहाँ प्रविधि पुर्याउन सकिँदैन त्यहाँ प्रिन्टिङ पेपर प्रदान गरेर भए पनि शिक्षासँग बालबालिकालाई जोड्नुपर्दछ ।
खासगरी अहिले शिक्षा प्रदान गर्ने एकमात्र माध्यम अनलाइनलाई लिइएको छ , यो कत्तिको प्रभावकारी भेट्नुहुन्छ ?
अनलाइन कक्षा छ यो चाहिँ दिगो समाधान होइन । शिक्षालाई प्रविधिसँग जोड्ने प्रणाली त हो यो तर अहिलेको दिगो समाधान भने होइन । यस्तो महामारीको बेलामा वैकल्पिक तरीकाहरु धेरै हेर्नुपर्दछ । तर हामी पहिलेदेखि नै यसमा अभ्यस्त हुन सकेनौँ । गत साल अनलाइन शिक्षा प्रणाली किन असफल भयो भने शिक्षक पनि त्यसमा अभ्यस्त हुन सक्नुभएन , बिद्यार्थी पनि त्यसमा अभ्यस्त हुन सकेनन् र संरचनाको पनि अभाव देखियो । तर प्रबिधिलाई कसरी शिक्षासँग जोड्ने केही अवसर पनि हामीले पाएका थियौँ । तर यो अवसर सबै बालबालिकाका लागि समतामूलक हुन सकेन । धनि परीवार र शहरमा बसेका बाहेक अरु बालबालिकाका लागि यो प्रभावकारी भएन । ८० प्रतिशत बालबालिका जो ग्रामीण समुदायमा छन् तिनीहरुमध्ये थोरै ले मात्र यसको उपयोग गर्न पाए । तर प्रभावकारी भने देखिएन । छात्रवृत्तिको तरिकाबाट पनि यसमा समानता ल्याउन सकिन्थ्यो तर त्यसो हुन सकेन । अहिलेको समयमा अभिभावकले रोजगारी पनि गुमाएको हुन्छ त्यसरकारण ल्यापटप, मोबाइल किन्न पनि सक्दैनन् । हामीले खाली अनलाइन शिक्षा मात्र भन्यौँ तर यसको बारेमा केही अध्ययन नै नगरेकाले पनि यो अवस्था आएको हो ।
अनलाइन कक्षाका नाममा बालबालिका बढी अनलाइनमै व्यस्त हुने गरेका छन् के यो राम्रो पक्ष हो ?
अनलाइनको नाममा बालबालिकाले पढाइको प्रयोग कम र अन्य कुरामा बढी समय बिताइरहेको हामीले देखेका छौँ । यसकारण यसको दुरुपयोग बढी भैरहेको छ । तर जहाँ विद्यालयसँग अभिभावकले समन्वय गरेका छन्, निरन्तर आफ्नो बच्चालाई निगरानी गरेका छन् त्यहाँ चाहिँ अनलाइन शिक्षाको राम्रो प्रभाव परेको देखिन्छ । तर जहाँ अभिभावकको स्वस्फुर्तता छैन जस्तो कि ग्रामीण क्षेत्र, पिछडिएको क्षेत्रमा यस्तो समस्या छ । त्यस्तो ठाउँमा होम स्कुलिङ गरेर सबैलाई शिक्षा दिन सकिन्छ ।
माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई जिम्मा दिइएको छ तर यो अधिकार पूर्णरुपमा स्थानीय तहले प्रयोग गर्न नसकेको देखियो नि ?
संविधानले जुन किसिमको स्थानीय तहको शिक्षको कुरा गर्यो तर सबै अधिकार केन्द्रले स्थानीय तहलाई नदिएको जस्तो देखियो । सङ्घीय सरकारले शिक्षामा विनियोजन गरेको रकम मध्ये ७४÷७५ प्रतिशत मात्र रकम स्थानीय तहमा दिइएको देखिएको छ । राष्ट्रपति शिक्षा सुधार कार्यक्रम जस्ता नाममा पनि केन्द्रले २४/२५ प्रतिशत बजेट केन्द्रमै राखियो । स्थानीय तहले स्रोत जुटाउन पनि सकेन ।
केन्द्रले स्थानीय तहलाई स्रोत साधन पर्याप्त नदिएकाले पनि स्थानीय तहले केन्द्रको मुख ताक्नुपर्ने अवस्था आएको हो । स्थानीय तहले योजना पनि बनाउन सकेन । योजना पनि केन्द्रले नै बनाइदिनुपर्ने जस्तो देखियो । जबसम्म स्थानीय तहले आफ्नो आवश्यकता र समस्याको पहिचान आफैले गर्न सक्दैन तबसम्म केन्द्रकै आश गरिरहनुपर्ने हुन्छ । बिचको प्रदेश सरकार पेण्डुलम जस्तो देखियो । त्यसकारण जुन संविधानले परिकल्पना गरेको हो त्यो व्यावहारमा देखिएन ।
वर्तमान समयमा बालबालिका घरमै रहँदा अभिभावकले कस्ता कस्ता कुराहरु सिकाउन सक्दछन् ?
भनिन्छ कि बालबालिकाको पहिलो पाठशाला नै घर हो । त्यसकारण बालबालिका घर,समुदाय हुँदै बल्ल विद्यालयसम्म आइपुग्ने हुन । त्यसले घरमा पनि धेरै सिकाउन सकिन्छ । कतिपय बालबालिकाको पारिवारिक स्थिति नै खराब हुन्छ त्यस्तो अवस्थामा बालबालिकाले कसरी सिक्न सक्छ र ?बालबालिकाको स्वभाव, बोलीबाट नै उनीहरुको घर र समुदायको स्वभाव नै थाहा हुन्छ । अभिभावकको सपोर्ट बिना बालबालिकाले शिक्षामा प्रगति गर्न सक्दैनन् ।
अहिले बालबालिकालाई घरमा पाठ्यक्रमका अलवा संस्कार सिकाउने गर्नुपर्दछ । अभिभावकले घरमा कसरी सिकाइरहेको छ भन्ने कुरा शिक्षकले पनि बेला बेला ख्याल गरीरहनुपर्दछ । अहिले सङ्क्रमणको बेला घरलाई नै स्कुल बनाउनुपर्दछ । यदि बालबालिकाको अभिभावक कृषि अर्थात खेती गर्छन् भने त्यही खेतीबाट पनि बच्चाले सिक्न सक्छ । बाख्रा चराउन जाँदा पनि उसले त्यहाँबाट सिक्न सक्छ । कोरोना फेरि पनि आउन सक्ने हुनाले अब हामीले बालबालिकालाई विद्यालयसँग मात्र जोड्नेभन्दा पनि घरलाई कसरी विद्यालयमैत्री बनाउन सकिन्छ भन्ने कुरा सोच्नु जरुरी छ ।