गाेरखापत्र अनलाइन
काठमाडौं, जेठ १८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बबरमहलमा बसेको अध्क्षय ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष यादवलाई कारबाही गरेको केन्द्रीय सदस्य सन्तोष मेहताले जानकारी दिनुभयो ।
यसअघि आजै पार्टी कार्यालय बालकुमारीमा बसेको यादव पक्ष कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेर कारबाही गरेको थियो ।
अध्यक्ष यादवले गरेको कारबाही पार्टीको विधान विपरित भएको ठाकुर पक्ष बैठकको ठहर छ । अध्यक्ष यादवलाई पार्टीको कारवाही गरेकोबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको केन्द्रीय सदस्य मेहताले जानकारी दिनुभएको छ ।
यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ ।
पार्टी कार्यलय बालकुमारमा बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको भन्दै अध्यक्ष यादवले निर्वाचन आयोगमा मंगलबार अपराह्न निर्वाचन आयोगमा पत्र पठाउनुभएको हो । यादवले पठाउनुभएको उक्त पत्र आयोगमा दर्ताा भएको छ ।
अध्यक्ष यादवले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम दलको दर्ता कितावबाट नाम हटाई अद्यमवधिक गर्न अग्रह गर्नुभएको छ ।