logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना संक्रमण निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढ्दो

पढ्नै पर्ने |


कोरोना संक्रमण निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढ्दो


विष्णु पाण्डेय

काठमाडौँ, भदौ ३ गते ।  कोरोना संक्रमण निको भएकाहरूमा पनि पोष्ट कोभिड (कोभिड निको भए पछि हुन समस्या)को जोखिम बढीरहेको चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमण निको हुँदै जाँदा पोष्ट कोभिडका बिरामीहरूको संख्या पनि बढ्दै गएको उनीहरूले बताएका हुन् । 

ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डा.राजु पंगेनीले कोरोना संक्रमितहरुले चाँडै उपचारमा ध्यान नदिँदा पोष्ट कोभिडका बिरामीको संख्यामा वृद्धि हुने गरेको बताउनुभएको छ । ह्याम्समा उपचार पछि निको भएका ५० प्रतिशत मानिसहरु पोष्ट कोभिडको समस्या लिएर आउने गरेको उहाँले बताउनुभयो । कोरोना संक्रमितहरुको उपचारमा ढिलाई हुँदा पोष्ट कोभिडका लक्षणहरू बढी देखिएको उहाँले बताउनुभयो । पोष्ट कोभिड देखिएका अधिकांशमा खुट्टा दुख्ने, श्वासप्रश्वासमा  समस्या हुने ,मुटु हल्लिएको अनुभूति हुने, शरीरमा शक्ति नै नभएको महसुस हुने खालका  लक्षण देखिने गरेको उहाँ बताउनुहुन्छ ।

कोरोना संक्रमण भएकाहरूमा अक्सिजनको मात्रा कम भएर अस्पताल पुगेकाहरूमा पोष्ट कोभिडको लक्षण बढी देखिएको उहाँले बताउनुभयो । पोष्ट कोभिडको लक्षणहरू हराउनको लागि सामान्यतया चार महिना लाग्न सक्ने तर मनोवैज्ञानिक रूपमा यस्ता लक्षणहरू हराउनको लागि छ महिनासम्म लाग्न सक्ने उहाँ बताउनुहुन्छ  ।

यस्तै त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा.सन्तकुमार दास पनि कोभिड निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढेको स्वीकार्नुहुन्छ ।  कोरोना संक्रमण भएर निको भएका बिरामीमा पोष्ट कोभिडको जोखिम उच्च रहेको उहाँको भनाई छ । आईसियूमा उपचार गरेर निको भएका कोभिडका बिरामीमा पोष्ट कोभिडका लक्षणहरू धेरै देखिने गरेको उहाँले बताउनुभयो । पुरुषको तुलनामा महिलामा पोष्ट कोभिडको जोखिम बढी देखिने गरेको उहाँ बताउनुहुन्छ । 

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले पनि कोरोना संक्रमित निको भएपछि पोष्ट कोभिडका लक्षणहरू देखिएको बताउनुभएको छ । पोष्ट कोभिड भएका बिरामीहरूमा मनोपरामर्शको एकदमै आवश्यकता रहेको उहाँले बताउनुभयो । “विशेषगरी पोष्ट कोभिडका लक्षणहरू आईसीयूमा पुगेर रिकभर भएका बिरामीहरूमा धेरै  देखिएको छ  । उनीहरूले अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ की भन्ने मनोभाव राखेको पाइएकाले कोभिड निको हुनेहरूलाई मनोपरामर्शको आवश्यकता देखिएको छ उहाँले भन्नुभयो ।”पोष्ट कोभिडका लक्षहरू युवा नै धेरै देखिने गरेको उहाँ बताउनुहुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?