logo
२०८१ जेष्ठ २ बुधवार



रासायनिक मल गोदाममा मौज्दात, ढुवानी समस्याले किसानसम्म पुगेन

पढ्नै पर्ने |


रासायनिक मल गोदाममा मौज्दात, ढुवानी समस्याले किसानसम्म पुगेन


छेटु शेर्पा
काठमाडौं, असार १ गते । वर्षायाम शुरु भइसक्दा पनि किसानसम्म रसायनिक मल पुग्न नसकेको गुनासो बढ्न थालेको छ । धान र मकैलगायतमा युरिया मल लगाउने समय भइसक्दा पनि मल अभावले उत्पादनमा ह्रास आउन सक्ने भन्दै तत्काल रसायनिक मल उपलब्ध गराउन किसानहरुले माग गरेका छन् ।
संखुवासभाका किसान चिरण राई आफूले अगुवा धान रोपेर पसाइसकेको बताउँदै युरिया र डिएपी मल लगाउन समय बितेको भन्दै गुनासो पोख्नुभयो ।
‘मलको अभाव छैन भन्ने समाचार सुनिन्छ तर मल किन्न जाँदा डिपो र बजारमा पाइँदैन’, उहाँले भन्नुभयो । उहाँ जस्तै गाउँका अधिकांश किसानले रोपेको धानमा मल लगाउने समय बितिसकेको छ । केहीले भने अझै रोपाई गर्ने क्रममा भएकाले मल लगाउन नपाएको भन्दै गुनासो गर्ने गरेका छन् ।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले भने किसानले रासायनिक मल पाउन नसकेको स्वीकार गर्नुभयो । कोभिडका कारण निषेधाज्ञाले ढुवानी गर्न नसक्दा पर्याप्त मात्रामा किसानसम्म मल पुग्न नसकेको नसकेकाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई तत्कालै ढुवानी गरी किसानलाई उपलब्ध गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
विगतमा पनि बाली हुर्किएपछि मात्र मल बजारमा उपलब्ध भएको थियो । समयमै मल ढुवानी गरेर भण्डारण नगर्दा यसको मार किसानले खेप्नु परेको र देशलेनै आम्दानी गुमाउनुपरेको भोजपुरका किसान प्रदिप चौलागाइँ बताउनुहुन्छ । रासायनिक मल विशेष गरी दुर्गम र खेती गरिने क्षेत्रमा जरुरी हुने गरे पनि मललाई ढुवानीलगायतका अन्य व्यवस्थापनमा चुस्त दुरुस्त बनाउनु जरुरी रहेको उहाँले सुझाव दिनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जनाएको छ । यी बाहेक ६५ हजार मेट्रिक टन यूरिया मल आउने क्रममा रहेको र असारभित्रै प्राप्त हुने लिमिटेडले जनाएको छ ।
अहिले रसायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार दुई सय ८६ मेट्रिक टन डिएपी, चार हजार एक सय ४६ मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन कृषि चुन हाल मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार दुई सय चार मौज्दात रहेका यूरिया, १४ हजार ४४४ हाल मौज्दात रहेका डिएपी र तीनहजार ८९६ मौज्दात रहेका पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेसनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?