मुकुन्द सुवेदी
बर्दिया, असोज २ गते । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायले जानकारी दिनुभयो ।
धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।
जंगली जनावारबाट खेतवारीमा लगाइएको अन्नबाली जोगाउनका लागि विद्युतीय पासो थाप्दा यसअघि पनि करेन्ट लागेर दुई वटा जंगली हात्ती र एक जना युवाको मृत्यु भैसकेको छ ।