अमरराज नहर्की
तनहुँ, साउन २२ गते । व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने इन्द्रमाया कुसुण्डाले थोरै मात्र कुसुण्डा भाषा जानेको बताउनु हुन्छ । आफ्नो भाषा लोप भएर जाने चिन्ता भएर श्रीमान राजामामाले केही भाषा सिकाउनु भए पनि बोल्ने मान्छे नहुँदा भुल्दै गएको इन्द्रमायाले बताउनुभयो । ‘‘मैलै केही जानेको छु तर छोरीलाई बोल्न आउँदैन भाषा बोल्ने अरु कोही पनि नभएकोले बिर्सदै गएको छु’’ इन्द्रमायाले भन्नुभयो ।
पति राजा मामाको तीन वर्षअघि निधन भए यता इन्द्रमायाले कुसुण्डा भाषा बोल्न पाउनुभएको छैन । कुसुण्डा भाषा पूरै बोल्न जान्ने राजामामाको २०७५ साल वैशाख ५ गते निधन भएको थियो । नेपाल आदिवासी जनजाति महाङ्घ जिल्ला समन्वय परिषद् तनहुँको अध्यक्ष वसुन्धरा घर्तीले राजामामालाई कुसुण्डा भाषाको पूरा ज्ञान भए पनि इन्द्रमायाले केही मात्र जान्नु भएको जानकारी दिनुभयो । राजामामाले कुुसुण्डा केटी नपाएपछि फरक जातिसँग विवाह गर्नुभएकोले एक पुस्ताबाट अर्को पुस्तामा भाषा स्थानान्तर गर्न समस्या परेकोले कुसुण्डा भाषा लोप हुने अवस्थामा पुग्न लागेको घर्तीले बताउनुभयो ।
राजामामाको एक मात्र छोरी सिमान्त हुनुहुन्छ तर सीमान्तलाई कुसुण्डा भाषा बोल्न आउँदैन । कुसुण्डा समुदायको आफ्ना मौलिक भाषा, संस्कृति, मूल्य मान्यता, रीतिथिति छन्, ती लोपोन्मुख अवस्थामा रहेकोले संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने अध्यक्ष वसुन्धरा बताउनुहुन्छ । ‘‘मातृभाषा र सस्कृतिको अनिर्वाय अध्ययन गर्नुपर्ने नीति बनाउने हो भने कुसुण्डा लगायतका अन्य भाषा र सस्कृतिको संरक्षण गर्न सकिन्छ नत्र भने गुगलमा मात्रै सीमित हुन्छ’’ अध्यक्ष वसुन्धराले भन्नुभयो ।
जङ्ली जनावर शिकार गरेर र वनकै कन्दमूल खाएर जीवन यापन गर्ने भएकोले कुसुण्डा ‘‘जङ्गलका राजा’’ उपनामले चिनिन्थे । विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वनविनाश, जीवनयापनगर्न कठिनाइ गैर–प्रजातीय विवाह प्रणाली लगायतको कारणले कुसुण्डाको भाषा र सस्कृति लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदले जनाएको छ । परिषद्का अनुसार कुुसुण्डा जाति आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा सम्मिलन हुँदै गएका छन् । यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो । हाल यो हराएर गएको छ । आफूलाई ‘जङ्गलका राजा’ भनेर चिनाउने कुुसुण्डा जातिहरूको जाति नेपालको घुमन्ते जातिमध्येको एक हो । कुसुण्डाले खेतीपाती गर्दैनथे जङ्गलमै रमाउँथे । वनमा आफ्नो अधिकार भएको ठान्ने गर्थे । इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक रु. दुई हजार सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । तर त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ । कुसुण्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुण्डा छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा कुसुन्डाको जनसङ्ख्या १ सय ७३ छ । इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी तीन कोठे घर निर्माण गरिदिएको घरमा बस्दै आउनुभएको छ । कसुण्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुण्डाहरु स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोवास गर्दथे । जङ्गली रूखबिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमुल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरु मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको थियो ।