अमृतप्रसाद पौडेल
बेनी, असार १ गते । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र बेनी–जोमसोम सडक खण्ड अबिरल वर्षाका कारणठाउँठाउँमा गएको पहिरोले अवरुद्ध भएको छ ।
पछिल्लो तीन दिनदेखिको वर्षाले बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३, रुप्से, अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर र नागढुङ्गामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार सडकभन्दा माथिबाट पहिरो आई सडक पुर्णरूपमा अवरूद्ध भएको र ढुङ्गा माटो खस्नेक्रम नरोकिएकोले तत्काल सडक खुलाउन समस्या देखिएको छ
। उक्त सडक अवरुद्ध हुँदा मुस्ताङ तर्फको सबै सम्पर्क बिच्छेद भएको छ । बन्दाबन्दीले हवाइ यातायात समेत बन्द भएको अवस्थामा एक मात्रै सडक खण्डमा पनि पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङका जनता समस्यामा परेका छन् ।
त्यसैगरी म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, फापरखेत नजिकै घुमाउने भीरमा खानीखोलाले सडक कटान गर्दा बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । म्याग्दी जिल्लालाई अन्य जिल्ला सँग जोड्ने सडकहरु पनि पूर्ण रुपमा अबरुद्ध रहेको प्रहरीले जनाएको छ । बेनी–बागलुङ सडक खण्ड पनि अबरुद्ध भएको छ भने मालढुङ्गा–बेनी सडक खण्डको लस्तीमा पनि अवरुद्ध भएको छ ।
कालीगण्डकीको बहाब बढ्दा बेनी–गलेश्वर सडक खण्डको डल्लेपीपल नजिक सडक बगाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेनी जोमसोम सडक खण्डको रुप्से झरना नजिकै हाइलक्स गाडी पहिरोको बीचमा फसेको छ । मुस्ताङको समरमा निर्माण सम्बन्धी काम गर्दै गरेको मेसीन मर्मत गरेर प्राविधिकहरु लिएर फर्कदै गरेको बा १८ च ६९६२ गाडी पहिरोको बिचमा फसेको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । शेरचनका अनुसार डोजरको सहायताले सडक खुलाएर गाडी निकाल्ने प्रयास भै रहेको भए पनि माथिबाट लगातार पहिरो खशि रहेकोले सफल हुन सकेको छैन ।