logo
२०८१ बैशाख २८ शुक्रवार

 कस्तो छ खोप आपूर्ति र वितरण क्षमता ? 



खोप पर्याप्त पाउने सम्भावना, फरक तापक्रममा भण्डारण र वितरण समस्या

पढ्नै पर्ने |


खोप पर्याप्त पाउने सम्भावना, फरक तापक्रममा भण्डारण र वितरण समस्या


छेटु शेर्पा
काठमाडौं, साउन २० गते । विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लगाउने थुप्रै खोपहरु उत्पादन भए पनि नेपालमा यस्ता सबै खाले खोपको भण्डार तथा वितरण गर्ने शीतभण्डार लगायतका उपकरणको अभाव  छ ।
विभिन्न देशमा उत्पादन भई विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोपहरु सामान्यतया तीन प्रकारको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । त्यसमध्ये दुईदेखि आठ डिग्री सेल्सियससम्म भण्डारण गर्न मिल्ने उपकरण मात्र नेपालमा रहेको स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसिष्ट बढेबाबु थापाले जानकारी दिनुभयो ।
दाताहरुले अन्य दुई प्रकारका तापक्रममा भण्डारण गर्नुपर्ने खोप उपलब्ध गराए पनि उपकरण अभावले लिने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार माइनस १५ देखि २५ डिग्री सेल्सियस र माइनस ६० देखि ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने खोपको उपकरण नहुँदा खोप आयातमा समस्या हुने गरेको छ ।
दुईदेखि आठ डिग्रीसेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने खोपमध्ये भेरोसेल, कोभिसिल, जोनसोन एण्ड जोनसोन र जापानले प्रदान गर्ने अस्ट्राजेनेका खोप छन् । यी खोपहरुको भण्डारण गर्न सक्ने उपकरण पर्याप्त मात्रामा रहे पनि अन्य दुई प्रकारको तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि शीतभण्डार मेसिननै नभएको विभागले जनाएको छ ।

माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने प्रकारका खोपका लागि थोरै मात्रामा खोप भण्डार गर्न सक्ने थापाले बताउनुभयो । तर दुई प्रकारको तापक्रममा भण्डार गर्नुपर्ने शीतभण्डार निर्माणका लागि समेत विभागले पहल शुरु गरेको थापाले जानकारी दिनुभयो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले माघ महिनासम्ममा तीन करोड खोप नेपाल ल्याइसक्ने बताउनुभयो । सरकारले तत्काल चीनबाट ६० लाख डोज खोप ल्याउने प्रक्रिया शुरु गरेको जानकारी दिनुभएको थियो । हालसम्म स्वास्थ्य मन्त्रालयले ९७ लाख ८२ हजार डोज खोप ल्याएको मन्त्रालयको तथ्याङ्क छ । आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप लगाइसक्ने गरी सरकारले काम अघि बढएको जनाएको छ ।

दुईदेखि आठ डिग्री सेल्सियससम्म भण्डारण गर्न मिल्ने गरी सरकारसँग केन्द्रीय खोप भण्डार काठमाडौंको टेकु र बाराको पथलैयामा छन् भने सातै प्रदेशमा बेग्ला बेग्दै शीतभण्डार रहेको जनाएको छ । हाल यिनै शीतभण्डारबाट केन्द्र, प्रदेश हुँदै जिल्लास्तरसम्म खोप वितरण हुने गरेको विभागले जनाएको छ । शीतभण्डार निर्माणका लागि क्षमता विस्तार तथा सबै तापक्रममा भण्डार गर्न केन्द्र, प्रदेश र जिल्लामा उपकरण खरिद गर्ने तयारी विभागले राखेको जनाएको छ । विभाग अन्तर्गत खोप व्यवस्थापनको जिम्मा लिएका थापाका अनुसार खोप भण्डारण एकै पटकमा नहुने र ढुवानी, भण्डारण र खपतलाई ध्यान दिएर व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?