logo
२०८१ भाद्र २२ शनिवार



स्पष्ट योजनाको अभावमा अधिकांश विमानस्थल घाटामा

पढ्नै पर्ने |
पर्यटन |


स्पष्ट योजनाको अभावमा अधिकांश विमानस्थल घाटामा


काठमाडौं, भदौ १२ गते । हवाइ उडान सेवा दिन स्थापना भएका अधिकांश विमानस्थल स्थापनाकालदेखि नै घाटामा सञ्चालन हुनेगरेको पाइएको छ । नागरिक उडड्यन प्राधिकरणको तथ्याङकअनुसार देशभर ५३ वटा विमानस्थल स्थापना भएका छन् । जसमा १९ वटा विमानस्थल सञ्चालन नै भएका छैनन् सञ्चालन भएका ३४ मध्ये अधिकांश विमानस्थल नै नोक्सान (घाटा) मा सञ्चालन हुनेगरेको छ ।
सञ्चालनमा रहेकामध्ये नौ वटा विमानस्थलले मात्र सञ्चालन खर्च आम्दानी गर्ने गरेको तर निमार्ण लागतको हिसाबले कुनै पनि विमानस्थल नाफामा छैनन । अन्य विमानस्थल सञ्चालनमा राज्यकोषबाट बार्षिक करोडौ रुपैयाँ खर्च हुनेगरेको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । सञ्चालनमा रहेकामध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र तेञ्जिङ हिलारी लुक्ला विमानस्थलले मात्र आम्दानी गर्ने गरेको छन् । यी विमानस्थलको आम्दानीबाट अन्य विमानस्थल सञ्चालनमा सहयोग पुग्दैआएको क्षेत्रीले बताउनुभयो ।
लुक्लाबाट गत वर्ष एक करोड २२ लाख ८३ हजार रुपियाँ आम्दानी गरेको थियो भने ८१ लाख छ हजार ८० रुपियाँ मात्र खर्च भएको थियो । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट आर्थिक वर्ष २०७६÷०७७ मा पाँच अर्व ७३ करोड ३१ लाख ५६ हजार १८५ रुपियाँ र आर्थिक वर्ष २०७५÷०७६ मा आठ अर्व १८ करोड ९० लाख २२ हजार १२८ रुपियाँ आम्दानी भएको थियो । गत तीन वर्षको तुलनामा आम्दानी कम हुँदैगएको नागरिक उड्यन प्राधिकरणको तथ्याङक छ । आम्दानीबाट सञ्चालन खर्च धान्ने विमानस्थलमध्ये काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी, विराटनगर विमानस्थल, तेञ्जिङ हिलारी विमानस्थल लुक्ला , नेपालगञ्ज विमानस्थल, पोखरा विमानस्थल, चन्द्रगढी विमानस्थल, भद्रपुर विमानस्थल, धनगढी विमानस्थल रहेको प्राधिकरणको भनाई छ ।

सञ्चालनमा रहेका अन्य २५ वटा विमानस्थललाई प्रत्येक वर्ष राज्यकोषबाट सञ्चालन खर्च बेहोर्नुपरेको छ । त्यसैगरी अरवौ रुपियाँ लगानी गरेर निर्माण गरिएका १९ वटा विमानस्थल सञ्चालनमै आउन सकेको छैनन् । यसरी सञ्चालन नभएका विमानस्थलहरुमा वाग्लुङ, रुकुम चौरजहारी, दार्चुला, ढोरपाटन, फाल्गुनन्द, गोरखा, गुल्मी, जिरी, काङगेलडाँडा, खिजीचण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, मनाङ, डोल्पा मसिनेचौर, मेघौली, रोल्पा, स्याङबोचे, टिकापुर र कालिकोट विमानस्थल रहेका छन् ।

प्राधिकरणका अनुसार यात्रुको संख्या समेत कम हुने हुँदा ती विमानस्थलहरुमा निजी कम्पनीहरुले सेवा नदिँदा े विमानस्थलहरु सञ्चालन हुन सकेका छैनन् । यता मुख्य नाफामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१९ मा ९१ हजार ८१६ वटा र सन् २०२० मा ३२ हजार ८५१ वटा आन्तरिक उडान भएको थियो । सन् २०१९ मा ३२ हजार ४३९ र सन् २०२० मा नौ हजार ५३९ वटा अन्तर्राष्ट्रिय उडान भएको प्राधिकरणको तथ्याङक छ ।

अरवौ लगानी गरी निर्माण भएका विमानस्थलहरु सञ्चालनमा नहुदाँ राज्यले नोक्सान खेप्नुपरेको छ । सञ्चालनमा रहेका अधिकांश विमानस्थलहरुको आम्दानीभन्दा खर्च बढी हुनेगरेको छ । सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमध्ये नौ वटा विमानस्थल मात्र नाफामा रहेको र बाँकी २५ वटाले प्रत्येक वर्ष नोक्सानमा सञ्चालन गर्न बाध्य भएको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो ।

राजनितीक स्वार्थ र दवावले विमानस्थल स्थापना गर्नुपरेकाले आर्थिक व्ययभार ठूलो भएर नोक्सानी खेप्नुपरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । आवश्यकता, प्राविधिक अध्ययन विना विमानस्थल स्थापना हुनु नै मुख्य चुनौति भएकाले सञ्चालन हुन नसकेको र सञ्चालनमा रहेकामध्ये पनि ८० प्रतिशत बढीमा घाटा हुनेगरेको उहाँको भनाई छ । शुरुवातमा भएको लगानीको हिसावले हेर्ने हो भने ५३ वटै विमानस्थल नोक्सानमा रहेको छ । तर नौ वटा विमानस्थलले मात्र सञ्चालन खर्च आम्दानी गर्ने गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भने निर्माण भएका विमानस्थल सञ्चालन गरी नाफा कमाउने गरी सञ्चालनका लागि कुनै पनि योजना र कार्यक्रम बनाउन नसकेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । आन्तरिक उडानमा जहाज कम हुनु, निजी वायूसेवा कम्पनीले नाफामुखी व्यवसाय मात्र गर्नु, सरकारको स्वामित्वमा रहेको वायूसेवा कम्पनीले आन्तरिक उडानमा चासो नदेखाउनु र गाडीको सुविधा पुगेका कारण विमानस्थल चल्न नसक्नु नै नोक्सानको मुख्य कारण भएको उहाँले बताउनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र अर्घखाँची विमानस्थल गरी थप तीनवटा विमानस्थल निर्माणको चरणमै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?