logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाले बालबालिकाको खोप प्रभावित, उन्मूलन हुन लागेका रोग फर्कने चिन्ता

पढ्नै पर्ने |


कोरोनाले बालबालिकाको खोप प्रभावित, उन्मूलन हुन लागेका रोग फर्कने चिन्ता


विष्णु पाण्डेय
काठमाडौं, भदौ १० गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमण नेपालमा प्रवेश गरे पछि स्वास्थ्यको क्षेत्रमा धेरै ध्यान गयो । कोरोना सङ्क्रमणबाट आफू कसरी बच्ने र घरका सदस्यलाई कसरी बचाउन सकिन्छ भन्नेतर्फ नै सबैको ध्यान गयो । तर बालबच्चाले लगाउनुपर्ने खोपको सन्दर्भमा न राज्यको ध्यान पुगेको देखियो न आफन्तको नै ।
कोरोना सङ्क्रमण नेपालमा प्रवेश गरेसँगै बालबालिकालाई दिईने खोपको कभरेज दरमा कमी आएको देखिएको छ । सन् २०२० को तथ्यांकले जनाएअनुसार कतिपय बालबालिकाहरु नियमित खोपबाट वञ्चित भएको देखिएको छ । स्वास्थ्य विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञाका कारण मानिसहरु हिड्न नपाएको, यातायात सञ्चालन नभएका कारणले अभिभावकले बालबालिकालाई खोप केन्द्रसम्म लैजान नसकेर केही बालबालिका नियमित खोपबाट छुट्न पुगेका हुन् ।
पहिलो चरणको लकडाउनको समयमा केही खोप केन्द्रहरु बन्द रहेका कारणले पनि बालबालिकाहरु नियमित खोप लगाउनबाट छुटेको उहाँको भनाइ छ । गौतमले जनाएअनुसार नेपालमा बर्सेनि एक वर्षभन्दा मुनिका छ लाख २० हजार बालबालिकालाई १२ वटा रोगविरुद्धको नियमित खोप प्रदान गरिदै आइएको छ ।सन् २०१९ मा एक वर्षमुनिका पाँच लाख ३७ हजार बालबालिकाले उक्त खोप लगाएको उहाँले बताउनुभयो । तर सन् २०२ मा त्यो सङ्ख्या घटेर चार लाख ८३ हजार बालबालिकाले मात्र उक्त खोप लगाएका छन् । यसरी कोरोना महामारीको समयमा खोपको कभरेज दरमा कमी देखिएको छ ।
सन् २०२१ को अहिलेसम्मको अवस्थामा भने बालबालिकाहरुको नियमित खोपको कभरेज दरमा केही सुधार भैरहेको उहाँ बताउनुहुन्छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका खोप विज्ञ डा. शान्तराज उप्रेतीले बालबालिकाहरु नियमित खोपबाट वञ्चित हुनु दुःखद रहेको बताउनुभएको छ । बालबालिकाहरु नियमित खोपबाट वञ्चित हुँदा भविष्यमा शारीरिक अशक्षमता, मानसिक समस्या, अपाङ्ग,मानसिक रुपमा असक्षम,रोग प्रतिरोधात्मक क्षमताका कमी जस्ता गम्भीर समस्या आउन सक्ने उहाँले बताउनुभयो । नेपालमा निर्मूलीकरणमा रहेका केही रोगह र निर्मूलीकरण  भैसकेका केही रोगसमेत फेरि फर्कन सक्ने जोखिम रहेको उहाँ बताउनुहुन्छ ।
यस्तै जनस्वास्थ्यविद् डा. सागरकुमार राजभण्डारीले बालबालिका नियमित खोपबाट छुट्दा फेरि नेपालबाट उन्मूलन भएका रोगहरु फर्कन सक्ने उहाँको भनाइ छ । नेपालबाट उन्मूलन भैसकेका दादुरा, पोलियो, रुबेला जस्ता रोगहरु फेरि देखापर्न सक्ने उहाँले बताउनुभयो । बालबालिकाहलाई कोरोना महामारीको समयमा घुम्ती खोपकेन्द्र सञ्चालन गरेर भए पनि खोप सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । कतिपय क्षेत्रहरु भौगोलिक रुपमै विकट रहेकाले त्यस्ता क्षेत्रमा घुम्ती खोप सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता हुने उहाँको बताउनुभयो ।
यता बालबालिकाको हकहितमा सक्रिय रहदै आएको “बालबालिकाका लागि राष्ट्रिय अभियान”का अध्यक्ष प्रविन सिलवालले कोरोना सङ्क्रमण सुरु भएपश्चात बालबालीका नियमित खोप प्राप्तिमा छुटेकोप्रति आफूहरुले सरकारलाई लिखित रुपमै ध्यानकर्षण गराएर खोपकेन्द्र सञ्चालन गर्न लगाएको बताउनुभयो । बालबालिकाले नियमित खोप नपाउँदा हुने दीर्घकालीन असरबाट बच्न र बालबालिकाको मौलिक हकको हनन हुन नदिन आफूहरुले सरकारलाई दबब दिईरहे पनि कभरेज दरमा कमी आउनु दुःखद भएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?