logo
२०८१ बैशाख १२ बुधवार

 सन्दर्भ: नेपाल महिला संघको ७४ औं स्थापना दिवस 



महिला प्रतिनिधित्व मात्रै होइन, नेतृत्व आवश्यक - डा. डिला संग्रौला

पढ्नै पर्ने |


महिला प्रतिनिधित्व मात्रै होइन, नेतृत्व आवश्यक - डा. डिला संग्रौला


सपना थामी
काठमाडौं, साउन २४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको ७४ औं स्थापना दिवसको सन्दर्भमा संघका संस्थापक स्वर्गीय मंगलादेवी सिंहको स्मरण गरिएको छ । २००४ साल साउन २४ गते देशमा प्रजातन्त्रको पुर्नस्थापना, महिला मुक्तिको आन्दोलनका लागि काठमाडौंमा भूमिगतरुपमा नेपाल महिला संगठनको स्थापना गरिएको थियो । तात्कालीन जहाँनिया राणा शाषणकालमा महिलाहरुलाई मतदानको अधिकार समेत दिइएको थिएन, तत् समयमा संस्थापक सिंहले महिला संगठन स्थापना गर्नुभयो । सो संगठनको स्थापना, महिला नेतृत्वको वर्तमान अवस्था र आगामी दिनमा महिला आन्दोलनको विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलासँग गरिएको संवादमा आधारित आलेखः

एक अथक एवम् अग्रणी योेद्धा मंगलादेवी सिंह
नेपाल महिला संघ स्थापनाले ७४ औं वसन्त पार गर्दै गर्दा संस्थापक स्वर्गी मंगलादेवी सिंहलाई स्मरण गर्दै सो दिवस मनाइने गरिन्छ । तात्कालीन राणा शासनको समयमा पिकनिक जाने क्रममा भूमिगतरुपमा वि.सं. २००४ साल साउ २४ गते नेपाल महिला संघको स्थापना गरिएको थियो । साउन २४ लाई काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले देशमा प्रजातन्त्र पुर्नस्थापना, महिलालाई मतदानको अधिकार लगायत महिला मुक्तिका लागि लडेको दिनको रुपमा स्मरण गर्नुहुन्छ । संस्थापक स्वर्गिय मंगलादेवी सिंहप्रति श्रद्धासुमन अर्पण गर्नुहुँदै संग्रौलाले उहाँलाई एक अथक, अग्रणी र कहिल्यै पनि नथाकेको र नझुकेको योद्धाका रुपमा लिनुपर्ने बताउनुभयो ।

लैङ्गिक विभेदमाथिको दृष्टिकोण बद्लिएको छैन
नेपाल महिला संघ स्थापनाको सात दशकभन्दा बढी बित्यो, समयले कोल्टे फे¥यो र देश अहिले संघिय, लोकतान्त्रिक जगमा उभिएको छ । संविधानले राज्यको हरेक निकाय र नीति, निर्माण तहमा एक तिहाई महिलाको सुनिश्चितता गरेको छ । तर, यसको प्रतिनिधित्व अझै हुन नसकेको संग्रौला बताउँनुहुन्छ । तथापि, प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहको विकास गर्ने क्षेत्रमा ४१ प्रतिशत महिला सहभागिता छ । देशका विभिन्न राजनीतिक पार्टीको विधान पनि केही मात्रामा भए पनि महिला सहभागीतलाई वृद्धि गर्न खोजिएका कारण महिलामैत्री छ । राजनीतिक पार्टीमा महिलामाथिको दृष्टिकोण केही बद्लिएको छ । तर आजको परिस्थतिसम्म आइपुग्दा पनि मंगलाआमाले देख्नुभएको महिला मुक्ति, जागरण, महिला सशक्तिकरण, सबलीकरण अझै हुन सकेको छैन । बालिका, किशोरी र महिलाहरुको जीउ, ज्यानको सुरक्षा छैन । दाइजोप्रथा, बोक्सी आरोप, छाउपडी प्रथा जस्ता विभिन्न कुसंस्कारका कारण महिलामाथी हुने यौनहिंसा, शोषण, दमन र बलात्कार जस्ता अपराधहरु अझै भइरहेको संग्रौला बताउनुहुन्छ । लैङ्गिक विभेदमाथी हेर्ने समाजको दृष्टिकोण परिवर्तन भएको छैन, केही कुरा प्राप्त भएपनि केही मुद्दाहरु अझै जिउँदै छन्, उहाँले आफ्नो धारणा राख्नुभयो ।

मंगलादेवी सिंहको सपना अझै अधुरो
महिलाहरुको अवसर, प्रतिनिधित्व र पहिचानको लडाइ अझै लड्न बाँकी नै रहेको उहँँले बताउनुभयो । तात्कालीन राणा शाषणको क्रुर जञ्जरिमय समयमा पनि मंगलादेवीले महिला अधिकारको सपना देख्नुभयो तर त्यो सपना अझै बाँकी रहेको संग्रौलाले बताउनुभयो । नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहले देखाउनुभएको मार्ग अनुसार संविधानमा अझै महिलाका मुद्धाहरु आउन नसकेको उहाँ बताउनुहुन्छ । नेपाली राजनीतिमा मंगलादेवी सिंह र साहाना प्रधान जस्ता महिला नेतृत्वले वैचारिकभन्दा पनि अधिकारको लडाई लड्नुभएको थियो तर अचेल यो ओझलमा परेको छ । आजभोलि आफ्नो मुद्दा उठाउनेभन्दा पनि पार्टीले जे बोल्यो त्यही नारा बुलन्द पार्ने मेसिन जस्ता मात्रै हामी भएका छौं, उहाँ बताउनुहुन्छ ।

काँग्रेस महाधिवेशन र महिला नेतृत्व
नेपाल महिला संघको स्थापना दिवसको सन्दर्भमा काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले काँग्रेसमा महिला नेतृत्वको विषयमा पनि आफ्नो विचार राख्नुभएको छ । महाधिवेशन सर्ने वा अन्य विकल्पका सन्दर्भमा पार्टीभित्र छलफल भइरहेको उहाँले बताउनुभयो । तर, पार्टीको महाधिवेशन पूर्वनिर्धारित समय अनुसार भदौ १६ देखि १९ गतेभित्र गर्नुपर्ने भनाइ उहाँको छ । यसो हुन नसकेको प्रक्रिया छोट्याएर भए पनि पार्टीको वैधता बचाउनुपर्ने उहाँ बताउनुहुन्छ । काँग्रेसको विधानले पनि एक तिहाई महिला प्रतिनिधित्वलाई सुनिश्चितता गरेको छ तर हामी सबै तहमा प्रतिनिधित्व मात्रै होइन, नेतृत्व पनि खोजिरहेका छौं, उहाँले बताउनुभयो ।
विगतमा सबै राजनीतिक दलहरुले निर्वाचनको बेला टिकट दिँदा महिलाहरुलाई समानुपातिकमा मात्रै राखे । तर, क्षेत्र, आरक्षण वा यस्तै गरेर क्षमतावान महिलाहरुबीचमा प्रतिस्पर्धा गराउन सकेको भए महिलाहरु पनि जननिर्वाचित प्रतिनिधि हुन पाउँथे, उहाँ बताउनुहुन्छ । स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता पुग्दै गर्दा ९६ प्रतिशत महिलाहरु भने उपमेयर, उपाध्यक्ष लगायतका पदमा मात्रै हुनुहुन्छ तर कार्यकारी पदमा पुगनसक्नुभएको छैन, उहाँले बताउनुभयो । पार्टीभित्र पनि महिलामाथि गरिने राजनीतिक विभेद छन्, यसका लागि महिलाहरु पनि पार्टीभन्दा माथि उठ्न आवश्यक छ र दाजुभाईहरुसँग लबिङ पनि गर्नुपर्छ । यसका लागि राजनीतिक दल, सामाजिक अगुवा र नागरिक समाजका अगुवा सबै मिल्न आवश्यक छ । काँग्रेसको केन्द्रीय कार्य समितिमा २० प्रतिशत र क्षेत्रीय र जिल्ला तहमा २५ प्रतिशत महिला हुनुहुन्छ । तर, अन्य राजनीतिक दलहरुमा १२ देखि १३ प्रतिशत महिला प्रतिनिधित्व छ । पार्टी संगठनभित्र नै महिला प्रतिनिधित्व नहँुदा नै राज्यका अन्य नियुक्तीहरुसम्म महिला नेतृत्व पुग्न नसकेको हो । नेपाली काँग्रेसले आउँदो महाधिवेशनमा एक तिहाई महिलाको प्रतिनिधितव सुनिश्चित गर्छ । समग्रमा, नेपाल महिलासंघ स्तथापनाको सात दशक बढी बितिसक्दा पनि महिला नेतृत्व सुधारात्मक भएपनि ढुक्क भएर आशालाग्दो अवस्था भने निर्माण नभएको संग्रौलाले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?