logo
२०८१ बैशाख २३ आईतवार

  दृश्य समाचार  



सङ्ग्रहालय बन्दै भीमफेदीको हात्तीसार घर

पढ्नै पर्ने |
प्रदेश |


सङ्ग्रहालय बन्दै भीमफेदीको हात्तीसार घर


राममणि दाहाल
हेटौँडा, भदौ ११ गते । मकवानपुरको भीमफेदीस्थित हात्तीसार घरलाई हात्तीसार सङ्ग्रहालयमा रुपान्तरण गरिने भएको छ । भीमफेदी गाउँपालिका वडा नं. ६ बेवारिशे अवस्थामा रहेको राणाकालीन हात्तीसार घरलाई हात्तीसार सङ्ग्रहालयमा रुपान्तरण गर्न डिभिजन वन कार्यालय मकवानपुरमार्फत मर्मत सम्भार र संरक्षणको काम हुँदै आएको छ ।


बागमती प्रदेश सरकार मातहत आएपछि आर्थिक वर्ष २०७६÷०७७ बाट हात्तीसार सङ्ग्रहालयमा रुपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हात्तीसार घरले संरक्षण, बगैँचा निर्माण, हात्तीसारमा रहेका सामग्रीहरुको संरक्षण र हात्तीसार परिसरमा पैदलमार्ग निर्माण लगायतका कार्य सम्पन्न गरेको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले ऐतिहासिक महत्वको हात्तीसार घरलाई सङ्ग्रहालयमा रुपान्तरण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यलाई चालू आर्थिक वर्षमा निरन्तरता दिने योजना रहेको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा सङ्ग्रहालयको योजना बनाउन समय लागेकोले संरचना बनाउने लगायतका कार्य अगाडि बढाउनु नपाएको बताउँदै चालू आर्थिक वर्षमा सङ्ग्रहालय प्रवेशद्वार र टिकट घर निर्माणसँगै सङ्ग्रहालयको मर्मत सम्भार र रङ्गरोगन गर्ने योजना रहेको सुनाउनुभयो ।
स्थानीय सुशीलसिंह लामाले हात्तीसार ऐतिहासिक महत्वको भएकोले संरक्षण आवश्यक भएको बताउनुभयो । हात्तीसारमा राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले प्रयोग गरेको हौदा, राणाकालीन हौदाहरु, बेलायती महारानी नेपाल भ्रमणमा आउँदा प्रयोग गरेकासहित ४२ वटा हौला रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?