छेटु शेर्पा
काठमाडौं, जेठ १८ गते । केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एयरलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ । टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले बिहीबारदेखि सातामा एउटा उडान गर्ने अनुमति दिइएको नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक राजन पोख्रेलले जानकारी दिनुभयो ।
कतार एआरलाइन्सले भने आधिकारिक जानकारी नदिए पनि यसै सातादेखि उडान शुरु गर्ने बुझिएको पोख्रेलले जानकारी दिनुभयो । यता चीन र नेपाल एअरलाइन्सले भने उडान बारे जानकारी नदिएको उहाँको भनाइ छ । नेपाल एअरलाइन्सले कतार र चीनमा सातामा एक/एक वटा उडान गर्ने छन् भने टर्की, कतार र चीनमा भने सातामा एउटा मात्र उडान गर्ने गरी अनुमति दिने तयारी गरेको प्राधिकरणको तयारी छ ।
अन्य देशहरुमा पनि आवश्यकता र माग अनुसार उडान गर्न सक्ने भए पनि सम्वन्धित देशले नै बन्द गरेपछि उडान खुल्ला गर्ने विषयमा विकल्प नभएको प्राधिकरण प्रमुख पोखरेलले बताउनुभयो ।
चीन सरकारले उडान गर्ने विषयमा भने परराष्ट्र मन्त्रालयबाट जानकारी पठाइसकेको र कुन क्षेत्रमा कुन एअरलाइन्सले उडान गर्ने भन्ने यकिन गर्न पत्र पठाएको प्राधिकरणले जनाएको छ । चीनमा नियमित उडान नहुँदा चीन सरकारकाे अनुदान सहयोगमा नेपालले प्राप्त गरेको स्वास्थ्य सामग्री पनि हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले चार्टड उडानबाट ल्याउने गरिएकाे छ।
प्राधिकरणले आन्तरिक उडान गर्ने विषयमा निर्णय गरेको छैन । सरकारले आन्तरिक उडान अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।